पाँचथर ९ जना हत्याकाण्डः अनुसन्धानमा सिआईबीदेखि कुकुरसम्म, सम्पूर्ण नाका शिल

पाँचथर ९ जना हत्याकाण्डः अनुसन्धानमा सिआईबीदेखि कुकुरसम्म, सम्पूर्ण नाका शिल

केन्द्रबिन्दु
0
Shares

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न विभिन्न प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान अधिकृतहरु घटनास्थलतर्फ खटिएका छन्।

घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गइसकेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। त्यसैगरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि घटनास्थलतर्फ गएको छ ।

सिआइबीबाट एसपी उमा चतुर्वेदीको नेतृत्वमा एक इन्सपेक्टर र एक जुनियर प्रहरी अधिकृतको टोली १२ बजेको फ्लाइटमार्फत पाँचथर गएको हो । त्यस्तै प्रदेश १ का डिआइजी केदार रिजाल पनि घटनास्थलतर्फ गएका छन् । अनुसन्धानमा कुनै कसर बाँकी नराख्न भन्दै सम्पूर्ण नाकाहरु शिल गरेर प्रहरीले अभियुक्तको खोजी सुरु गरेको छ ।

गतराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। धनराजको परिवारका ५ जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका ४ जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको छ ।

३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स तरिकाले हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्। हत्या किन र कसले गरेको हो भन्ने केही खुल्न सकेको छैन।

वडा नम्बर ३ का वडाअध्यक्ष हस्तराज फियाकले घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएका छन् । अहिले घटनास्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको उनको भनाई छ । घटना के कति कारणले भएको अहिलेनै केही अनुमान गर्न सकिने अवस्था नरहेको उनले बताए ।

Logo