उधारो एक केजी धागोले लखपति बनेकी रुकमणीदेवी श्रेष्ठ भन्छिन्ः व्यवसाय गर्न जाँगर चाहिन्छ, रकम हैन

उधारो एक केजी धागोले लखपति बनेकी रुकमणीदेवी श्रेष्ठ भन्छिन्ः व्यवसाय गर्न जाँगर चाहिन्छ, रकम हैन

केन्द्रबिन्दु
0
Shares

भनिन्छ, दुःखसुख जीवनको एक चक्र हो । कहिले घाम पानी कहिले हासो कहिले रोदन । अनि कहिले घाम कहिले पानी । यहीँ त जिन्दगीको परिभाषा । यो समयमा धेरै दुःखकष्टहरु आउँछन् । तर तिनै दुःखलाई सम्झिएर काम गर्ने हो भने पछि अवस्य सफल भइन्छ । यसको उदाहरण हुन् उद्यमी रुकमणीदेवी श्रेष्ठ । 

रुकमणीदेवी उमेरले ६६ वर्षकी भए पनि उनको जोश जाँगर अझै एक युवतीको जस्तै छ । सानैदेखि मेहेनती उनलाई काम गर्न कुनै समस्या नै भएन । नत उनलाई काम गर्न कसैले नै रोक्न सक्यो । उनी अहिले उनले बुनेका स्वदेशी कपडाहरु देश तथा विदेशमा पुर्याएर आफ्नो नाम कमाउँन सफल भएकी छिन् । 

सिन्धुपाल्चोक चौतारा घर भएकी श्रेष्ठले सानो लगानीदेखि काम गर्न थालेकी हुन् । उनले काम थाल्नको लागि नत उनीसँग पैसा नै थियो नत केही सामान नै बस थियो त केबल काम गर्ने इच्छाशक्ति । उनले त केवल एक केजी धागो पनि उधारोमा ल्याएकी थिइन् । त्यहीँ एक गच्छि धागोबाट सुरुवात गरेको व्यावसायले अहिले उनलाई देश विदेशमा चिनाउँन सफल भएको छ ।
 
सानैदेखि केही नयाँ कुरा सिक्न खोज्ने उनले कुरुषको काम गाउँघरमा सिकिन् । उनले यतिसम्म आउनका लागि धेरै नै दुःख गरिन् । यतिसम्म संघर्ष गरिन् कि अहिले उनलाई देश तथा विदेशमा नचिन्ने कोही छैन । यस्तो अवस्थामा आउन उनका संघर्षका दिनहरु पनि धेरै दुःख लाग्दा छन् । उनले ३ जना छोराहरुको साथमा आफ्नो कामलाई निरन्तरता दिइरहिन् । अनि अन्त्यमा सफल उद्यमी बनिन् ।  
उनलाई गाउँघरमा पनि कहिल्यै खाली बस्न मन लाग्दैन थियो । 

काठमाडौंमा रहँदा पनि सानोसानो धागो किनेर घरमा लगि स्विटर बुन्न मन लाग्थ्यो । काठमाडौं आएका बेला आफूले बुनेका स्विटर बिक्रिका लागि खरिदकर्ता खोज्दै हिड्नु पर्यो । उनी भन्छिन्, ‘पहिलो चोटी आफूले गरेको काम कसले हेरिदिएला र कसले लगाइदिएला त्यहीँ चिन्ता हुन्थ्यो । मानिसलाई सोथ्थे अनि सित्तैमा दिन्थे । तर पनि त्यो पल एकदम खुशीको पल थियो मेरो लागि । किनकी मैले बुनेको स्विटर कसैले लगाई त दियो । त्यो दिन त म मक्ख परेर धेरै नाचेकी थिए ।’ खुशीका आसुले भरिएका आँखा सहित उनी फिस्स मुस्कुराइन् । 

पहिले पहिले गाउँघरमा केही महिलाहरु केही सिप सिकाउँनको लागि आउँथे अनि उनी पनि ठुला मानिसको भिडमा छिर्थिन् र केही कुरा सिकिहाल्थिन् । उनलाई नयाँ नयाँ कुरा सिक्न खुव मन पथ्र्यो । अनि कोही मान्छेले केही कुरा सिकाउँदैछ भने हतारहतार आफ्नो परिचय दिएर उसको नजिक पुग्थिन् अनि सिकिहाल्थिन् नयाँ कुरा । उनको घरदेखि टाढा हिडेर पानी ल्याउनु पथ्र्यो । उनको दिन पानी ल्याउँदा नै वित्थ्यो । त्यो दिन सम्झिदा उनको आँखामा आसु आउँछन् अनि एक्छिन् भावुक हुन्छिन् ।

