आज इद-उल-फित्र पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

आज इद-उल-फित्र पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदैछन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि  आज ‘ईद–उल–फित्र’ मनाउन लागेका हुन्।

बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’,‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन्। रमजानलाई पवित्र महिना मानिन्छ। “जकात (दान) यही महिनामा दिइन्छ”, उनि भन्छन्, “हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ।”

इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ। राष्ट्रिय जनगणना-२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ।

यो तथ्याङ्क अपूर्ण भएको आरोप लगाउँदै उनले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताए।

काठमाडौँमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उनि बताउँछन्। “संस्कृति बचाउन स्थान चाहिन्छ”, उनले भने, “देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ।” यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।

Logo