पारिजातले देखाएको मार्गले विश्वभर चिनिएकी इन्दिरा रानामगर

पारिजातले देखाएको मार्गले विश्वभर चिनिएकी इन्दिरा रानामगर

केन्द्रबिन्दु
0
Shares

‘केही भएर केही नभए जस्तो अनि केही नभएर पनि केही भए जस्तो ।’ 

बाआमा भएर पनि अलग बस्न बाध्य बालबच्चाको कलिलो मानसपटलमा सायद यस्तै कुरा घुम्दो हो । यस्तै सोच आउदो हो, बाआमाको प्रेम नपाइ हुर्किएका बालबच्चामा । नेपालमा यस्ता बालबालिकाहरु कति होलान् ? यस्को लेखाजोखा सायदै होला हामी कोहीसँग । निर्दोष ती बालबालिका पेटभरी खान र मीठो निन्द्राका लागि याचना गरिरहेका हुन्छन् । यो पीडामा मल्हम लगाउने महान व्यक्तिहरुको कमी पनि छैन हाम्रो देशमा ।
जोे बालबालिका माझ भौतिक सँगै भावानात्मक र प्रणयात्मकरुपमा नजिक छन् । त्यती मात्र नभएर उनीहरुलाई बाआमाको कमी महसुस हुन दिँदैनन् । बाआमा नजिकै भएर पनि सँगै नभएका बालबालिकाको रेखदेख र पालनपोषणमा ३३ वर्षदेखि सक्रिय ईन्दिरा रानामगर । बा अथवा आमा वा बाआमाको कसुरमा जेलमा बस्न बाध्य बालबालिकालाई सुन्दर भविष्य दिने आमा हुन्, ईन्दिरा रानामगर । 

औपचारिक शिक्षाका लागि घरभित्रकै विद्रोह

‘छोरीलाई पढाए के हुन्छ ? विवाह गरे घरजम हुन्छ ।’ भन्ने भाष्यले जरो गाडेको समाज हो हाम्रो । जुन अहिले पनि केहि क्षेत्रमा कायम छ । निम्न वर्गीय परिवार । तपतप चुहिने छानो अनि दुई छाक खान संघर्ष गर्नु पर्ने ती दिनहरु । आजभन्दा ४५ वर्ष अघि । पितृसत्तात्मक समाज । त्यसमा पनि जनजाती महिला । जहाँकुनै अवरोध बिनानै औपचारिक शिक्षा लिनु ब्रमाण्डलाई आफ्नै हत्केलामा समेट्नु जस्तै थियो । 
उमेरले दुई वर्ष जेठा दाजुको हातमा कलम हुँदा ईन्दिराको हातमा भान्सा थियो ।

मेला थियो । हँसिया थियो । दाउरा थियो तर उनीमा भने शिक्षाप्रतिको मोह झन धेरै थियो । जुन अहिलेपनि उत्तिकै छ । ईन्दिरा सुनाउँछिन ‘दाजुले गृहकार्य गर्दा, म सिन्काले भँुईमा लेख्थे।’ एक दिन भुँईमा लेखेको देखेर मास्टरले ईन्दिरालाई विद्यालय लिएर गए । उनको जिद्दिमा एकैपटक पाँच कक्षामा भर्ना गरिदिए र त्यहीँबाट सुरु भयो उनको औपचारिक शिक्षा ।

विद्यालयमा पाइला टेकेकै वर्ष टप

पहिलोपटक पाएका कुरा हामीलाई कति सुन्दर लाग्छ ? त्यती नै सुन्दर लाग्छ ईन्दिरालाई पनि पहिलोपटक छोएको पुस्तक । पहिलो पटक समाएको कलम । पहिलोपटक टेकेको विद्यालय । जहाँबाट ईन्दिराका सपनाले उडान भर्न सुरु गरेका छन् । ईन्दिरा सुनाउछिन् ‘पुरानो कुर्तामा स्कुल जाँदा साथीहरुले हेयको दृष्टिले हेर्थे, होच्याउथे, जिस्काउथे । तर, जब पाँच कक्षाको वार्षिक परिक्षामा सर्वोत्कृष्ट अंकसहित उतिर्ण भएँ, म प्रति साथीहरुको दृष्टिकोण नै बद्लियो ।

