अफगानिस्तानविरुद्धको टी-२० सिरिज श्रीलंकालाई

अफगानिस्तानविरुद्धको टी-२० सिरिज श्रीलंकालाई

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। अफगानिस्तानविरुद्धको तीन खेलको टी-२० सिरिज श्रीलंकाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ। सोमबार राति भएको खेलमा अफगानिस्तानमाथि ७२ रनको जित निकाल्दै श्रीलंकाले सिरिजमा २-० को अग्रता बनाउन सफल भएकाे हाे।

डम्बुलामा भएको दोस्रो खेलमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो। जवाफमा अफगानिस्तानको टोलीले १७ ओभरमा सबै विकेट गुमाएर ११५ रनमा समेटिन पुग्यो।

अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने निणर्य गरे पनि पाथुम निसान्का र कुसल मेन्डिसले तीब्र गतिमा रन बनाए। उनीहरुले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे।

चौथो ओभरमा ११ बलमा २५ रन बनाएका निसान्का आउट भएसँगै यो साझेदारी तोडिएको थियो। यसैगरी मेन्डिसले १४ बलमा २३ रन बनाए। धनञ्जय डि सिल्भाले १४ रन बनाएर १० औं ओभरमा ८६ रनको स्कोरमा तेस्रो विकेटका रूपमा आउट भएका थिए।

कप्तान वानिन्दु हसरङ्गाले सदिरा समराविक्रमासँग मिलेर ९ बलमा २२ रन बनाएर स्कोरलाई १०० भन्दा माथि पुर्‍याए। उनी टिमको स्कोर ११० भएका बेला आउट भएका थिए।

चारिथ असालान्का मात्र ४ रन बनाएर आउट भए। त्यहाँबाट समरविक्रमलाई साथ दिन आएका एन्जेलो म्याथ्युजले छिटो रन बनाउने काम गरे। यी दुईले स्कोर १८० भन्दा माथि पुर्‍याएका थिए। समरविक्रमले ५१ रनको इनिङ खेले।

योसँगै म्याथ्युजले २२ बलमा ४२ रन बनाएर नटआउट रहे। अफगानिस्तानका लागि अजमातुल्लाह ओमरजाई र मोहमद नावीले दुई दुई विकेट लिए। जवाफी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको इनिङ्स सुरुदेखि नै खस्कियो।

३१ रन नाउँदा ५ विकेट गुमेको थियो। मोहम्मद नाबी र करिम जनातले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गर्दै स्कोरलाई ७० पुर्‍याएका थिए। नाबीले १७ बलमा २७ रनको इनिङ खेले। जनातले २३ बलमा २८ रनको योगदान दिए। तल्लो क्रमका ब्याटर पनि लामो समय टिक्न सकेनन् र जसका कारण तीन ओभर बाँकी रहँदा अफगानिस्तान अलआउट भयो।

श्रीलंकाका लागि एन्जेलो म्याथ्युज, बिनुरा फर्नान्डो, वानिन्दु हसरंगा र माटिशा पाथिरानाले समान २-२ विकेट लिए। यी दुई सफलतासँगै हसरंगाले भने टी-२० मा १०० विकेटको आँकडा पनि पूरा गरेका छन्। पहिलो टी २० मा श्रीलंका ४ रनले विजयी भएको थियो भने अब अन्तिम टी-२० बुधबार राति सवा सात बजे सुरु हुनेछ।

Logo