कसले गर्यो एकै परिवारका ६ जनाको हत्या ? (भिडियोसहित)

कसले गर्यो एकै परिवारका ६ जनाको हत्या ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले प्रत्येक दिन दिनभरका टप फाइब समाचार भिडियोसहित दिने गरेका छौं । आजको टप फाइब समाचार ।

संखुवासभाको मादी नगरपालिका १ स्थित उम्लिङका एकै परिवारका ६ जनाको हत्या भएको छ। हत्याबारे थप विवरण भने आउन  सकेको छैन। प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जानकारी गराएको छ। हत्या भएकामा एकै परिवारका आमा, छोरा, बुहारी, नातिनी बुहारी, पनाति र पतातिनी रहेका छन् । घटना तेह्रथुम जिल्लाको सीमा नजिकै भएको बताइएको छ।  

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयू बढीमा १५ महिना भएको बताएका छन् । अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्ना नागरिक वेपत्ता हुँदासमेत भारतीय पक्षसँग कुरा गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले राष्ट्रियताको सवाल, नागरिकको जीउधनको सुरक्षाको सवालमा छिमेकी मुलुकसँग बोल्ने आँटसमेत नगर्ने सरकार घरको बाघ र वनको स्याल जस्तै भएको टिप्पणी गरेका छन् । 

आईतबार रातभर परेको वर्षाका कारण काठमाडौंका केही स्थानका बस्तीहरु डुबानमा परेका छन् । काठमाडौंका नदी किनारमा रहेका बस्तीहरुमा बाढी पसेर जनजीवन अस्तव्यस्त बनाएको छ ।  काठमाडौंको थापाथली, कलंकी लगायतका नदी किनारका बस्तीहरुमा पसेको बाढीले सडक र नदी किनारमा रोकी राखेका सवारीहरु डुबाएको छ भने तरकारी बजार तथा पसलहरु डुबानमा परेका छन् । बल्खुको तरकारी बजारमा पसेको बाढीबाट  करोडौं रुपैयाँ बराबरको तरकारी नोक्सान भएको बताइएको छ । उपत्यकामा गए राती परेको वर्षा यो वर्षको सबैभन्दा धेरै र पाँचदशक यताको तेस्रो ठूलो वर्षा बताइएको छ। 

आज साताको दोस्रो कारोबारका दिन सेयर बजारमा उल्लेख्य सुधार आएको छ । हिजो पाँच प्रतिशतभन्दा धेरैले नकारात्मक सर्किट लागेको पूँजी बजारमा आज १६१.९४ अंकको सुधार भएको हो । आजको बजार दुई हजार ९९०.७८ को विन्दुमा पुगेर बन्द भएको छ । आज २२४ कम्पनीको १७ करोड ९ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको कारोबार भएको छ । 

अफगानिस्तानमा अतिवादी समूह तालिवानले सत्ता कब्जा गरेपनि त्यहाँको एउटा हिमाली भेगमा पर्ने पञ्जशिर प्रान्त अझै कब्जा गर्न सकेको छैन। पछिल्लो घण्टायता तालिवानले उक्त प्रान्त पनि कब्जा गरेको जनाएको छ। तर, त्यसको प्रतिरोधी समूहले भने उक्त दाबीमा सत्यता नरहेको बताएको छ । यद्यपि पञ्जशिरका बारेमा शान्तिपूर्ण वार्ता गरेर समस्याका सामाधानका लागि त्यहाँको नेतृत्व तह तयार भएको जनाइएको छ। 

नेपालमा पछिल्लो २४ घन्टामा १८९७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ९७९ जनामा परीक्षण गर्दा एक हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै सोही अवधिमा एक हजार ७४३ जना संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या सात लाख २८ हजार ९२८ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९४ दशमलब ६ प्रतिशत रहेको छ । यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा २० जनाले ज्यान गुमाएका छन् । योसँगै अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या १० हजार ८५८ पुगेको छ । हाल नेपालमा ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेका छन् । देशभर ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ वटा रहेका छन् । हाल ५१२ जनाको सघन उपचार कक्ष (आइसियु), १६३ जना भेन्टिलेटर, २८ हजार ९११ जना होम आइसोलेसन, दुई हजार ६२ जनाको संस्थागत आइसोलेसन र २६० जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा सक्रमण दर १९.५ प्रतिशत रहेको छ ।

Logo