सबैले प्रेम गर्न थाले ।’ उनले यसरी नै माध्यमिक तहको शिक्षा छात्रावृतिसहित पूरा गरिन । उनी भन्छिन् ‘सबैले नेता बन्छे, नेता बन्छे भन्थे।’ शिक्षा प्रतिको मोह सबैसँग हुन्छ । तर विना अवरोध शिक्षा लिने अवसर कमै सँग हुन्छ । त्यहीँ मध्येकी एक हुन ईन्दिरा । उनी जसोतसो विद्यालय भर्ना त भइन् तर पढ्न सहज भने थिएन । कारण होः एकै पटक कक्षा पाँचमा भर्ना हुनु ।

जसले गर्दा विद्यालय व्यवस्थापन समितिको प्रश्न सँगै सबैको नजर उनमा रहेको थियो । यद्यपी उनी आतिन्न् । एक दिन टिफिन ब्रेकमा दिउँसोे एक बजे गाईलाई घाँस हालेर फर्कदा सरले चौरमा राखेर कक्षा लिइरहनु भएको रहेछ । कक्षामा सामेल हुन अप्ठ्यारोमा परेकी उनले चौरको छेउमा उभिएर ‘मे आइ कम इन सर’ भनेपछि सवै साथी हाँसे ।ईन्दिरा हाँस्दै भन्छिन् ‘अनुशासित विद्यार्थी म । त्यसमा नी शिक्षकहरुकी प्रिय छात्रा म । सर मिसलाई जहाँ जतिबेला देखेपनि नमस्कार गर्थे । मेरो उक्त कुराले सवै विद्यार्थी हाँसे । मेरो उक्त कुराको चर्चा पूरै स्कुलमा भयो । म त लाजले भुतुक्कै भएँ ।’

सघर्षको सुरुवात

जिद्दी बालापन । विद्रोही स्वाभाव । बाल मस्तिष्कको यो व्यवस्थाप्रतिका अनेकन प्रश्नले १९९० सालमा इन्दिरालाई झापाबाट काठमाडौंसम्म डोर्यायो । अनजान सहर । अनजान मान्छेहरु । रित्तो खल्ती । एक थान शैक्षिक प्रमाणपत्र तर केही गर्छु भन्ने अठोट । संघर्षका बीच ईन्दिराले विस्तारै सहर पढ्दै गइन् । तथापि ईन्दिरालाई काठमाडौं सपनाको सहर जस्तै थियो । झोलामा राखेको एसएलसीको सर्टिफिकेट कतै नबिकेपछि ईन्दिराले एउटा टेलरमा कपडामा आइरन लगाउने काम सुरु गरिन् । उनको पहिलो कमाई २० रुपैंयाँ भयो । जेनतेन गुजारा हुँदै थियो । उनले केटाकेटीलाई टियुसनसँगै अमृत बोर्डिङमा पढाउन थालेपछि भने जीवन सहज बन्यो ।

यसरी सुरु भयो उनको सपना

ईन्दिरा गणित र सामजिकसँगै नेपाली पनि पढाउथिन् । ईन्दिरालाई केही गर्न पर्छ बन्ने हुटहुटी केटाकेटीबाटै थियो ।तर, के गर्ने ? पत्तो थिएन । बेर्डिङ पढाउँदा नै उनको भेट पारिजातसँग हुन पुग्यो । अनि सुरु भयो उनको सपनाको यात्रा  । पारिजात लेखिकासँगै मानव अधिकारकर्मी पनि थिइन् । जब पारिजातले उनलाई जेल लिएर गइन् ।

त्यहाँका बच्चाहरुको अवस्था देखेर उनको मन भक्कानियो । आँखा रसाए । गला अवरुद्ध भयो । बच्चाहरुको जीवन नर्क जस्तै लाग्यो । भन्छिन् ‘जब ती बच्चाहरुलाई देखे । म त निक्कै प्रिभिलेज्ड रहेछु भन्ने भयो । शिक्षाको महत्व त त्यतिबेला पो बुझे ।’ त्यसैमा उनी थप्छिन ‘ती बच्चाहरुको अवस्था देखेर मैले भोगेको संघर्ष त फिकाफिका पो रहेछ ।’

