पाँचथरमा गएराती दुई परिवारका ९ जनाको विभत्स हत्या !

पाँचथरमा गएराती दुई परिवारका ९ जनाको विभत्स हत्या !

केन्द्रबिन्दु
0
Shares

पाँचथर,

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स तरिकाले हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ ।

नजिकै रहेका ससुरा ज्वाईंका घरका नौ जनाको गएराति काटेर विभत्स हत्या भएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले जानकारी दिए ।

ससुराको घरमा ४ जना र ज्वाईंको घरमा ५ जनाको हत्या भएको उनले बताए । उक्त हत्या घटनामा १ बालिका घाइते भएकी छिन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गएराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिइन् । वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गरेका छन् ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

दुई परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल तर्फ खटिएको छ । घटना के कारणले भएको हो भन्ने विषयमा अहिले नै केहि भन्न नसकिने जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले जानकारी दिए ।  एकै पटक यति धेरै मानिसको हत्याको घटना रहस्यमय देखिएको प्रहरीले जनाएको छ ।

Logo