हामीसँग ७ सय वटा पुराना ऐतिहासिक पुस्तक र ग्रन्थ छन् : मिश्र

हामीसँग ७ सय वटा पुराना ऐतिहासिक पुस्तक र ग्रन्थ छन् : मिश्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  काठमाडौंको केशरमहलमा एउटा पुस्तकालय छ । जहाँ अक्सफोर्ड पुस्तकालयमा नभएका पुस्तक समेत पढ्न पाइन्छ । त्यति मात्र होइन विश्वमै नभएका नक्सा र सामाग्रीहरू समेत यही पुस्तकालयमा रहेकाले पुस्तकालयको महत्व ऐतिहासिक छ । यही कारण हरेक दिन विदेशीको समेत आकर्षणको थलो बनेको छ केशरमहल पुस्तकालय । पुस्तकालयको अवस्थाचाहिँ कस्तो छ भन्ने विषयमा केन्द्रित रहेर केन्द्रबिन्दुका उप सम्पादक विवश कुलुङले पुस्तकालयका प्रमुख दशरथ मिश्रलाई राखेको ५ जिज्ञासा ।

केशर पुस्तकालय किन ऐतिहासिक छ ?
धेरै हिसावले ऐतिहासिक महत्वको पुस्तकालय हो । कतिपय यस्ता पुस्तकहरू छन्, जुन संसारमै छैनन् । यहाँ सुुश्रुत संहिता, अक्सफोर्ड पुस्तकालयमा नभएका १ सय थान पुस्तक छन् । संसार मै नभएका ७ सयवटा पुराना ऐतिहासिक हस्तलिखित पुस्तक र ग्रन्थहरू छन् । कपडामा बनाएको संसारकै पुरानो हस्तलिखित नक्सा भएका कारण केशर पुस्तकालय महत्वपूृर्ण छ ।

ऐतिहासिक पुस्तकहरू जोगाउन के कस्ता चुनौती छन् ? संरक्षणको लागि के गर्नुपर्ला ?
संरक्षण गर्न कठिनाइ त छ । कतिपय पुस्तक तथा ग्रन्थहरू निकै पुराना छन् । त्यस्लाई जोगाउन सेतो कपडामा बाँधेर तापक्रम नियन्त्रण गरेर राख्ने गरेका छौं । प्रविधिको प्रयोग गरेर तापक्रम व्यवस्थापन गर्नसके अझै पुराना ग्रन्थहरू जोगाउन सहज हुने थियो ।

पर्यटकहरू दिनहुँ केशरमहल आउने गरेको पाइन्छन् खासमा उनीहरूको चासोचाहिँ कस्तो पुस्तकमा देखिन्छ ?
केशररमहल पुस्तकालय पुस्तकालय मात्र नभएर एक संग्रहालय नै हो । पुस्तक हेर्न कै लागि मासिक डेढ सय पर्यटकहरू पुस्तकालय छिर्ने गरेका छन् । किनकी यहाँ संसारमै नभएका ग्रन्थ र नक्साहरू पनि छन् । दुर्लभ ग्रन्थ र सामाग्रीमा उनीहरूको चासो देखिन्छ ।

नेपाली पाठकहरू चाँही कति छन् ?
हाम्रा नियमित पाठक १ सय जना जति छन् । अरू पाठक खासै धेरै छैनन् । मौसम पनि चिसो भएकोले होला । पाठक २०७२ सालको भुकम्पपछि घटेको हो । तर यसको संरचना व्यवस्थित गरेपछि पाठक बढ्ने अपेक्षा हामीले गरेका छौं ।

पुस्तकालयमा पाठक बढाउन के उपाय सोचिरहनु भएको छ ?
हाम्रो योजना के छ भने पाठक मात्र पुस्तकालयमा पुुग्नुपर्छ भन्ने होइन । पुस्तकालय पनि पाठक खोज्दै जानुपर्छ । त्यसको लागि काम सुरू गरिसकेका छौं । अब सबैले केशर पुस्तकालयको पुस्तक सहज रूपमा पढ्न पाउने सिस्टम लागु गर्दैछौं ।

Logo