रोनाल्डोलाई युरोकपमा जादू चलाउने अन्तिम मौका [भिडियाेसहित]

रोनाल्डोलाई युरोकपमा जादू चलाउने अन्तिम मौका [भिडियाेसहित]

केन्द्रबिन्दु
266
Shares

युरोकपअन्तर्गत आज राति पौने १ बजे विश्वभरका खेलप्रेमीहरुको नजर फ्रान्स र पोर्चुगलबीच हुने महाभिड्न्तमा केन्द्रित हुने पक्का छ । विश्व फुटबलमा दुई दशक राज गरेर आफ्नो करिअरको उत्तरार्धमा रहेका क्रिस्टियानो रोनाल्डो र विश्व फुटबलमा रोनाल्डोको पदचाप पछ्याउँदै कम उमेरमै विभिन्न कीर्तिमानहरु बनाउँदै आएका फ्रेन्च युवा सुपरस्टार केलियन एमबापेबीचको महाभिडन्तका रुपमा हेरिएको आजको खेललाई गुरु-चेलाबीचको महाभिडन्त भन्दा अतिशयोक्ति नहोला !

करिअरको सुरुआतदेखि नै क्रिस्टियानो रोनाल्डोलाई आफ्नो आइडल मान्दै गरेका एमबापे आफूलाई रोनाल्डोको सबैभन्दा ठुलो फ्यानका रुपमा बताउँदै आएका छन् । गुरु चेलाका रुपमा आज मैदानमा एकअर्काविरुद्ध मैदानमा उत्रदा आज रोनाल्डो र एमबापे दुबैलाई आ–आफ्नो टोलीलाई अघि बढाउन गोल गर्नेपर्ने धर्मसंकट आइपरेको छ । दुवै टोलीबाट विश्व स्तरीय खेलाडीले खेल्नेछन्, तर रोनाल्डो र एमबापेबीचको महासंग्राम हेर्न लायक हुनेछ ।

दुई आइकन आमनेसामने हुन लागेको यो नै पहिलोपटक भने होइन । यी दुईले सन् २०१७–१८ को च्याम्पियन्स लिगको अन्तिम १६ मा एकअर्काविरुद्ध खेलेका थिए । त्यस भेटमा रोनाल्डोको रियल म्याड्रिडले एमबापेको पिएसजीलाई सजिलै ५–२ गोलले हराएको थियो । तर आज बेलुकी ह्यामबर्ग रंगशालामा यी दुई खेलाडीबीच हुने खेल विल्कुल फरक हुने आंकलन गरिएको छ । किनकी ६ वर्षअघि एमबापे मात्रै १९ वर्षका मात्रै थिए । हाल उनी २५ वर्षका छन् । उनीमा परिपक्वता र जुनसुकै समय खेललाई आफ्नो पक्षमा ढाल्न सक्ने अद्भुत क्षमता विकास भइसकेको छ । एमबापेकै जादुमयी प्रदर्शनमा फ्रान्सले सन् २०१८ को विश्वकप जितेको थियो । यसैगरी एमबापेको फ्रान्स सन् २०२२ को विश्वकपमा पनि दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । सन् २०१८ मा उत्कृष्ट युवा खेलाडी बनेका एमबापेले सन् २०२२ को विश्वकपमा सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बुट नै जितेका थिए ।

अब यी नै उत्कृष्ट खेलाडी एमबापेको काँधमा दुई पल्टको च्याम्पियन फ्रान्सलाई युरोकप जिताउने जिम्मेवारी छ । फ्रान्सले पछिल्लोपटक सन् २००० मा युरोकपको ट्रफी जितेको थियो । त्यसयता सबैजसो संस्करणमा दावेदारका रुपमा उपस्थिती जनाएपनि च्याम्पियन भने हुन सकेको छैन् । तर, जारी युरोकपमा उनको प्रदर्शन चाखलाग्दो छैन ।