जब पारिजातले भनिन्, तपाई मसँग काम गर्नुस्

सामजिक र राजनीतिक मुद्दाहरुमा वकालत गर्दै आएकी पारिजातले स्कुलमा ईन्दिरालाई नियालिरहेकी रहिछन् । ईन्दिरा सुनाउछिन ‘म त पारिजातलाई चिन्दिन थिए । उहाँले पो मलाई याद गर्नुभएको रहेछ ।’ कुरा गर्दै जाँदा दिदीले (पारिजातं) भन्नु भयो ‘तपाइ जस्तो उर्जावान युवा त मसँग काम गर्नुपर्छ । तपाई म सँग काम गर्नुहोस् ।’ ईन्दिरालाई यतिबेला मरुभुमिमा एक बुँद पानी खसे जस्तै भान भयो । 

कैदिसम्म पुर्याउने पारिजात, पे्ररणाको स्रोत आफैं

पारिजातसँग जेल जाँदाजादैँ ईन्दिरालाई त्यी बालबालिकाहरुका लागि केही गर्नुपर्छ भन्ने महसुस भयो । बालबालिकाको भविष्यलाई लिएर उनमा हुटहुटी चल्यो । मनमा हजारौं प्रश्न आए । उनले पारिजातले खोलेको प्रिजर्नश एसिस्टेन्स मिसन(पाम)मा रहेर कैदीका समस्याहरु सुनिरहिन । तर, अपेक्षा गरे अनुसार केही भएन । उनले उठाएका मुद्दाहरु सधैं नै सेकेण्डरी पार्ट भए । त्यसपछि १० वर्षदेखि काम गर्दै आएको पामलाई छोडेर ईन्दिराले आफ्नै संस्था खोलिन् । ‘प्रिजर्नश एसिस्टेन्स नेपाल (पीए) ।

पारिजातको उपस्थितिले ईन्दिराको जीवनमा ठूलो महत्व राख्छ । ईन्दिरा सुनाउँछिन, ‘दिदीले लेखेको साहित्यबाट आएको पैसाले चस्मा किनेर लैजान्थे जेल । पारिजात नभएको भए सायद आज यी बच्चाहरुसँग नहुन सक्थे म ।’ उनी थप्छिन् ‘दिदी हुँदा मलाई ढुक्क थियो । म मेरा कामकुरा निर्धक्क साथ गर्न पाउँथे । तर, समय उस्तै नहुँदो रहेछ ।  दिदी गएपछि त मलाई मेरा कुरा राख्न पनि दिइँदैन थियो । पुरुसत्वदेखाइ हाल्ने।’

कसरी खोलियो प्रिजर्नश एसिस्टेन्स नेपाल (पिए)?

त्यतिबेला पनि बालबालिकाहरुको अधिकारका बारेमा बोल्ने युनिसेफ देखि अरु पनि निक्कै संस्थाहरु थिए । तर त्यी कुनै पनि संस्थाले कैदीका बच्चाहरुलाई हेर्दैन थिए । उनीहरुका कुनै पनि मुद्दाहरु उठाइदैन थियो । जसले ईन्दिरालाई दिनदिनै पोल्थ्यो । ईन्दिरा भन्छिन् ‘मलाई त्यो कुरा मात्रै गर्नु थियो ।

जहाँ चुनौती होस् । मैले खर्चिएको समय अस्तित्वहिन नहोस् ।’ यहीँ उद्धेश्यबाट ईन्दिराको आफ्नै डेराबाट सुरु भएको हो प्रिजर्नश एसिस्टेन्स नेपाल । पाम छोडेर उनले पिए खोलेकी थिइन् । ईन्दिरा भन्छिन् ‘सुत्केरी भएकाले स्कुल छोडेकी थिए । त्यो बेला मसँग केही थिएन । पिए नेपाल खोलेको खबर सुनेर पामका साथीहरु खोज्दै आउनुभएछ । पछि उहाँहरुले नै मलाई महिनाको ३ हजार रुपैयाँ बराबर ७ महिनालाई पुग्ने पैसा दिनुभयो । र त्यहीँबाट पिए नेपालले गति लियो ।’

के हो त प्रिजर्नश एसिस्टेन्स नेपाल ?

