ललितपुरमा युवतीको अपरणमा परेका बृद्धको साढे २ घण्टामै उद्दार

ललितपुरमा युवतीको अपरणमा परेका बृद्धको साढे २ घण्टामै उद्दार

केन्द्रबिन्दु
0
Shares

ललितपुर । प्रहरीले ललितपुरको इमाडोलबाट अपहरणमा परेका एक वृद्धको उद्दार गरेको छ । युवतीको अपहरणमा परेका इमाडोल बस्ने ५९ वर्षका कृष्ण चौडेलको साढे दुई घण्टामै उद्दार गरिएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले चौडेललाई अपहरण गर्ने ढोलाहिटी बस्ने अनिमा भुजेललाई समेत पक्राउ गरेको छ ।

अपहरण भएको सूचना पाएलगत्तै प्रहरीले चौडेलको उद्दार गरी अनिमालाई ढोलाहिटीबाट पक्राउ गरिएको परिसरका प्रमुख (एसएसपी) रवीन्द्र धानुकले जानकारी दिए । अपहरणमा परेको खबर थाहा पाएलगत्तै साढे २ घण्टामै प्रहरीले कृष्णलाई सकुशल उद्दार गर्न सफल भएको एसएसपी धानुकको भनाई छ ।

सिन्धुली घर भई ढोलाहिटीमा फ्ल्याट लिएर बस्दै आएकी अनिमाले कृष्ण चौडेललाई इमाडोलबाट अपहरण गरेकी थिइन् । चौडेल र भुजेल चिरपरिचत व्यक्ति हुन् । उनीहरुबीच पहिलैदेखि पैसाको कारोबार हुने गरेको थियो । शुक्रबार बिहान पनि इमाडोल नजिकै अनिमाले चौडेललाई बोलाएर अपहरण गरेको हुनसक्ने बताइएको छ । इमाडोलबाट अपहरण गरेर चौडेललाई सिधै ढोलाहिटी पुर्याएको थियो ।

चौडेललाई ढोलाहिटी पुर्याएपछि अनिमाले २ लाख फिरौती मागेकी थिईन् । यदि नदिए मार्ने धम्की समेत दिएको चौडेलले प्रहरी समक्ष बयान दिएका छन् । कृष्णलाई अपहरण गरेपछि अनिमाले छोरी चरु चौडेललाई फोन गरी २ लाख फिरौती मागेकी थिइन् । अनिमाले फोन गरेलगत्तै चरुले ललितपुर प्रहरीलाई खबर गरेकी थिइन् । चरुलाई अनिमाले अरु कसैलाई भने कृष्णलाई मारिदिने धम्की दिएकी थिइन् ।

प्रहरीलाई सूचना प्राप्त भएलगत्तै डीएसपी कपिल बोहोराको टोली अपहरणमा परेका कृष्णको खोजीमा तत्काल परिचालन भएको थियो । परिसर र महाशाखाको संयुक्त टोली सादा पोसाकमा समेत खटिएको थियो ।

भुजेलले फिरौती मागेको रकम दिन प्रहरी परिचालन भएको केही समयमा डीएसपी बोहोराको टोली र चरु पौडेल ढोलाहिटी पुगे । ढोलाहिटी पुगेर फिरौती रकम दिने भन्दै उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकी भुजेलमाथि प्रहरीले अनुसन्धान थालेपछि अपहरण संलग्नमा अरु पनि रहेको खुल्न आएको छ ।

Logo