पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ। नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो।

जितको लागि १९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो। पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए। टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए। गुलशन झा र आकाश चन्दले १-१ विकेट लिए।

त्यसअघि मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो। नेपालको जितमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनका थिए।

सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाएका थिए। टी२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक थियो।

नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७.३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए। विनोद भण्डारी २२ बलमा २ चौका र १ छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए।

लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए। विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे। गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे। पपुवा न्युगिनीका असाद भालाले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १–१ विकेट लिए।

Logo