राजस्थानको अपराजित यात्रालाई टाइटन्सले तोड्यो, दुई रनको जित

राजस्थानको अपराजित यात्रालाई टाइटन्सले तोड्यो, दुई रनको जित

केन्द्रबिन्दु
154
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्सको पाँचौं खेलमा आएर अपराजित यात्रामा पूर्ण विराम लागेको छ। बुधबार राति गुजरात टाइटन्ससँग ३ विकेटले पराजित भएपछि राजस्थानको अपराजित यात्रामा पूर्ण विराम लागेको हो।

पराजित भए पनि राजस्थान ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा जित निकालेको गुजरात भने ६ अंकसहित छैटौं स्थानमा रहेको छ। राजस्थान रोयल्सले २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो भने जवाफमा गुजरात टाइटन्सले ७ विकेट गुमाएर १९९ रन बनाउँदै खेलमा ३ विकेटको जित दर्ता गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सको सुरुवात खराब रह्यो र उसका दुबै ओपनर पावरप्लेमा पभेलियन फर्किए। खराब फर्मसँग लडिरहेका यशस्वी जैसवाल १९ बलमा २४ रन बनाएर पाँचौं ओभरमा टिमको स्कोर ३२ रन हुँदा पहिलो विकेटको रुपमा पभेलियन फर्किए। यस्तै, पछिल्लो खेलका शतक प्रहार गरेका जोस बटलर छैटौं ओभरमा टिमको स्कोर ४२ रन हुँदा आउट भए। उनले १० बलमा ८ रन बनाएका थिए।

ओपनर सस्तैमा आउट भएपछि कप्तान सञ्जु सैमसन र रियान परागले इनिङ्सलाई अगाडि बढाउँदै तेस्रो विकेटका लागि १३० रनको साझेदारी गरेका थिए। यस क्रममा राजस्थानले आठौं ओभरमा ५० रन, १३औँ ओभरमा १०० र १७औँ ओभरमा १५० रन जोडेको थियो। परागले इनिङ्सको सुरुमै पाएको जीवनदानको सदुपयोग गर्दै १९ औं ओभरमा आउट हुनुअघि ४८ बलमा ७६ रन बनाए। उनको इनिङ्समा तीन चौका र पाँच छक्का सामेल थिए।

कप्तानको रूपमा आफ्नो ५० औं खेल खेल्दै आएका सामसनले पनि अर्धशतक बनाउन सफल भए। उनले ३८ बलमा अविजित ६८ रन बनाए। शिमरोन हेटमायरले ५ बलमा १३ रन बनाएर नटआउट रहे। अन्तिम ओभरमा १९ रन बनाए पनि राजस्थान रोयल्सको टोलीले २ सय रनको अंक जोड्न सकेन। गुजरात टाइटन्सका लागि उमेश यादव, राशिद खान र मोहित शर्माले एक–एक विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा गुजरात टाइटन्सका लागि साई सुदर्शन र कप्तान शुभमन गिलको जोडीले ६४ रन जोड्दै सानादर सुरुआत गरेको थियो। यो साझेदारी नवौं ओभरमा कुलदीप सेनले तोडेका थिए।

सुदर्शन ३५ रन बनाएर आउट भएका थिए। त्यहाँबाट म्याथ्यु वेड (४) र अभिनव मनोहर (१) रनमा आउट भए। गिलले विजय शंकरसँग मिलेर ३२ रन जोड्दै स्कोर १०० भन्दा माथि पुर्याए। विजय १४ औं ओभरमा टिमको स्कोर १११ रन बनेका बेला आउट भए।

विजयले १६ रनको योगदान गरे। शुभमन गिलले अर्धशतक प्रहार गर्दै ४४ बलमा ७२ रनको उत्कृष्ट इनिङ खेले। उनी १६ औं ओभरमा टिमको स्कोर १३३ रन हुँदा आउट भएका थिए।

शाहरुख खान १४ रन बनाएर १५७ रनमा आउट भएका थिए। अन्तिम दुई ओभरमा गुजरात टाइटन्सलाई जितका लागि ३५ रन आवश्यक थियो। राहुल तेवाटियाले अन्तिम ओभरमा आउट हुनुअघि १९ औं ओभरमा २० रन बनाए।

उनी ११ बलमा २२ रन बनाएर रनआउट भएका थिए। २० औं ओभरमा राशिद खानले तीन चौकाको मद्दतले कुल १५ रन बनाएर आफ्नो टोलीलाई जित दिलाए। राशिदले ११ बलमा नटआउट २४ रन बनाए र चौका प्रहार गर्दै खेलको अन्त्य गरे। राजस्थान रोयल्सका लागि कुलदीप सेनले सर्वाधिक तीन र युजभेन्द्र चहलले दुई विकेट लिए।

Logo