पूँजी बजारले अब गति लिन्छ, रेकर्ड ब्रेक गर्ने लक्षण देखिँदैछः छोटेलाल रौनियार [भिडियाे]

पूँजी बजारले अब गति लिन्छ, रेकर्ड ब्रेक गर्ने लक्षण देखिँदैछः छोटेलाल रौनियार [भिडियाे]

केन्द्रबिन्दु
6.4k
Shares

काठमाडौं । नेपाली पूँजी बजारको एउटा परिचित नाम हो, छोटेलाल रौनियार । सक्रिय लगानीकर्ताको रूपमा कुशल छवि बनाएका रौनियारले थुप्रै संघसंस्थाको नेतृत्वसमेत सम्हालिसकेका छन् । सेयर बजारका विविध विषयमा विश्लेषण साथै यस क्षेत्रमा सुधार गर्नुपर्ने पक्षहरूलाई औँल्याउँदै आएका रौनियार सेयर बजार बिस्तारै लयमा फर्किने बताउँछन् । राजनैतिक नियुक्ति फण्डाले नेपाल धितोपत्र बोर्ड (सेबोन) विगत ६ महिनादेखि अध्यक्ष विहीन हुँदा बजारमा परको प्रभाव, बजारको आगामी गतिका साथै सत्ता समीकरणले सेयर बजारमा ल्याएको उतारचढाव, मौद्रिक नीतिमा सेयर बजारका समेटिनुपर्ने आदि जस्ता विषयसँग सम्बन्धित रही उनै रौनियारसँग केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले अहिले नेपाली पूँजी बजारको अवस्थालाई कसरी हेर्नु भएको छ ?

-मैले तीन वर्षपछि अहिले नेपाली सेयर बजार सकारात्मक लयतर्फ फर्किँदै गएको पाएको छु । जसको कारण सत्ता समीकरण परिवर्तन हुन लाग्नु पनि हो । यसपटक एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने कुरा बाहिरिएको छ । प्रधानमन्त्री ओली बन्दा एमालेकै विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुने देखिन्छ । उहाँकै पालामा नेप्से परिसूचक ३२ सय पुगेको थियो । पौडेल अर्थमन्त्री भएर आउँदा सेयर बजारले गति लेला भन्ने अपेक्षा लगानीकर्ताको हो । एमालेकै प्रधानमन्त्री, अर्थमन्त्री र गर्भर मिलेपछि मौद्रिक नीति नराम्रो आउने कुरै भएन । अहिले थोरै अंकले भएपनि बजार बढेको र कारोबार पनि बढी रहेको देखिन्छ । यो सबै विषयको तालमेल मिलिराख्दा बजारले बढ्ने नै संकेत गर्छ ।

कुनै राजनैतिक दल आउँदा बजार बढ्ने, कुनै आउँदा घट्ने गरेको बजार पाइन्छ । बजार राजनैतिक दलको इसारामा चल्ने हो कि नीतिका आधारमा ?

-सेयर बजार नीति नियमको परिधिभित्र रहेर चल्नु पर्ने हो । यस क्षेत्रलाई धेरै विषयले प्रभाव पारेको हुन्छ । त्यसमध्ये एक राजनीति भयाे। सरकार बदलिँदै गर्दा बजारमा धेरै उतारचढाव नहुनु पर्ने हो । तर, भइरहेको छ । यो हुनुको कारण सेबोन स्वतन्त्र तरिकाले चल्न नसक्नु पनि हो । अहिले सेबोनको अध्यक्ष नियुक्तिको लागि दलबीच हानथाप भइरहेको छ ।

सीडीएस, नेप्से, नेपाल राष्ट्र बैंक, जस्ता ठाउँ पनि दलको भाग लाग्ने भएकाले सेयर बजार प्रभावित बनेको देखिन्छ । डिमान्ड अनुसार सप्लाईका आधारमा बजार चल्ने वातावरण सिर्जना गर्नुपर्यो । साइबर आक्रमणको जोखिमबाट पनि सेयर बजार प्रभावित छ । साइबर क्राइमका नीति नियम छैनन् । भए पनि काम हुँदैन । जसले गर्दा पनि केही समस्या देखिन्छ । नेपाली सेयर बजार आफ्नो लयमा चल्ने समय आउला ।

अहिलेको अवस्थामा पूँजी बजारले लिएको गति सन्तोषजनक हो ?

