सगरमाथा आरोही लामा सम्मानित

सगरमाथा आरोही लामा सम्मानित

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । घरबाट पैदल निस्केर ५७ दिनमा सगरमाथा शिखरको सफल आरोहण गरेका राजेश लामा सम्मानित भएका छन् ।

नर्थ फेस नेपालले उनलाई मंगलबार काठमाडौंमा सम्मान गरेको हो । आरोहीहरु सगरमाथा आधार शिविरसम्म पुग्नुअघि निकै धेरै सवारीसाधन प्रयोग गर्छन् । लुक्लासम्म पुग्न पनि हवाई सेवा उपयोग गर्छन् । तर, लामाले परम्परागत आरोहणभन्दा फरक तवरले सर्वोच्च शिखरको यात्रा तय गरेका हुन् ।

राजेश लामाको उपलब्धिले हिमालय पर्वतारोहणको समृद्ध इतिहास मात्र नभई मानिसको दृढ संकल्प र साहसिक मनोभावको प्रमाणको रूपमा पनि काम गरेको नर्थ फेस नेपालले जनाएको छ ।

काठमाडौंका लामा घरबाट निस्केर सगरमाथाको चुचुरोसम्म पैदल नै गएका हुन् । उनको यात्रा ५७ दिनमा पुरा भएको हो । चैत १९ गते सुरु गरेको यात्राबारे लामाले जीवनको एकदमै राम्रो र बिर्सन नसक्ने भएको बताए । उनले भने, ‘मेरो सगरमाथा चढ्ने सोच त थियो तर अरु भन्दा फरक तरिकाले गर्छु भन्ने सोचेको थिएँ । हाम्रो देश यस्तो राम्रो छ, मैले मेरो यो यात्रामा धेरै नै थरिका रङ र मौसम महसुस गर्न पाए । यो मेरो जीवनको सबैभन्दा लामो र ठूलो यात्रा हो ।’

पैदल यात्रा सुरुवातको १५ दिनको चुनौतीपूर्ण भूभाग पार गरेर वैशाख ३ मा उनी लुक्ला पुगे । उनले रेन्जो ला (५,३६० मिटर), चो ला (५,४२० मिटर) को मार्ग पछ्याए, जुन मनमोहक दृश्य र आवश्यक अवस्थाका लागि परिचित छ ।

वैशाख १५ मा लबुचे शिखर पुगे । जेठ २ गते लामा र उनको टोली एभरेष्ट बेस क्याम्पबाट अन्तिम गन्तव्यतिर प्रस्थान गरे । पाँच चुनौतीपूर्ण दिनपछि उनी जेठ ७ मा सगरमाथाको चुचुरोमा पुगेका हुन् । जेठ ११ मा उनको यात्रा सगरमाथा आधार शिविरमा सकिएको हो ।

सम्मान समारोहमा लामाले यात्रा अविस्मणीय रहेको अनुभव सुनाए ।

Logo