जसले विदेशबाट फर्किएर सुरु गरे रिक्सा चलाउन, महिनाको ८० हजार बचत

जसले विदेशबाट फर्किएर सुरु गरे रिक्सा चलाउन, महिनाको ८० हजार बचत

केन्द्रबिन्दु
0
Shares

स्वदेशमा अवसर नपाएर विदेश जानेको लर्को अझै रोकिएको छैन । अवसरको खोजीमा नेपाल छाड्नेहरु धेरै रहे पनि स्वदेशमै अवसरको खोजी गर्न भन्दै फर्कनेहरुको संख्या पनि बढ्न थालेको छ । विदेश गएर पनि पैसा कमाउन नसकेर फर्कनेको संख्या पनि उल्लेख्य छ । कोही भने यहीँ नेपालमा केही गर्छु भन्ने हिम्मत लिएर आउने पनि छन् । 

वर्षौ विदेशमा बसेर कमाउने र जीवनको उत्तरार्ध नेपालमा विताउने सोच भएकाहरु पनि हिजोआज भेटिने गरेका छन् । यस्तै स्वदेशकै माटो प्यारो लागेर फर्किएका केहीमध्येका एक हुन्, रामेछापका ३५ वर्षीय यादव ढलकोेटी । 
यादवले आफ्नो जीवनका केही सुनौला दिनहरु विदेशी माटोमा पसिना बगाएर बिताए । न घामपानी भने न भोक र तिर्खा । जति पसिना बगाए पनि नहुने देखेपछि २ महिना मात्रै विदेश बसेर उनी ९ वर्षअघि स्वदेश फर्किए । उनी सिधैं गाउँ हानिए । तर गाउँ सोचेजस्तो कहाँ थियो र ? मन थियो । माया थियो । आफ्नै ठाउँ र जम्नेहुर्केको माटोको सुगन्ध थियो । आफन्त थिए, साथिभाइ थिए तर आम्दानीको स्रोत थिएन । लाखौं प्रयास गर्दा पनि नभएपछि उनले फेरि काठमाडौं फर्कने निर्णय गरे । 

काठमाडौं आएपछि मात्रै उनले जीवन बुझ्ने मौका पाए । अभाव, भोक, तिर्खा, आफन्त सबैको महत्व बुझे । जीवनका अफ्ठ्याराहरुलाई पार लगाउन सिके । भोगाइका खुड्कीलाहरु चढ्न सिके । भोकभित्रको छटपटी बुझे । तिर्खाभित्रको अत्यास बुझे । संघर्षमा आनन्द खोज्न सिके । अभावमा जिउन सिके । चिसो भुइँमा न्यायो निन्द्रा सुत्न जाने । समग्रमा जीवन पढे र त्यसलाई सुक्ष्म रुपमा बुझ्न जाने । 
यादव भन्छन्, ‘विदेशबाट फर्किएर गाउँ गएँ । त्यहाँ पनि के गर्न सकिन्थ्यो र ? फेरि काठमाडौँ आएँ केही गर्ने सोच बनाएर । ट्काक्सी चलाए १ वर्ष । फाइदा भएन । छाडे । रिक्सा चलाउन थाले । पहाडमा जन्मेको मान्छे, रिक्सा चलाउन र हात बसाउन भने समय लाग्यो । तर अहिले रिक्सा चलाउन थालेकै ८ वर्ष भयो ।’

उनले यो ८ वर्षलाई भरपुर प्रयोग गरेका छन् । हरपल काम गरेका छन् । लकडाउनमा एक छाक खान धौधौ परे पनि बाँकी समयमा उनले आफ्नो रिक्सामा राखेर हरेक उमेरका मानिसलाई घुमाएका छन् । रिक्साको पाइडल घुमे जस्तै गरेर उनीहरुको मन बहलाएका छन् । मनकारहीबाट स्याब्बासी पाएका छन् । केहीबाट गाली खाएका छन् । तर यी सबैलाई उनले जीवनको बास्तविक अर्थका रुपमा बुझेका छन् । 

भन्छन्, ‘यी सबै जीवनको उतारचढाव हुन् । जीवनक के रहेछ भनेर बुझ्न यी प्रतिनिधि घटना हुन् । यो ८ वर्षमा मैले यस्ता कति भोगेभोगे । तर म मनमा लिन्न । मात्र बुझ्छु । केलाउँछु र आवश्यक कुरा ग्रहण गर्छु बाँकी चक्काबाट हावा फुस्किए जस्तै उडाइदिन्छु ।’
यादवले यही रिक्साबाट मनग्गे आम्दानी पनि गरेका छन् । परिवारको गर्जो टारेका छन् । दुखबिमार हुँदा औषधीउपचार गरेका छन् । पेटभरी खाएका छन् । आङ् भरी लाएका छन् । ओछ्यानभरी निदाएका छन् । त्यति मात्रै हैन, घामपानीबाट बच्न एउटा सानो घर बनाउन घडेरी पनि जोडेका छन् । 

