बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित नहुनेः आदित्यनाथ

बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित नहुनेः आदित्यनाथ

केन्द्रबिन्दु
0
Shares

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ ।

उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा आज भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको सो प्रतिनिधिमण्डलको नेतृत्व गरेका नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

त्यसक्रममा आफूहरुले नेपाल–भारत सम्बन्ध द्विपक्षीयहित तथा दुई देशबीचका राजनीतिक धार्मिक सांस्कृति ऐतिहासिक एवं जनताबीचको सम्पर्कका विविध आयामका बारेमा कुरा उठाएको जानकारी डा महतले दिए । भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपालसँग सम्बन्धित विविध मुद्दा एवं विषयवस्तुलाई भारतले सधैँ प्राथमिकतामा राखेको बताए ।

मुख्यमन्त्रीले भारतले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको जनाउँदै नेपाल र नेपालको रष्ट्रियता बलियो हुनुपर्छ र मात्र यसमा भारतको हित छ भन्नुभएको डा महतले जनाए ।

भेटका क्रममा आफूले बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित हुन सक्ने विषयमा चासो राखेको र मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र उचित स्थानमा निर्माण हुने विषयमा आफूले निर्देशन दिइसकेको जानकारी पनि दिएको डा महतले बताए ।

भारतीय जनता पार्टीको निमन्त्रणामा तीन दिनअघि भारत गएको डा महत नेतृत्वको सो प्रतिनिधिमण्डलमा कांग्रेका नेताद्वय उदयशमशेर राणा र अजय चौरसिया छन् । आजको भेटमा भारतीय जनतापार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र अर्का नेता आश्विन जोहर सहभागी थिए । रासस
 

Logo