दिनहुँ जस्तो घण्टौँ जंगलमा यसरी हराँउथिन्, मानौँ जंगल र जंगलका हरिया पातहरुसँग प्रेम थियो । त्यही पातसङ्गको प्रेमलाई जीवन बाँच्ने आधार बनाएकी बिरेन्द्रनगर -५ की ५० बर्षीया हरिकला रम्तेल जिल्लाकै सफल महिला उधमीको सूचीमा पर्छिन् ।
व्यस्त बजारको उत्तरी भागमा रहेको घना जंगलको फेदमा रहेको ‘रामजानकी’ दुना टपरी उधोग उनको दैनिक गन्तव्य स्थान हो । आफ्ना सबै घरधन्दा सकेर हरिया बेआकार पातहरुलाई सुन्दर दुना र टपरीको आकार दिनु उनको दैनिकी हो । पात टिप्न, सुकाउन, माग अनुसारका दुना टपरी तयार गर्न अनि बजार पठाउन उनलाई भ्याइ नभ्याइ हुन्छ । यो व्यस्तताको बावजुद पनि सुर्खेतलगायत अन्य छिमेकी जिल्लाका विभिन्न ठाउँहरुमा गएर दुना टपरी सम्बन्धी तालिम पनि दिन्छिन्।
उनी मुसुक्क हाँस्दै भन्छिन्- ‘रुखमा पैसा फल्दैन भन्थे, मेरो त रुखमै फल्छन् । टिप्न र आकार दिन मात्र समय लाग्ने हो ।’
इच्छा शक्त्ति हुनुपर्छ साधारण चिजहरुबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भनी सिकाई रहँदा उनलाई आत्मासम्मानको महसुस हुन्छ । आफ्नो कामप्रति उनी इमानदार र सन्तुष्ट छिन्। दुना, टपरीबाट सहजै उनले मासिक ३०-३५ हजारसम्मको आम्दानी गर्छिन्। त्यसैबाट आफ्नो घर खर्च चलाई एक साधारण जीवन बाँचिरहेकी छिन् । उनी मुसुक्क हाँस्दै भन्छिन्- ‘रुखमा पैसा फल्दैन भन्थे, मेरो त रुखमै फल्छन् । टिप्न र आकार दिन मात्र समय लाग्ने हो ।’
आवश्यकता परेपछि मात्र बोल्ने नत्र शान्त रहने हरिकला रम्तेल बा–आमा कि साईली छोरी हुन् । उनी सबै भाई–बहिनिहरु भन्दा फरक स्वभावकी थिइन् ।
सात जनाको परिवार भएपनि उनको बुवाले छालाका जुत्ता बनाउने र बेच्ने गर्थे जसले गर्दा उनका र परिवारका आवश्यकताहरु ढिलै भएपनि पूरा हुन्थे । बुवा आमाले छोराछोरी पढाउन निकै मेहेनत गर्थे तर घरबाट स्कुल पठाएकी उनी स्कुल नगई दिनभरी जंगलमै हराउँथिन्। उनलाई स्कुल जान कहिल्यै मन लागेन, टाढाको स्कुल त्यसमाथि केटा मात्र हुन्थे । उनका सबै साथीहरु घाँस, दाउरा, चुलो चौको र गोठाले गर्थे र उनलाई पनि त्यही रमाइलो लाग्थ्यो । भन्छिन्- त्यतिबेला छोरी मान्छे पढ्नु पर्छ या त पढाउनु पर्छ भन्ने चेतनासमेत थिएन । त्यसकै प्रत्यक्ष प्रभाव मलाई पनि प-याे । साथीहरुलाई गोठालोतिर छोडि मलाई स्कुल जान मन लाग्दैन्थ्यो । दिनभरि साथीहरुसँग जंगल जान्थेँ अनि स्कुल बिदा हुने बेला घर आउथेँ ।
सोह्र बर्षकै उमेरमा एक गुरुङ युवकसँग भागेर विवाह गरेको हुँदा दुवै परिवारले उनीहरुलाई स्विकार गरेनन्। श्रीमानको साथ पनि लामो समय रहन सकेन ।
बाल्यकाल सहज नभएपनि साधारण जीवन बाँचेकी हरिकला रम्तेलका दुःखका दिन तब मात्र सुरु भए जब उनले कलिलै उमेरमा अन्तरजातिय प्रेम विवाह गरिन् । उनी सोह्र बर्षकै उमेरमा एक गुरुङ युवकसँग भागेर विवाह गरेको हुँदा दुवै परिवारले उनीहरुलाई स्विकार गरेनन्। परिवारको साथ नरहे पनि श्रीमानको साथ उनी सधै चाहन्थिन् तर त्यो पनि लामो समय रहन सकेन ।