उनी भन्छन्, ‘पहिलेपहिले लाग्थ्यो विदेशको काम सजिलै हुन्छ तर भनेजस्तो नहुँने रहेछ । परदेशी जीवन गाह्रो हुने रहेछ । काम गर्न नसकेर नेपाल फर्र्किए । अहिले यहाँ काम राम्रो भएको छ । महिनामा ९० हजार देखि १ लाख रुपैयाँसम्म कमाई हुन्छ । ८० हजारसम्म बचाउँछु । कहिले काँही दिन दाहिना भएनन् भने त्यो भन्दा कम पनि हुन्छ । तर प्राय: ८० हजारबाट कम हुन्न । भक्तपुरमा एउटा घडेरी जोडेको छु । अरु त केही गर्न सकेको छैन ।’ 

उनी विहान ७ देखि वेलुका ९ बजेसम्म काठमाडौंका सबै व्यस्त बजार पुग्छन् । कहिँले हावा छिर्न नसक्ने असनमा रिक्सा पसाउँछन् त कहिले पर्यटकीय बजार ठमेलमा पर्यटक बोलाउछन् । कहिले बालाजुमा लामा बसहरुको ताँतीसँगै रिक्सा दौडाउँछन् अनि कहिले कोटेश्वरमा एकाबिहानै माइक्रोबससँग जुहारी खेल्छन् । तर जहाँ पुग्छन् उनको आशा, जाँगर र दृढसंकल्पलाई भने साथै लिएर जान्छन् । जसले उनलाई सधैं काम गर्न हौसाइरहन्छ ।  

सुनमा पनि बास्ना त कहाँ हुन्छ र ? रिक्सा सञ्चालनमा पनि बाधा त आइहाल्छ नि । सामान बढी भएर हिड्न नसक्ने र रहरले रिक्सा चढ्ने केहीबाट भने ठूलै धोका खाएको उनी बताउँछन् । जो जहाँ झरे पनि भाडा भने उनले तोक्ने गरेका छैनन् । ज्यादै कम दिए भने पनि झगडा गर्न जाने गर्दैनन् । ठाउँअनुसार फरकफरक पैसा दिएर जानेहरु नै बढी छन् । काठमाडौंमा रिक्सा चढ्ने सौख र रहर हो भन्ने बुझेका उनले ग्राहकको रहरलाई पैसाको घेरामा राख्दैनन् जुन उनका लागि फाइदा पनि देखिन्छ । 

यादव भन्छन्, ‘दिनभरीमा १ हजार रुपैयाँदेखि १५ सय रुपैयाँसम्म हुन्छ । पहिले घरमा हुँदा धेरै दु:ख भएर विदेश गईयो तर विदेशमा पनि केही नहुँने रहेछ भनेर । मानिसहरु धेरै विदेश विदेश भनेर कुद्छन् । तर विदेशमा गएर राम्रो कमाई पनि छ ठुलठुला देशहहरुमा छन त तर हामीजस्तो नपढेकालाई के नै सजिलो काम हुन्छ र विदेशमा पनि ? पढेर राम्रो काम सिकेर गए, भाषा सिकेर गयो भने त राम्रै कमाई हुन्छ । तर पनि नेपालमा नै बसेर गर्न सके राम्रो हुन्छ । अब हेरौँ कतिसम्म चलाउँन सकिन्छ । काम गर्दा केही बाँधा अवरोध भएन भने सँधै चलाउँछु नत्र पछि गाडी चलाउँने सोच बनाएको छु । विदेश चाहिँ जान्न यहीँ बसेर काम गरिरहन्छु ।’ 

यादवले जीवन भोगाई र बुझाइअनुसार विदेश जानुभन्दा नेपालमै बसेर केही काम गरे राम्रो हुने कुरा बताउछन् । भन्छन्, ‘नेपालमा केही गर्यो भने राम्रो हुँने मेरो बुझाई अनुसार विदेश जानु भन्दा पनि यहीँ केही व्यवसायिक काम गर्दा राम्रो हुन्छ । कतिपय मानिसहरु यस्तो काम पनि के गरेको भन्छन् । तर मलाई लाग्छ जे गरेपनि हामीले काम गर्न छाड्नुहुँदैन, आफ्नो कामलाई निरन्तरता दिनुपर्छ । एकदिन न एकदिन सफलता अवस्य पाइन्छ ।’ 
 

Logo