-यो गति सन्तोषजनक हैन । किनभने कोभिडको समयमा श्रीलंका टाट पल्टियो भनेर भनिन्थ्यो । त्यहाँको अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई लखेटियो पनि । यसले श्रीलंकाको अर्थव्यवस्था तहसनहस भएको अवस्था थियो । बिस्तारै श्रीलंकाको अर्थतन्त्र पुरानै लयमा फर्किँदै गएको अवस्था छ । आजको दिनमा त्यहाँको नेप्से परिसूचक करिव ११ हजारको हाराहारीमा छ । हाम्रो २ हजार २१ सयको हाराहारीमा घुमिरहेको छ । नेपालको आजको समस्या खुट्टा तानातान अनि हानाहान हो । हरेक ठाउँमा राजनीति घुस्दा पनि समस्या आयो ।

नेप्से भारतमा ८० हजार, पाकिस्तानमा ४५ हजार पुगि सकेको छ । सार्क राष्ट्रको सेयर बजारलाई निहालेर हाम्रोसँग तुलना गर्दा हामी निकै नाजुक अवस्थामा छौं भन्दा फरक पर्दैन । नेपाली सेयर बजारमा केही गडबढ छ । त्यो गडबढका रूपमा नीति नियम देखा परेको छ । सरकारले पूँजी बजारलाई अर्थतन्त्रको ऐना भनेर कहिल्यै हेरेको पाइएन । सेयर बजारलाई जुवाघर, सट्टेबाजीका हिसाबले हेर्नाले र ३/३ महिनामा नीति नियम परिवर्तन गरिदिनाले अपेक्षा अनुसारको पूँजी बजारको विकास हुन सकेन ।

यद्यपि लगानीकर्ताले आफ्ना भनाइहरू राख्ने ठाउँ चाहिँ पाएका छन् । जसले गर्दा यस क्षेत्रको केही हदसम्म सुधार भएको पाइन्छ । देशका नेता, गभर्नर संसार घुमेका हुन्छन् । उहाँहरूलाई विकासको मोडालिटिको बारेमा थाहा पनि हुन्छ । तर, यहाँ आएपछि पुरानै जामा लगाएर बोल्ने र काम गर्ने गर्छन् । अनि पछि पछुताउँछन् ।

सेयर बजारप्रति सरकारको भिजन ठिक छ ?

-हामी सेयर बजारका विषयलाई लिएर अर्थ मन्त्रालय, राष्ट्र बैंक, नेप्सेलगायत जानु पर्ने ठाउँमा गइरहेका छौं । हामी उहाँहरूलाई ज्ञापन पत्र र विषयलाई बुझाएर फार्किन्छौं । तर, हामीले सरकारको पूँजी बजार पनि अर्थतन्त्रको मेरुदण्ड हो भन्ने बुझाइमा कमी पाएका छौं । करिव ५० खर्ब लगानी रहेको यस क्षेत्रलाई प्राथमिकता नदिनु आफैमा दुखद विषय हो । पूँजीबार अर्थतन्त्र त हैन । तर, अर्थतन्त्रको एउटा मेरुदण्ड चाहिँ हो । यसले प्राथमिक पूँजी संकलन गर्ने भएकाले पूँजी बजारलाई महत्व आवश्यक छ । यस क्षेत्रबाट सरकारले मनग्य राजश्व संकलन गरिरहेको छ । कुनै पनि देशको अर्थतन्त्रको विकास भएको छ छैन भनेर पूँजी बजारलाई हेर्दा पुग्छ ।

सरकारले यस क्षेत्रमा निरुत्साहित गर्नुको कारण चाहिँ के हो ?