अर्कोतर्फ रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले सन् २०१६ मा पहिलो पटक युरोकपको उपाधि आत्मसाथ गरेको थियो । ३९ वर्षमा पनि क्लब र राष्ट्रका लागि आफ्नो शतप्रतिशत दिँदै आएका रोनाल्डो आज बेलुकी हुने खेलमा फ्रान्सलाई हराउँदै दोस्रो पटक युरोकपको ट्रफी जित्न चाहन्छन् ।

अघिल्लो युरोकपमा सर्वाधिक पाँच गोल गरेका रोनाल्डो जारी सस्करणमा मौन जस्तै छन् । अहिलेसम्म गोल गर्न सकेका छैनन् । लगातार ६ युरोकपको संस्करणमा सहभागिता जनाउने एकमात्र खेलाडी बनेका रोनाल्डोले सन् २००४ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएका थिए। रोनाल्डो युरोकपमा सबैभन्दा बढी खेल खेल्ने र सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् ।

राउण्ड अफ १६ मा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै क्वाटरफाइनल स्थान बनाएको पोर्चुगलले बेल्जियमलाई क्वाटरफाइनलमा हराएको फ्रान्सको सामना गर्न लागेको हो । सन् २०१६ युरोको फाइनलमा भिडेका पोर्चुगल र फ्रान्स जारी संस्करणमा क्वाटरफाइनलमै भिड्न लनगेका हुन् । सोही कारण आजको खेल धेरै हदमा फ्रान्सले बदलाको रुपमा हेरेको छ ।

पोर्चुगलले अहिलेसम्म एक पटक मात्र अर्थात २०१६ मा युरोकपको उपाधि जितेको छ । त्यस्तै सन् २००४ मा उपविजता भएको थियो । अर्कोतर्फ फ्रान्सले अहिलेसम्म दुई पटक अर्थात सन् १९८४ र २००० मा युरोकपको उपाधि जितेको छ भने २०१६ को उपविजेता टोली हो । अहिलेसम्म पोर्चुगल र फ्रान्सबीच कुल २८ खेल भएका छन् । जसमा पोर्चुगलले ६ खेल जितेको छ भने फ्रान्सले १९ खेलमा जित हासिल गरेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।

उमेरले पनि ३९औं वसन्त पार गरिसकेका रोनाल्डो सम्भवत जारी युरोकप अन्तिम पटक खेल्दैछन् । अबको ४ वर्ष अर्थात सन् २०२८ मा रोनाल्डो ४३ वर्षका हुने भएकाले उनले उक्त संस्करणको युरोकप खेल्ने सम्भावना निकै न्यून छ । सोही कारण जारी संस्करणमा रोनाल्डो प्रतियोगितामै प्रमुख आकर्षण बनेका छन् । पछिल्लो खेलमा स्लोभेनियाविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि भावुक भएर मैदानमै रोएका रोनाल्डो यस खेलमा आफ्नो पूर्ण क्षमता अनुसारको प्रदर्शन गर्ने अवसर रहेको छ । त्यस्तै यस प्रतियोगितामा खासै प्रभाव देखाउन नसकेका फ्रान्सका केलीयन एम्बापेका लागि पनि आफ्नो क्षमता देखाएर आफ्नो देशलाई सेमिफाइनलमा पुर्याउने अवसर रहेको छ । युरोकपमा पोर्चुगलको यो नवौँ सहभागिता हो । फ्रान्सको भने यो ११औँ सहभागिता हो ।

फ्रान्सेली टोलीमा एन्टोइन ग्रिजम्यान, कप्तान केलियन एमबापे, ओसमेन डेम्बेल, गोलरक्षक ब्राइस साम्बा, ओलिभर जिरुड जस्ता खेलको मोड जुनसुकै बेला बदल्न सक्ने खुबी भएका खेलाडी छन् यता पोर्चुगलको टोलीमा पनि कप्तान रोनाल्डोसँगै गोलरक्षक डिएगो कोस्टा, जाओ फेलिस्क, गोन्कालो रामोस, राफेल लियो, पेपे, र ब्रुनो फर्नान्डेसलगायत खेलाडीहरु चले फ्रान्सलाई हम्मेहम्मे पर्ने पक्का छ ।

Skip This
Logo