दाङ

छुवाछुत अपराध मानिए पनि देशका अधिकांश ठाउँका मन्दिर भित्र दलितको प्रवेश प्रत्यक्ष,अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ । "/>

समाजमा छुवाछुत हट्दै : मन्दिरमा दलित महिला पुजारी !

समाजमा छुवाछुत हट्दै : मन्दिरमा दलित महिला पुजारी !

केन्द्रबिन्दु
0
Shares

दाङ

छुवाछुत अपराध मानिए पनि देशका अधिकांश ठाउँका मन्दिर भित्र दलितको प्रवेश प्रत्यक्ष,अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ । तर दाङमा यस्तो मन्दिर छ जहाँ दलित महिला नै पुजारी छिन् । स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेका छन् । ‘उपल्लो जात’का मानिस उनीबाटै आशीर्वाद लिन्छन् ।

घोराही उपमहानगरपालिका–१८ स्थित नागेश्वर महादेव मन्दिरमा स्थानीय पार्वती विश्वकर्मा पुजारी भएर काम गरिरहेकी छिन् । भारतमा जन्मिएकी पार्वती तीन वर्ष अघि तीन छोरी र श्रीमानका साथ नेपाल आएकी थिइन् । ४१ वर्षीया पार्वती नेपाल आएर स्थायी रूपमा बस्ने गरी जग्गा किनेकी थिइन् । उनी तीन वर्ष देखि मन्दिरमा पुजारी बनेकी छिन् ।

अहिले मन्दिरमा पूजा गर्न दिनहुँ सयौँको भिड लाग्छ । मंगलबार र बुधबार साँझ नागले दर्शन दिने विश्वासमा मन्दिरमा पुग्ने गरेका छन् । यो क्षेत्रमा क्षेत्री र ब्राह्मण समुदायको बसोवास रहेको छ । स्थानीय सुदीप गौतमका अनुसार सुरुमा कतिपयले पार्वतीलाई दलित भएकै कारण पुजारी स्विकार्न मानेका थिएनन् । तर भगवान प्रतिको उनको अगाध विश्वास र समर्पणलाई देखेर सबैले स्विकारेका छन् । गौतमले अहिले त्यस्तो कुनै पनि किसिमको भेदभाव नभएको बताए ।

मन्दिर भित्र प्रवेश गर्दा पूरै शरीर ढाक्ने पहेँलो वस्त्र लगाएकी, निधारमा पनि पहेँलै फेटा बाँधेकी, घाँटीमा रुद्राक्ष माला लगाएकी पुजारी पार्वती विश्वकर्मा भेटिन्छन् । मन्दिर पुगेका सबैले उनीसँग आशीर्वाद मागेर फर्कन्छन् । पार्वती भक्तजनको पूजा गराइदिने र टीका लगाएर आशीर्वाद दिन्छिन् । दर्शन गर्न आउने कसैले पनि उनलाई जात, थरबारे सोध्दैनन् । पार्वती आफैँ पनि जातभातको कुरा मान्दिनन् । ‘खै, भगवानले त यस्तो जातपात बनाएकै छैनन्, मलाई पनि त्यस्तो लाग्दैन,’ उनी भन्छिन् ।
नयाँ पत्रिकाबाट

Logo