गहका आँशु पस्विनाको फेरले पुछ्दै उनले भनिन्- म सोह्र बर्षको थिएँ विवाह हुँदा, सत्र बर्ष हुँदा छोरा जन्मियो । छोरो जन्मेको एक बर्ष नहुँदै उहाँ (श्रीमान्)ले छोड्नु भो । हामीलाई छोडेर कहाँ कोसँग हुनुहुन्छ पनि थाहा छैन । भेटेर किन छोडेको भनेर सोध्न मन छ तर सम्भव छैन । अनुमान लगाउँछिन् सायद मेरो जातले नै होला । अठार बर्षकै उमेरमा एक्लो बनेकी हरिकला रम्तेलका दिनहरु सधै आधा अधुरा मात्र भए । एक बर्षको छोरालाई काखमा च्यापी जीवन बाँच्ने आधार एक्लै खोज्न थालिन् । न परिवार न आफन्त न साथी भाईको साथ । उनी नितान्त एक्लो बनिन। जिन्दगी चलाउन जाँड-रक्सी बनाएर घरबाटै बेच्न थालिन् । एकल महिलाले घरमै जाँड, रक्सी बेच्ने भएकाले केही अपाच्य सोचहरु पैदा हुन थाले । जीवन जसरी पनि बाँच्नु त छँदै थियो, त्यसैले उनले पछि तरकारी बेच्न थालिन् । तरकारी बेचेरै छोरालाई हुर्काइन, बढाइन् अनि पढाइन् पनि ।
गाउँका दिदीबहिनीहरुको समूह बन्यो जसमा उनी पनि सामेल थिइन् । गाउँमा मेसिन आयो तर पछि मात्र थाहा पाइन् उनलाई त्यो समूहबाटै निकालिएछ भनेर । उनी खिन्न भइन् ।
तरकारीबाट पनि उनको जीवन सामान्य चलिरहेको थियो तर पनि मनमा केही नयाँ गर्ने सोच थियो तर के गर्ने ? सोही समयमा नगरपालिकाले गाउँमा दुना टपरी बनाउने मेसिन वितरण गर्ने भयो । गाउँका दिदीबहिनी हरुको समूह बन्यो जसमा उनी पनि सामेल थिइन् । गाउँमा मेसिन आयो तर पछि मात्र थाहा पाइन् उनलाई त्यो समूहबाटै निकालिएछ भनेर । उनले आफूलाई ननिकाल्नका लागि अनुरोध पनि गरिन् तर विभिन्न बाहनामा उनलाई त्यस समूहमा राखिएन । काम गर्न चाहेको भए पनि काम गर्न नपाएकोमा उनी खिन्न भइन् । उनीहरुकै अगाडि आफूले पनि दुना टपरीकै काम गर्ने सङ्कल्प गरिन् र एक गैर-सरकारी संस्थाबाट पन्ध्र दिनको तालिम पनि लिइन् । उक्त संस्थाले तालिम लिएकाहरुलाई सामूहिक रुपमा मेसिन उपलब्ध गराउने भन्ने थियो तर उनको गाउँमा पहिले नै मेसिन आइसकेको तर नचलेको हुँदा सो संस्थाले मेसिन नदिने निर्णय ग-याे । तर पछि हरिकलाको दृढ सङ्कल्पका कारण सो संस्थाले तेह्र जनाको समूहमा एउटा मेसिन उपलब्ध गराउने भयो । उनी लगायत तेह्र जनाले समूहमा काम सुरु पनि गरे तर आम्दानी भन्ने शुन्य रह्यो। काम हुने तर आम्दानी शून्य भएपछि सबै जना हतोत्साहित भए तर उनले हार मानिनन् । निरन्तर काम गर्दै गइन् । गर्दै जाँदा के कसरी गर्ने भन्ने कुरा थाहा पाइन् ।
उनीभित्र केही गर्न सक्छु भन्ने आत्माविश्वास त थियो तर तिमी गर्न सक्छौ भन्नेहरुको अभाव सधैँ रह्यो।
विस्तारै विवाह भोज, पूजा ,पार्टी आदिका लागि दुना टपरीको माग हुन थाल्यो । त्यति मात्र नभई बजारमै दुना,टपरीको माग बढ्न थाल्यो । माग बढेसँगै उनले अरु मेसिनहरु पनि थपिन् ।अहिले कर्णालीका सबै जिल्ला लगायत कर्णालीकै अन्य छिमेकी जिल्लाहरुमा पनि उनका दुना ,टपरी निर्यात हुन्छन्। उनी भन्छिन्- जंगलमा पहिले जस्तो पात नै छैनन् । भएका पनि किराले खाइहाल्छन् । कच्चा पदार्थको अभावले बजारको आवश्यकता अनुसार उत्पादन गर्न अझैपनि सकिएको छैन् । वि.सं. २०७३ फाल्गुनदेखि सुरु भएको रामजानकी दुना टपरी उद्योग स्थापना कालदेखि निरन्तर सञ्चालनमा छ । सुरुवाती चरणमा कठिनाइहरु भएपनि निरन्तरको मेहेनतले उनलाई एक सफल महिला उद्यमी बनायो ।
उनीभित्र केही गर्न सक्छु भन्ने आत्माविश्वास त थियो तर तिमी गर्न सक्छौ भन्नेहरुको अभाव सधैँ रह्यो। सधैँभरी तिमी गर हामी छौँ साथमा न त पुरुषले भन्छन् न त यो समाजले नै त्यसैले महिलाहरुले चुलो छोड्ने आँट आफै गर्नुपर्छ । काेसिस गर्नुपर्छ सबै कुरा सम्भव छ, ढिलो चाँडो भन्ने मात्र हो ।
प्रतिक्रिया