निर्देशक दिपा बस्नेतको संयोजकत्वमा ‘आर्ट अफ गिभिङ’ दिवस मनाइयो

निर्देशक दिपा बस्नेतको संयोजकत्वमा ‘आर्ट अफ गिभिङ’ दिवस मनाइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र निर्देशक दिपा बस्नेतको संयोजकत्वमा नेपालमा ‘आर्ट अफ गिभिङ’ दिवस मनाइएको छ । हरेक वर्ष मे १७ मा विश्वभर मनाइने यो दिवस शुक्रबार नेपालमा पनि मनाइएको हो ।

तारकेश्वर नगरपालिका गोलढुगांमा रहेको ‘मातृ नेपाल अपाङ्ग सङ्घ’ द्धारा सञ्चालित बालगृहमा सम्पन्न कार्यक्रममा त्यहाँ आश्रितहरूलाई खाद्यान्न, स्टेशनरी लगायत सामाग्री प्रदान गरिएको थियो । यो पटक बालबालिकाहरूलाई ‘खुसीले भरिएको झोला’ भन्ने थिम राख्दै स्कुल झोला पनि वितरण गरिएको थियो ।

संसारमै सबैभन्दा ठुलो निःशुल्क आदिवासी आवासीय विद्यालय भनेर चिनिएको भारतको ‘कलिंगा इन्स्टियुट अफ सोसियल साइन्स (किस) ’ को सहयोगार्थ नेपालमा मनाइएको उक्त कार्यक्रममा किसकी नेपाल प्रतिनिधि निर्देशक दिपासँगै व्यवसायी शैलेन्द्र तुलाधरले सहजिकरण गरेका थिए ।

‘मातृ नेपाल अपाङ्ग गृह’ मा ‘कलिंगा इन्स्टियुट अफ सोसियल साइन्स (किस)’ ले विगत ३ वर्ष यता खाद्यान्न सहयोग गर्दै आएको छ । कार्यक्रममा ‘मातृ नेपाल अपाङ्ग सङ्घ’ ले किसले गर्दै आएको सहयोगको कदरस्वरुप सम्मानपत्र प्रदान गरेको थियो ।

चलचित्र अन्तराल र श्री ५ अम्बरेको निर्देशन गरेकी बस्नेत केही वर्षदेखि सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् । आफ्ना चलचित्रहरूमा पनि सामाजिक विषयवस्तु उठान गर्दै आएकी दिपा भन्छिन्, “हामीले सकेसम्म अरूलाई सहयोग गर्नुपर्दछ । आम्दानीको केही हिस्सा मात्र पनि सामाजिक कार्यमा लगाउन सके त्यो भन्दा पुण्यको काम केही हुँदैन ।”

‘आर्ट अफ गिभिङ’ दर्शनका प्रतिपादक डा. अच्युत सामन्त हुन् । यो दिनमा विश्वभर गरेर करिब १ करोड असहाय गरिब तथा अनाथहरूलाई भोजन गराइँदै आइएको छ ।

Logo