निर्मलाकी आमा भन्छिन्, ‘दबावमा आएर प्रहरीविरुद्ध मुद्दा हाले’

निर्मलाकी आमा भन्छिन्, ‘दबावमा आएर प्रहरीविरुद्ध मुद्दा हाले’

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी ।

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ११ महिना वितिसकेको छ । तर अहिलेसम्म उनका हत्यारा पत्ता लाग्न सकेको छैन् । प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ । प्रहरीलाई कुनै पनि ठोस प्रमाण फेला पर्न सकेको छैन् । त्यस्तै घटनामा प्रमाण नष्ट गरेको आरोप तथा पक्राउ परेकालाई यातना दिएको आरोप लागेका ८ प्रहरी अदालतमा मुद्दा खेपिरहेका छन् ।

निर्मलाको न्यायका लागि भनिएका आन्दोलनहरु यतिबेला सिथिल बनेका छन् । अधिकारकर्मीहरु एकआपसमै आरोप प्रत्यारोपमा छन् । जसले गर्दा पनि आन्दोलन सिथिल बन्न पुगेको हो । निर्मलाकी आमा दुर्गादेवी पन्तले राज्यबाट पाउने सहयोग रकम भने बुझेकी छन् । केन्द्र सरकारले दिएको १० लाख, प्रदेश सरकारले दिएको ५ लाख र भीमदत्त नगरपालिकाले दिएको ३ लाख गरी उनले १८ लाख रुपैयाँ राहत बुझेकी हुन् ।

उनले संघीय सरकारले दिएको १० लाख रुपैयाँ फागुन महिनामा, सुदूरपश्चिम प्रदेश सरकारले दिएको पाँच लाख जेठ पहिलो सातामा र स्थानीय भीमदत्त नगरपालिकाले घोषणा गरेको तीन लाख वैशाख महिनामा बुझेकी हुन् । घटना भएको ११ महिनापछि उनले राहत स्वरुप पाएको सबै रकम बुझेकी हुन् ।

तीनै सरकारबाट प्राप्त भएको रकम निर्मलाकी आमा दुर्गादेवीको खातामा जम्मा भईसकेको छ । राहत रकम बुझेपछि दुर्गादेवीले बाँकी रहेका दुई छोरीको भविश्य निर्माणको लागि बुझेको प्रतिक्रिया दिएकी छन् । केन्द्रबिन्दुसँगको टेलिफोन सम्पर्कमा उनले भनिन्, ‘मैले तीनै सरकारले घोषणा गरेको रकम बुझिसकेकी छु । त्यो रकम बाँकी दुई छोरीको भविष्य निर्माणमा खर्च गर्नेछु । केही रकम निर्मलाको सम्झनामा खर्च गर्ने सोच बनाएकी छु ।’

अब न्याय पाउने आश मरिसक्यो
राज्यबाट पाउने राहत रकम बुझेपनि छोरीको हत्यारा पत्ता लाग्ने र न्याय पाउने आश मारिसकेको दुर्गादेवीको प्रतिक्रिया छ । पहरी प्रशासनले अनुसन्धान गरिरहेपनि छोरीको अपराधी पत्ता लाग्नेमा विश्वास नै नलागेको उनको भनाई छ ।

‘यत्रो महिना वितिसक्यो । अहिलेसम्म घटना कहाँ भएको भन्ने सम्म प्रहरीले पत्ता लगाउन सकेको छैन् । अब छोरीका हत्यारा पत्ता लाग्ला र मैले न्याय पाउँला भन्ने आश मरिसक्यो’ उनले भनिन् । प्रहरीले अहिले गरिरहेको अनुसन्धानले कहिल्यै हत्यारा पत्ता नलाग्ने उनको दाबी छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे कुनै नयाँ कुरा पत्ता नलागेको जनाएको छ । प्रहरी प्रमुख एसपी दिनेश कुमार आचार्यले जानकारी दिए ।

