बेबिलोनियनहरूले पत्ता लगाए, पाइथागोरसभन्दा अगाडि नै ‘पाइथागोरस सिद्धान्त’

बेबिलोनियनहरूले पत्ता लगाए, पाइथागोरसभन्दा अगाडि नै ‘पाइथागोरस सिद्धान्त’

केन्द्रबिन्दु
0
Shares

समकोण त्रिभुजका तीन किनारा हुन्छन्ः लम्ब (पर्पेन्डिकुलर), आधार (बेस) र कर्ण (हाइपोटेन्युस)। लम्बको वर्ग (स्क्वायर) र आधारको वर्ग जोड्दा कर्णको वर्ग बराबर हुन्छ। विद्यालय स्तरको गणितमा पढाइ हुने यो सिद्धान्तलाई ‘पाइथागोरस सिद्धान्त’को नाम दिइएको छ। 

ग्रीक गणितिज्ञ एवम् दार्शनिक पाइथागोरसले पत्ता लगाएको मानेर उक्त गणितीय सिद्धान्तलाई उनको नाम दिइएको हो। 

तर, सो सिद्धान्त उनीभन्दा हजार वर्षअगाडि नै प्रयोगमा रहेको कुरा खुलेको छ। अस्ट्रेलियास्थित युनिभर्सिटी अफ न्यू साउथ वेल्सका गणितिज्ञ डा. डेनियल म्यान्सफिल्डले सो सिद्धान्त प्राचीन मेसोपोटामियाको बेबिलोनियामा जग्गा बाँडफाँटमा प्रयोग हुने गरेको पत्ता लगाएका छन्। 

‘सि.४२७’ नाम दिइएको एक माटोबाट बनेको चाक्लो बस्तु अध्ययन गरेर म्यान्सफिल्डले त्यस्तो निष्कर्ष निकालेका हुन्। उक्त वस्तुमा ‘पाइथागोरियन ट्रिपल’हरूको भएको उनको ठम्याइ छ।

‘पाइथागोरियन ट्रिपल’ यस्ता तीन संख्याको समूह हो, जसलाई त्रिभुजका तीन किनारा मानेर त्रिभुज बनाउने हो भने समकोण त्रिभुज नै बन्छन्। 

३, ४ र ५ ‘पाइथागोरियन ट्रिपल’का उदाहरण हुन्। ३ को वर्ग ९ हुन्छ, ४ को वर्ग १६ हुन्छ र यी दुई जोड्दा २५ हुन्छ। अर्कोतर्फ ५ को वर्ग पनि २५ हुन्छ। यी तीन संख्याको समूह पाइथागोरस सिद्धान्तसँग ‘फिट’ हुने भएकाले यी एक समकोण त्रिभुजका तीन किनारा हुन्।

त्यसैगरी ५, १२ र १३ अनि ८, १५ र १७ पनि ‘पाइथागोरियन ट्रिपल’ हुन्। सि.४२७ अमिनले जग्गा चतुर्भुजका आकारमा बाँडफाँटका लागि प्रयोग गर्ने यन्त्र भएको म्यान्सफिल्डको ठम्याइ छ।

‘सि.४२७ मा भएका चतुर्भुज सटिक छन्। साधारणतया चतुर्भुज बनाउँदा त्रुटी हुने गर्छन्। सटिक हुने भनेको पाइथागोरस सिद्धान्त प्रयोग गर्दा हो,’ म्यान्सफिल्ड भन्छन्। पाइथागोरियन ट्रिपलको प्रयोगबाट यो सम्भव भएको म्यान्सफिल्डको निष्कर्ष छ। 

‘सि.४२७ कसैले जमिन भाग लगाउने क्रममा हातमा गिलो माटो लिएर टिपोट गरेको नोट हुनुपर्छ,’ म्यान्सफिल्ड भन्छन्।  
(द न्यू साइन्टिस्टबाट अनुवादित)

Logo