नेपाल भरीका कैदीका बच्चाहरुलाई हेर्ने निजी संस्था हो प्रिजर्नश एसिस्टेन्स नेपाल । यो संस्थाको स्थापना सन २००० मा इन्दिरा रानामगरले गरेकी हुन् । पिए नेपाल विशेष गरेर कैदीका बाल बच्चाको पुनस्र्थापना र पुर्नजीवन गर्नमा सर्मपित छ । उनीहरुको पालणपोषण, शिक्षादिक्षा सबै पिए नेपालले गर्दै आएको छ । हालसम्म देशैभरमा १६ भन्दा बढी शाखा छन् ।

२ जनाबाट सुरु भएको पिए नेपालमा अहिले २ हजार बालबालिका छन । कैदीका बच्चालाई मात्रै हेर्ने पिए नेपालले अहिले उच्च गरिबि परिवारका बच्चाको पनि लालनपालको जिम्मेवारी उठाएको छ । त्यस्तै देशैभरका जेलमा रहेका आमा र बच्चाहरुका लागि पौष्टिक आहाराको व्यवस्था पनि गरिरहेको छ ।

कैदिका बच्चाहरुलाई हेरेकै भरमा सहनु परेको दु्र्व्यवहार

दुःखसुख हाम्रा सहयात्री हुन् । ‘फुल्नै नपाई ओइलिनु पर्दाको पीडा कस्तो होला ? त्यो फुललाई नै थाहा होला !’ ईन्दिरालाई बेलाबेला यस्तै भान हुन्छ । उनी भन्छिन् ‘यो सहरमा त आमा पनि फेरिदाँ रहेछन्’ । आफैंसँग व्यस्त रहेको सहरले उनलाई सधैं एक्लो बनाइरह्यो । उनी स्कुलको समय बाहेक सेन्ट्रल फिमेल जेल र नख्खु जेल गइरहन्थिन्। त्यहाँका महिलाका गुनासो सुन्थिन् ।

आफैंबाट हुन सक्ने सहयोग गर्थिन् । बालबालिकालाई हेर्थिन् तर जसै जेलबाट निस्किन्थिन ‘कैदीका बच्चाहरुलाई हेरेर के हुन्छ र ? जेल बाट आएकी ? बौलाही ।’ लगायतका प्रश्न उनीप्रति सोझिन्थे । उनी सुनाउछिन्, ‘मलाई कैदिसम्म पुर्याउने पारिजातलाई मैले मेरो दुख कहिले सुनाइन ।’ महिला भएर कैदीका बच्चालाई हेरेकै कारण सहन परेको दुर्व्यवहारका बारेमा उनी केही सम्झन चाहान्नन् । मिल्ने भए उनी त्यो समय-समाज दुबैलाई मेटाउन चाहन्छिन् । 

झापामा देखिएको सपना जब पुग्यो विश्व प्रसिद्ध पुरस्कार ‘वल्र्ड चिल्डे्रन अननेरीप्राइज’मा
‘काँडाहरुका बीचमा फुल्ने फूलहरु कति सुन्दर हुन्छन् ? त्योभन्दा सुन्दर हुन्छ असह्या दुःख पछिको मुस्कान।’  ईन्दिराको पृष्ठभुमि यस्तै छ । विद्रोही चेतले झापामा देखेको सपना । हृदयमा सपनाप्रतिको प्रेम । आँखामा अबोध बालबालिकाको कलिलो मुस्कान ।

सपनाको सहर काठमाडौं आएर पंख हालेको यात्राले जब पहिलोपल्ट सन् २००५ मा अमेरिकाको अशोका फाउन्डेसनको अशोका फेलो सम्मान पायो । अझै गर्नपर्छ भन्ने पे्ररणा दियो । त्यस्तै एशिया सोसाइटीले सन् २००९ मा उनलाई ‘एशिया २१ युवा नेता सार्वजनिक सेवा पुरस्कार’का लागि छनोट गर्यो ।

निरन्तरको यात्रा अन्ततः विश्वको प्रसिद्ध पुरस्कार ‘वल्र्ड चिल्डे्रन अननेरी प्राइज २०१४’सम्म पुग्यो । त्यसैगरी बीबीसी रेडियोले विश्वभरबाट चुन्दै आएको ‘बीबीसी १०० प्रेरणादायी महिलाहरुमा’ सन् २०१७ मा उनी विश्वभरबाट छनोट भएका महिलाहरुको सूचीमा अटाइन् । जसले ईन्दिरालाई आफु हुनुको महसुस गराईरहन्छ । ईन्दिरा यतिबेला ‘२०२० द वान’को तिन फाइनलिष्टमा रहेकी छन । जुन यो नोभेम्वरमा फाइनल हुनेछ । उनलाई अनेकन शुभेच्छा । 

Logo