‘चर्को दबावमा प्रहरीविरुद्ध मुद्दा हाले’
प्रमाण नष्ट गरेको तथा हिरासतमा रहेकामाथि चरम यातना दिएको अभियोगमा निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाजु खडक विष्टले ८ प्रहरीविरुद्ध मुद्दा हाले । उनीहरुले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी (सेवाबाट हटाईएका) दिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सीआईबीका डिएसपी अंगुर जिसी लगायत ८ प्रहरी अधिकारीविरुद्ध मुद्दा हालेका थिए । उनीहरु जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भईसकेका छन् । मुद्दा हाल्ने मध्येकी एक निर्मलाकी आमाले भने चर्को दबावमा मुद्दा हाल्न बाध्य भएको प्रतिक्रिया दिएकी छन् ।

मुद्दा हालेको केही समयमै उनले उक्त मुद्दा सच्याएकी थिईन् । अहिले आएर दुर्गादेवीले केही अधिकारकर्मीको चर्को दबाबमा मुद्दा हाल्न बाध्य भएको बताएकी हुन् । उनले भनिन्, ‘प्रहरी अधिकारीविरुद्ध मुद्दा हाले निर्मलाका हत्यारा पक्राउ पर्छन् । छोरीले न्याय पाउँछिन्, भन्न थाले । तपाईले अरु केही गर्नुपर्दैन् । कागजमा हस्ताक्षर मात्र गरिदिनुहोस् अरु सबै हामी हेर्छौ भन्दै पटक–पटक दबाव दिए । बेला बेलाको टर्चर सहनुभन्दा त ल हुन्छ भन्दै मुद्दामा हस्ताक्षर गरेकी हुँ ।’

निर्मलाको न्यायका लागि भन्दै लडेका महिला अधिकारकर्मी सारदा चन्द, मानवअधिकारकर्मी नरबहादुर साउँद, हिरा साउद, लगायतले दबाव दिएको उनको दाबी छ । ‘घरमै आएर धेरै अधिकारकर्मी ज्यूहरुले ति प्रहरी अधिकारीविरुद्ध मुद्दा हालेमात्र निर्मलाले न्याय पाउँछिन् भन्नुभयो । आफ्नो छोरी भएरपनि त्यस्तो नगर्ने भन्दै धम्की नै दिए । निर्मलाकै आमा होईन कि भन्दै अपमान समेत गरे । पछि बाध्य भएर निर्दोष प्रहरीविरुद्ध नै मुद्दा हाल्न पुगे । अहिले आएर नराम्रो लागिरहेको छ ।’ उनले भनिन् ।

श्रीमान र सौताको असहयोगः
उनका श्रीमान यज्ञराज कान्छी श्रीमतीसँग बस्छन् । दुर्गादेवी र यज्ञराजबीच खासै राम्रो सम्बन्ध छैन् । सौता र श्रीमानको कारण आफुले दुःख पाएको दुर्गादेवीको आरोप छ । ‘मैले श्रीमानबाट कहिल्यै साथ र सहयोग पाईन् । यदि श्रीमान साथमा भएका भए छोरीको त्यस्तो हालत हुनेथिएन् । घटना भएपछि पनि यहाँसम्म पुग्ने थिएन् । उहाँको असहयोगै कारण मैले बनबासा (भारतीय सहर) बाट सामान बोकेर, घर अगाडि नै पानीपुरी बेचेर गुजारा चलाईरहेकी थिए । अहिले पनि उहाँहरु आफ्नै स्वार्थमा हिँडिरहेको जस्तो लाग्छ । अब राहत पाएको रकमबाट दुई छोरीको भविश्य बनाउँनुछ । मलाई अरु केही चाहिँदैन्’ उनले भनिन् ।

यज्ञराज कान्छी श्रीमतीसँगै महेन्द्रनगर बजार क्षेत्रमा रहेको अर्को घरमा बस्दै आएका छन् । दुर्गादेवीका अनुसार कहिले काही मात्र निर्मलाको घरमा आउँछन् । नत्र कान्छी श्रीमतीसँगै बस्छन् ।

(दुर्गादेवीसँग गरिएको टेलिफोन कुराकानीको आधारमा यो सामग्री तयार पारिएको हो ।)

 

Logo