 त्यही पानी ल्याउँदा नै उनको दिन जाने भएर पनि उनले पढ्न पाइनन् । भन्छिन्, ‘टाढा बाटो पानी लिन जानुपर्ने भएर पनि मैले पढिन । घरकी जेठी छोरी सबै घरको काम पनि सम्हाल्नु पथ्र्यो । अरुका छोराछोरी गएको देखेर जान मन त लाग्थ्यो अनि सोधि हाल्थे के के पढेउ भनेर । ३ कक्षा र ६ कक्षामा गएको थाहाँ छ तर त्यसपछि अरु थाहाँ छैन । पहिले पहिले त जहाँ मन लाग्यो त्यहीँ बस्न पाइन्थ्यो त्यहीँ बस्ने हो । जहाँ पायो त्यहीँ बसिन्थ्यो ।’

त्यो दिन अझै मेरो आँखामा झलझली आउँछ 

उनी घरमा हजुरबाको पसलमा बस्थिन् केही मानिस नआएको खाली समयमा हात खाली नराखी स्विटर बुन्न थाली हाल्थिन् । उनले आफ्नो लागि ६ महिना लगाएर एउटा स्विटर बुनेकी थिइन् । रहरमा बुनेको त्योे स्विटर उनले धेरै समय लगाउन पाइनन् । किनकी उसकी सानी बैनीले कैचीले काटिदिएकी थिइन् । भन्छिन्, ‘मेरी बहिनी सानैदेखि विरामी थिई । त्यत्रो मेहेनतका साथ मैले ६ महिना लगाएर बुनेको तर धेरै लगाउँन पाइएन । त्यो कुरा मेरो दिमागमा झलझली आउँछ’ त्यतिमात्र हैन पैसा नभएर धागो किन्न नसकेको कुरा पनि उनको दिमागमा ताजै छ । त्यो दिनमा यति हिम्मत नगरेकी भए सायद अहिले उनी यो ठाउँसम्म आउन सक्दिन थिइन् होला । 

कहिल्यै विवाह नगरी आमा पालेर घरमै बस्छु भनेर बसेकी उनी तर भनेजस्तो र सोँचेजस्तो कहाँ हुन्थ्यो र समाजको डरले भएपनि उनले विवाह गर्नु नै पर्यो आखिरमा । २६ वर्षको उमेरमा उनले विवाह गरेर काठमाडौं आइन् । काठमाडौं त आइन् तर सजिलो भने पक्कै थिएन । घर परिवार सबै एउटा कोठा भाडा लिएर बस्थे । के गर्ने भनेर काम सोच्दा उनले एक केजी धागो बाँकी ल्याइन् किनकी उनीसँग धागो किन्ने समेत पैसा थिएन । एउटा स्विटर बुनिसकेर बजारसम्म पुर्याउनको लागि धेरै मेहेनत गरिन् । 
भन्छिन्, ‘धेरै मेहेनत गरेर बुन्न त बुने तर कहाँ लगेर बेच्ने केही थाहा थिएन । पहिलोचोटी बुनेको सामान ठमेलमा उधारोमा छोडेर आए । अहिले पनि त्यहीँ हो लाने ।  ति दिनहरु अझै पनि राम्रोसँग याद छ ।’

उनले धेरै महिलालाई काम सिकाएर आफ्नै खुट्टामा उभिन सिकाएकी छन् । आफैमा निर्भर हुन सिकाएकी छिन् । भन्छिन्, ‘यही कामले मेरो मात्र हैन म जस्ता धेरै महिलाको जीवन सुधार भएको छ । आर्थिक अवस्था सुधारिएको छ । काठमाडौंमा आफु र बच्चाहरुलाई पाल्न सकिरहेका छन् । कसैले यही काम गरेर छोराछोरी पढ्नलाई विदेश पढाएका छन् । कतिले यही काम गरेर काठमाडौंमा घर बनाएका छन् । पहिले ठाउँ नभएर एउटा सानो कोठामा सबै परिवार वस्थ्यौ । अहिले यहीँ काम संघर्षका साथ गरेर आफैले घर बनाएकी छु । मान्छेले देख्दा वाहिरबाट आहा भने पनि यहाँसम्म आउन कत्ति दुःख गरेको छ मलाई मात्र थाहा छ । ५० भन्दा बढी महिला दिदीबहिनीलाई सिप सिकाएकी छु । उनीहरुले पनि राम्रो आम्दानी गरिरहेका छन् । पहिला आफैले महिनाको एउटा मात्र सामान बनाउँथे भने पछिपछि आफैले महिनाको १० वटासम्म बनाउन थाले ।’ 

उनले २०५० सालमै नेपाल हस्तकला महासंघको सदस्यता लिइन् । त्यहाँबाट उनले धेरै कुराहरु थाहाँ पाउन थालिन् । अहिले उनी धेरै संस्थामा जोडिन थालेकी छिन् । आफ्नो नाम देश विदेशमा चिनाउन सफल भएकी छिन् । अहिले एउटा स्विटरको ५ सयदेखि १० हजारसम्मका स्विटरहरु उनीहरुले उत्पादन गर्छन् । भन्छिन्,‘ आफुले जानेको सीपलाई कसैले खेर जान दिनु हुँदैन । खर्च बढी लाग्ने हैन । बस मानिसमा काम गर्ने जोश जाँगर र इच्छाशक्ति भए पुग्छ । बढी मेहेनत गर्नुपर्छ । सफलता अबस्य पाइन्छ ।’  

Logo