-सरकारले यस क्षेत्रलाई निरुत्साहित गरेको छ भनेर मिल्दैन । तर, जुन दलको नेतृत्वमा सरकारमा बनेको हुन्छ उनीहरूले चाहिँ सेयर बजारलाई नबुझेको भन्ने मलाई लाग्छ । सेयर बजार संवेदनशील भएकाले पहिला नीति नियम बनाई लागू गरेर मात्र बोल्नु पर्ने हो । तर, यहाँ यस्तो पाइँदैन । नयाँ ब्रोकर ल्याउनै १२ वर्ष मिहिनेत गर्नुपर्यो । संसारमा यस्तो कहीँ पनि हुँदैन । लगानीकर्ताले हड्ताल नै गर्दैनन् । सेबाेनले आफैले लगानीकर्ताको एशोसिएशन बनाइदिएको हुन्छ । ताकि उक्त सङ्गठनको माध्यमबाट पूँजी बजारको हक हितका लागि आवाज उठाउन सकियोस् । तर, यहाँ हामी आफै स्वतः स्फूर्त उभिएर आफ्नै पैसा खर्च गरी लगानीकर्ताको संघ संगठन बनाएका हुन्छौं ।

संसारलाई हेरेर अगाडि बढ्नु पर्यो । पूँजी बजारको विकास भयो भने देशको विकास हुन्छ । यो माइक्रो लेबल हो । तर, माइक्रो लेबलमा ५० खर्ब पैसा लाग्नु भनेको सामान्य हैन । जबसम्म पूँजी बजारलाई राष्ट्र बैंकले सुधार गर्दैन तबसम्म देशको अर्थतन्त्रको विकास हुँदैन । पूँजी बजारमार्फत करिव १७ खर्ब रुपैयाँ गुमिसकेको छ । १७ खर्ब भनेको एक वर्षको बजेट हो । सामान्यदेखि पूँजीपति वर्गसम्मको लगानी सेयर बजारमा छ । पूँजी बजारका नीति नियमलाई आजको हिसाबले बनाउनुपर्छ ।

अहिलेको समयमा लोन लिएर सेयर बजारमा लगानी गर्नु कत्तिको उचित छ ?

-नेप्से इन्डेक्स ३२ सयमा पुग्दा सेयर बजारमा बैंकको लोन १ सय २५ अर्ब आसपासमा थियो । जब बजार घटेर १८ सयमा पुग्यो तब लोन पनि घटेर ६५ अर्ब रुपैयाँमा झर्यो । आज थोरै बढेर ८६/८७ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सोर्स अफ क्यापिटलको १ प्रतिशत रकम पूँजी बजारमा लोन जानुपर्छ भन्ने नियम पनि छ । त्यति भयो भने एउटा बैंकबाट अनुमानित ५/६ खर्ब रुपैयाँ लोन जान्छ । तर, त्यति पनि पूँजी बजारमा लोन गएको छैन । र, कहिल्यै पनि पूँजी बजारमा बढी लैजाने गरेको छैन । किनभने लगानीकर्ताले पूँजी बजारमै लगानी गर्ने भनेर धेरै लोन लिँदैनन् ।

पहिला बैंकको ब्याज बढी थियो । अहिले ब्याजदर घटेर एकल अंकमा आइसकेको अवस्था छ । बैंकसँग १६/१७ खर्ब रुपैयाँ रकम स्टकमा छ । तर, लगानीकर्ता हुन् या उद्योगी व्यापारीहरूले लोन लिन चाहिरहेका छैनन् । लोन खराब नीति भएकै कारण लिन चाहेका छैनन् । आज लोन लिन भोलि ब्याज १६/१७ प्रतिशत पुग्यो भने त समस्या हुने डर छँदैछ । सरकारको दृष्टिकोणमा जबसम्म बदलाव आउँदैन तबसम्म यस्तै हो । सरकार दिगो नहुनु अर्को ठूलो चुनौतीको विषय बन्दै गएको छ । दुई वर्ष नहुँदै तीनवटा सकार परिवर्तन भएको छ । एउटा सरकारले बनाएको नीति अर्को आएर परिवर्तन गरिदिनाले पनि हरेक क्षेत्रलाई दखल पुर्याएको छ ।

नेपाली सेयर बजार कमजोर हुनुको कारण के हाे ? कसले के गर्यो भने बजार बढ्छ ?

