इलाम गोल्डकप फाइनलः एनआरटी र बिर्तामोड उपाधिका लागि भिड्दै

इलाम गोल्डकप फाइनलः एनआरटी र बिर्तामोड उपाधिका लागि भिड्दै

केन्द्रबिन्दु
0
Shares

विराटनगर । उपाधि जित्नका लागि न्युरोड टिम (एनआरटी) र झापाको बिर्तामोड युनाइटेड आज शनिबार इलाम गोल्डकपको फाइनलमा भिड्दैछन् । इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा आज दिउँसो हुने फाइनल खेलबाट उपाधि विजेताको टुंगो लाग्नेछ ।

अनुभवी खेलाडीको बाहुल्य रहेको एनआरटी र खेल कौशलमा दक्ष खेलाडीले सहभागी बिर्तामोडबीच हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । यसअघि यी दुई टिमले गरेको प्रदर्शन प्रभावशाली भएकाले फाइनलमा कसले बाजी मार्ला भन्ने अनुमान गर्न भने कठिन छ ।

एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लबलाई पन्साउँदैदै फाइनल यात्रा तय गरेको हो। उसले क्वार्टरफाइनलमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो।

बिर्तामोड युनाइटेड पाँचथरलाई सेमिफाइनलमै रोक्दै फाइनलसम्म आइपुगेको हो । उसले क्वार्टरफाइनलमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो।

दुवै टिमले फाइनल खेलमा विजयी हुने दाबी गरेका छन् । प्रतियोगिताभरिको प्रदर्शनका क्रममा देखिएको एकअर्का टिमको खेल कौशल र रणनीतिअनुसार आफ्नो रणनीति बनाएर मैदानमा उत्रने दुवै टिमको योजना छ।

प्रतियोगिताको उपाधि विजेता टिमले पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। यसैगरी, उपविजेता टिमले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतियोगिताका हरेक खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई पुरस्कार दिइँदै आएको छ। आयोजक रेडहर्स फुटबल क्लब इलामका अनुसार प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपरलगायत विभिन्न विधामा पनि खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ ।

Logo