शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

शिव लिङ्गेश्वर धाम कटानको जोखिममा

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरको बेदकोट नगरपालिका-४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । 

शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस पर्यटकीय क्षेत्र लिङ्गेश्वर धामको अस्तित्व जोखिममा परेको स्थानीय बताउँछन् । “विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यसपटकको बाढीले लिङ्गेश्वर धाममा ठूलो क्षति पु¥याएको छ”, स्थानीय महेन्द्र बोहराले भने, “समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ ।”

कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उनको माग छ । लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । “बेदकोटको चिनारीका रूपमा रहेको लिङ्गेश्वर धाम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ”, अर्का स्थानीय कपिल जोशीले भने, “नगरलाई देश–विदेशमा चिनाएको छ, त्यसैले यसको संरक्षण आवश्यक छ ।”

बाढीले लिङ्गेश्वर क्षेत्रमा पर्यटकहरूका लागि तस्वीर खिच्न निर्माण गरिएको ‘सेल्फी वाल’ बगाएको छ । यस्तै धाम क्षेत्रमा रहेको लिङ्गेश्वर मन्दिर कटानको उच्च जोखिममा छ । “नदीले कटान गरेर मन्दिर बगाउने स्थिति छ, एक मिटरमात्रै बाँकी छ”, बेदकोट नगरपालिका–४ का अध्यक्ष नरबहादुर बोहराले भने, “फोटो खिच्न बनाइएको सेल्फी प्वाइन्ट बगाएको छ ।”

उनका अनुसार बाढीले लिङ्गेश्वर जोड्न बगुन खोलामा निर्माणाधीन झोलुङ्गे पुलको ढङ्गाले निर्माण गरिएको पिलर पनि बगाएको छ । आन्तरिक पर्यटनको रोजाइमा पर्न थालेपछि बेदकोट नगरपालिकाले लिङ्गेश्वर धाममा विभिन्न भौतिक संरचना निर्माण गरेको थियो । स्थानीय तहको बजेटले मात्रै लिङ्गेश्वर धाम कटानको दीर्घकालीन समाधान गर्न नसकिने बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले बताए। प्रदेश र सङ्घ सरकारसँग थप बजेट माग गरेर कटान समस्याको दीर्घकालीन समाधान खोजिने उनले बताए । 

Logo