-पहिलो कुरा पूँजी आयकर कम गरी दिगो नीति ल्याएर जोखिम भारलाई १२५ बाट १०० गरिदिनु पर्यो । किनभने पूँजी बजारमा त्यस्तो जोखिमभर छँदैछ । १५ र २० को जुन क्याप लाइएको छ । त्यसलाई हटाउनु पर्छ । बैंकसँग पैसा थुप्रिरहेकाे छ । तर, क्याप लगाएर बसि राख्दा राष्ट्र बैंककै आफ्नै नियम अनुसार नै मिलेन । त्यो क्याप लगाउनुको अर्थ छैन । बैंकहरुको लगानी नहुँदा नाफामा कमी आइरहेको छ ।

बैंकको अहिले संस्थापक सेयर धेरै बिक्रीमा छ । कुनै पनि बैंकको प्रमोटरहरु बैंकमा बस्न चाहँदैनन् । १०/१२ प्रतिशत बैंकको नाफा भयो भने उनीहरु अर्कोमा लगानी गर्न चाहन्छन् । बैंकमा नै लगानी गर्ने उनीहरूको इच्छा देखिँदैन । बैंकका संस्थापक सेयरधनीहरू संस्थापक सेयर लिलाम बिक्री गरेर भागीरहेका छन् । बैंककाे महँगो ब्याज खाने बानी छ । बढी लोन खान्छु भन्ने उनीहरूको नीति छ । बरु कम ब्याज खाने लगानीका लागि रकम उद्योगीलाई दिने हो भने त्यहाँबाट धेरै रिटर्न हुन्छ ।

लामो समयदेखि बोर्ड अध्यक्षविहीन छ । अध्यक्ष नियुक्तका लागि राजनीति भागबन्डाको चर्चा निकै हुने गर्छ, अध्यक्ष नियुक्तिको लागि अहिलेसम्म भएका गतिविधि पक्कै नियाल्नु नै भएको छ, यसमा तपाईंकाे धारणा के छ ?

-सेबोन स्वयत संस्था भएकाले अध्यक्ष नियुक्तिको लागि राजनैतिक हस्तक्षेप हुनु हुँदैन भन्ने मेरो बुझाई हो । अहिले प्रधानन्यायाधीशदेखि सर्वोच्चसम्म भागबन्डा लाग्दो रहेछ । विगत ६ महिनादेखि सेबोन अध्यक्ष विहीन हुँदा त्यसको प्रत्यक्ष असर यहाँ पुगेको विषय धेरैलाई अवगतै छ । नयाँ स्टक एक्सचेन्जमा ठूलो पैसाको जालझेल खबरहरू आइरहेकै हुन्छन् ।

हामीलाई नयाँ स्टक एक्सचेन्ज चाहिन्छ । अपारदर्शी तरिकाले सेबोन अध्यक्ष छनोट गर्ने काम भइरहेको छ । पहिला धेरै जसो सेबोन कांग्रेसको पोल्टामा पर्थ्यो । बीचमा एमालेले आफ्नो मान्छे पार्न खोजेको थियो । अहिले माओवादीको पार्न खोज्दा दलबीच झमेला भयो । अध्यक्षमा आफ्नो मान्छे नियुक्ति गर्न नपाउँदा सत्ता समीकरण भएको जस्तो मलाई लाग्छ । धितोपत्रको अध्यक्षका लागि सत्ता समीकरण हुन चाहिँ दुर्भाग्यको कुरा हो ।

सबै मिलेर अहिले सेबोनलाई ब्याटल ग्राउन्ड बनाएका छन् । त्यसैले अब राजनैतिक नियुक्तिबाट बोर्डको अध्यक्ष चुनिनु हुँदैन । बोर्डमा आएर काम गर्ने मान्छे चाहिएको हो । यहाँ यसको मतलब छैन । आफ्नो मान्छे राख्नु पर्छ । मैले पैसा त्यहाँबाट असुल्नुपर्छ भन्ने मान्यता बोक्दा सेबोनका कर्मचारी साथै लगानीकर्तासमेत दुखी बनाएको छ । बोर्ड लगानीकर्ताको अभिभावक भएकाले अध्यक्षको कारण ५० खर्बको पूँजी बजार चल्छ । स्वच्छ तरिकाले जो काम गर्छ इच्छुक हुन्छ उसलाई नियुक्ति दिनुपर्छ ।

मौद्रिक नीति अब आउँदै छ । मौद्रिक नीतिबाट सेयर बजारलाई बाधा गर्ने नीति खुकुलो हुने आश छ ?

