नेपाल पपुवा न्यूगिनीसँग पनि स्तब्ध, उपविजेतामै सिमित

नेपाल पपुवा न्यूगिनीसँग पनि स्तब्ध, उपविजेतामै सिमित

केन्द्रबिन्दु
28
Shares

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत उपाधि भिडन्तमा नेपाल स्तब्ध भएको छ । बुधबार भएको हङकङमा भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको हो ।

मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा पपुवा न्यूगिनीले जितका लागि दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अलआउट हुँदै ८५ रनमा समेटिएको हो । निकै खराव सुरुवात गरेको नेपाल पपुवा न्यूगिनीका बलरसामू निरीह बन्यो । नेपाली खेलाडीहरु खुलेर क्रिजमा टिक्न नै सकेनन् ।

नेपालले सुरुवातमै ओपनरद्वय कुशल भुर्तेल र विनोद भण्डारीलाई गुमाएको थियो । पहिलो ओभरको तेस्रो बलमै विनोद आउट भएका हुन् । उनलाई कबुवा मोरेले ४ रनमा आउट गराएका हुन् । त्यस्तै, उनकै बलमा तेस्रो ओभरको चौथो बलमा भुर्तेललाई ५ रनमा आउट गरेका हुन् ।

सन्दीप जोराले १७ रन जोड्दा आरिफ शेख १५ रन तथा कप्तान रोहितकुमार पौडेल १२ रनमै आउट भए । गुल्सन झा र लोकेश बमले समान ६/६ रन जोडे भने कुशल भुर्तेलले ५ रन बनाए । त्यसैगरी विनोद भण्डारीले ४ रन जोड्दा करण केसी तीन रनमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा पपुवा न्यूगिनीका कबु मोरे, सेसे बाउ, चाद सोपर र सेमो कमेले समान दुई/दुई विकेट लिए भने एली नाओले एक विकेट झारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन जोडेको थियाे । पपुवा न्यूगिनीका लागि ओपनर टोनी उराले अर्धशतकीय पारी खेले । ३७ बल खेलेका टोनीले ५ चौका र ४ छक्काको मदतमा सर्वाधिक ६१ रन जोडे । अर्का ओपनर सेसे बाउ डकआउट हुँदा हिरी हिरीले १५ रन, किप्लीन ड्रोग्बाले १४ रन जोडे । चाड सोपरले १५ रन तथा अलि नावले १० बलमै ३० रन जोडे । हिला भारेले १८ रन जोडे ।

बलिङमा नेपालका कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए । ४ ओभर नै बलिङ गरेका उनले २४ रन खर्चिँदै ३ विकेट लिएका हुन् । त्यस्तै, आकाश चन्दले पनि ३ विकेट नै लिए । करण केसी र गुलसन झाले एकएक विकेट लिए ।

नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, आज नेपाल कमजोर रपमा प्रस्तुत हुँदा उपाधि गुमायो ।

Logo