वडाअध्यक्षको बदमासीः २० बोरा सिमेण्टको प्रलोभनमा लाखौंको सिफारिस

वडाअध्यक्षको बदमासीः २० बोरा सिमेण्टको प्रलोभनमा लाखौंको सिफारिस

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । बैशाखको बाढी ! कतिनै आउँला र ? तर एक वडाअध्यक्षले साउने बाढी झै गरी निर्माण व्यवसायीलाई फाईदा पुग्नेगरी सिफारिस गरेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष प्रेमप्रकाश जैशीले निर्माण व्यवसायीलाई फाईदा पुग्नेगरी क्षतिपूर्तिका लागि सिफारिस गरेका हुन् ।

बैशाख पहिलो साता महाकाली नदीमा आएको बाढीले निर्माण सामग्रीसँगै उपकरण बगाएको भन्दै वडाअध्यक्ष जैशीले क्षतिपूर्तिको लागि सिफारिस गरेका हुन् । निर्माण व्यवसायी धिरु पाण्डेले महाकाली नदी अन्र्तगत तटबन्ध बनाईरहेका छन् । तटबन्ध बनाउने क्रममा महाकाली नदीमा बाढी आएर लाखौं मुल्य बराबरको क्षति भएको भन्दै उनले वडाअध्यक्ष जैशीलाई सिफारिस गर्न लगाएका हुन् ।

ठेकेदार पाण्डेले भनेको आधारमा वडाअध्यक्ष जैशीले गिट्टी छानेको ५ सय घनमिटर, बालुवा ४ सय घनमिटर, मिक्चर मेसिन २ थान, ब्लक हाल्दा हाल्दै १६ थान, फर्मा ३२ थान, सिमेन्ट ८ सय बोरा सिमेण्ट, फिलिङ्ग ग्राभेल १९ सय घनमिटर, बनाएको डाइभर्सन (बाध) ३१ सय घनमिटर, जाली ३६० थान, ढुंगा ३२ सय घनमिटर र भाईब्रेटर ३ थान बाढीले बगाएको बगाएको भन्दै सिफारिस गरेका हुन् । स्थानीयले भने भारतीय पक्षले सारदा ब्यारेजबाट पानी छाड्दा सामान्य क्षति मात्र भएको दाबी गरेका छन् ।

बैशाख महिनामा महाकाली नदीमा सरदरमा ६ देखि ९ हजार क्यूसेक पानी प्रवाह हुन्छ । त्यसमा पनि भारतले खटिमामा रहेको लोहियाहेडमा विद्युत उत्पादनको लागि शारदा नहरबाट पानी लग्ने गर्दछ । यस्तो कुरालाई ख्यालै नगरी वडाअध्यक्ष जैशीले ठेकेदारको दवाव र प्रलोभनमा परी झुठा विवरणसहित सिफारिस गरेको स्थानीयको आरोप छ । तटबन्धमा काम गर्ने कामदारहरुले पनि सामान्य क्षति पुगेको बताएका छन् ।

स्थानीय विष्ना पन्त भट्टले २० बोरा सिमेण्टको प्रलोभनमा परेर वडाअध्यक्षले उक्त सिफारिस गरेको आरोप लगाईन् । अन्य कुनै पनि जनप्रतिनिधिलाई नसोधी हचुवाको भरमा वडाअध्यक्षले सिफारिस गरेको उनको दाबी छ । उनले भनिन्, ‘नत वडाका अन्य जनप्रतिनिधिलाई सोधेका छन्, नत प्रहरी मुचुल्कालाई आधार मानेका छन् । त्यसै २० बोरा सिमेन्ट दिने भनेर ठेकेदारले देखाएको प्रलोभनमा सिफारिस गरेका हुन् ।’

भट्टका अनुसार वडाअध्यक्ष जैशीलाई ठेकेदार पाण्डेले ईलाका प्रहरी कार्यालयमा बन्न लागेको प्रतिक्षालयको लागि २० बोरा सिमेण्ट दिने भनेका थिए । ‘तपाईले अरु केही गर्नुपर्दैन्, मैले भनेअनुसार सिफारिस गरिदिनुहोस्, म प्रतिक्षालय बनाउनको लागि २० बोरा सिमेण्ट दिन्छु ।’ यही भनेका आधारमा वडाअध्यक्षले लाखौं बराबरको सिफासिर गरेको उनले बताईन् ।

वडाअध्यक्ष जैशीले पनि ठेकेदारको दबावमा उक्त सिफारिस गरेको स्वीकार गरेका छन् । ‘घटना घट्दा म तुरुन्त गएर हेरेको थिए । पानी एकदमै थियो । अब त्यो सबै सामान बग्यो वा बगेन मलाई थाहा भएन् । प्रहरीका हाकिमलाई पनि फोन गरेर बोलाए तर उहाँ आउनुभएन् । त्यसपछि ठेकेदारले सबै सामान बगिसक्यो भनेर निवेदन दियो, मैले त केही पनि बगेको देखिन त भनेर मैले भने । त्यसपछि नाई बगेकै हो भनेर धेरै दबाव दियो । म पनि दबाबमा परेर सिफारिस गरिदिए ।’ वडाअध्यक्ष जैशीले भने ।

अब उक्त सिफारिस रद्द गरिने वडाअध्यक्ष जैशीको भनाई छ । उक्त सिफारिस रद्दको लागि प्रक्रिया थालिएको उनको भनाई छ । स्थानीयले भने गलत सिफासिर गर्ने वडाअध्यक्ष र ठेकेदारलाई कारवाहीको माग गरेका छन् ।

वडाअध्यक्ष प्रेमप्रकाश जैशीले गरेको सिफारिस ।

Logo