-यसपटक लचिलो मौद्रिक नीति आउने आम लगानीकर्ताको अपेक्षा छ । किनभने एमालेका अध्यक्ष ओली प्रधानमन्त्री, अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएको खण्डमा र गभर्नर पनि एमालेकै हुँदा मौद्रिक नीति नराम्रो आउने कुरै छैन । यो सरकार बन्यो भने ३२ सयको इन्डेक्स इतिहास भएर जान्छ । गभर्नर महाप्रसाद अधिकारीले चारवटा मौद्रिक नीति ल्याइसक्नु भएको छ । यो उहाँको कार्यकालको अन्तिम मौद्रिक नीति हो । कोभिड भन्दा अगाडि उहाँले एउटा मौद्रिक नीति राम्रो ल्याउनु भएको थियो । उक्त मौद्रिक नीतिमा मैले उठाएका धेरै विषय सम्बोधन भएका थिए । तीनवटा मौद्रिक नीति खराब आयो । किनभने सरकार परिवर्तन भयो । हामीलाई विश्वास छ उहाँले यस पटक सहज नीति लिएर आउनु हुनेछ । उहाँको यो अन्तिम मौका भएकाले मौद्रिक नीति सहज किसिमको आउने आशा गरौं ।

पहिलाकै लयमा बजार कहिले फर्किएला ?

-३२ सय एउटा रेकर्ड मात्र हो । रेकर्ड तोडिनको लागि नै बनेको हुन्छ । १९८५ मा २०० रहेको भारतको इन्डेक्स आज ८० हजारमा पुग्यो । पाकिस्तानको आर्थिक अवस्था त्यति राम्रो छैन । तर, त्यहाँको इन्डेक्स ६५ हजारमा छ । नेपाली सेयर बजारको ३२ सय नै लास्ट विन्दु हो भनेर बस्नु हुँदैन । यो तोडेर अब सेयर बजार अगाडि बढ्छ । पूँजी बजारमा नीति नियम राम्रो आइदियो, सरकार स्थायित्व र सेबाेन पनि सकारात्मक भई हामीले उठाएका विषयहरू पूरा भए भने पूँजी बजारले राम्रै तरिकाले अगाडि बढ्छ । यो रेकर्ड ब्रेक हुन आवश्यक छ । र, कारोबार पनि बढ्छ । हामीले सकारात्मक बिचार राख्ने हो । बजार अगाडि बढ्ने सोच राखेर लगानी गर्नुपर्छ ।

सामाजिक सञ्जालमा ठुला ठुला लगानीकर्ताबीच वादविवाद भइरहेको पाइन्छ, अनि एकातिर यो कम्पनीको सेयर किन्नु होस् भने पनि प्रचार गरिराखिएको हुन्छ । यो गर्नु कत्तिको उचित हो ?

-यो ठिक होइन । जुन कम्पनीको ईपीएस कम छ । आज त्यसको मूल्य बढी रहेको हुन्छ । म चाहिँ फन्डामेन्टली स्ट्रोङ कम्पनी हेरेर लगानी गर्छु । कुनै कम्पनीको सेयर किन्यो, भाउ बढाइदियो तरिकाले लगानी गरिरहेका छन् । कुनै लगानीकर्ताहरू अब बजार बढ्छ, यो कम्पनीमा लगानी गर्दा उचित हुन्छ भनेर भनी रहेका हुन्छन् । यस विषयलाई नियाल्ने सेबोन हो । हाम्रो हातमा यसको अधिकार छैन । सेबोनले यसबारे एउटा स्टुडियो बनाएर लाइभ हेर्नुपर्छ । उसले कहाँ बदमासी गर्यो । न्युजको सत्य
तथ्य पनि हेर्नुपर्छ । अनि २/४ जनालाई कारबाही गर्ने हो भने बजार कहाँबाट-कहाँ पुग्छ । कुन ग्रुप यो कम्पनीमा लागेको छ । त्यो आधारमा सेयर किन्न थाले । सोझा सिधा लगानीकर्ता मूल्य उच्च भएको बेला किन्छन्, अनि फस्छन् । यसमा हामीले आवाज मात्र उठाउन सक्छौं ।

Logo