अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै दुई दिन लाग्ने

अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै दुई दिन लाग्ने

केन्द्रबिन्दु
0
Shares

बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । 

मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । 

मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि नै खुलाउने प्रयास भए पनि कतै ठूला चट्टानसहितको पहिरो र कतै सडक नै बगाएका कारण लोकमार्ग एकतर्फी खुलाउन मङ्गलबार दिउँसोसम्म लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । 

उनका अनुसार भ्याप्लेखोलामा बम विस्फोट गरेर ढुङ्गा फुटाउने योजना भए पनि भौगोलिक हिसाबले अत्यन्तै कठिन छ । कल्पनाभन्दा ठूला पहिराले मध्यपहाडी लोकमार्ग क्षतविक्षत भएको र पुरानै अवस्थामा फर्काउन निकै समय लाग्नेछ । 

सवारी साधन ठप्प हुँदा तीन घण्टा लगाएर पैदलमार्फत जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । पर्वतको दोविल्लामा एक सय मिटर सडक नै बगाएकाले नयाँ ट्र्याक खुल्नुपर्नेछ भने धेरै स्थानमा सडकको जग नै बगाएको छ । 

अविरल वर्षापछिको पहिराले पर्वतमा ठूलो क्षति पुर्याउँदा साबिक धौलागिरिका पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङमा यातयातसँगै विद्युत्, टेलिफोन तथा इन्टेरनेट सेवा अवरुद्ध भएको थियो । 

विद्युत्, टेलिफोन तथा इन्टेरनेट सेवा भने शनिबार साँझदेखि सञ्चालन भए पनि सडक सञ्चालमा सिङ्गो चार जिल्लाको सम्पर्कविच्छेद भएको हो । १३२ केभिए प्रसारण लाइनको दोविल्ला नजिकैको टावरमा क्षति पु¥याउँदा बिहीबार रातिदेखि दाना–खुर्कोट प्रसारण लाइन बन्द भएको छ । 

उक्त प्रसारण लाइन मर्मतपछि सञ्चालन गर्न पाँच दिन लाग्ने जनाइएको छ । दोविल्लामा छ खम्बामा पुर्याएको क्षति मर्मतपछि धौलागिरिमा वितरण भइरहेको ३३ केभिए प्रसारण लाइन मर्मतपछि शनिबार साँझदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख इन्जिनियर शिवनारायण गोशलीलले जानकारी दिए । रासस

Logo