लुम्बिनी गुरुयोजनाका विषयमा पर्यटन मन्त्री र सरोकारवालाहरूबीच छलफल

लुम्बिनी गुरुयोजनाका विषयमा पर्यटन मन्त्री र सरोकारवालाहरूबीच छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ । विश्वकै बौद्ध धर्मावलम्बीका लागि आस्थाको केन्द्र विश्व शान्तिका महानायक गौतमबुद्धको जन्मस्थान लुम्बिनीको योजनाबद्ध विकासको अभियान चार दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन । यही विषयमा केन्द्रित रहेर आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सभाकक्षमा मन्त्री योगेश भट्टराई र सरोकारवालाहरूबीच छलफल भएको छ । छलफलमा सरोकारवालाहरूले मन्त्री भट्टराईसमक्ष गुरुयोजना सम्पन्न हुन ढिलाइ भएको बारे जिज्ञासा राखेका थिए ।

छलफलका क्रममा सहभागीहरूको जिज्ञासा समाधान गर्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा लुम्बिनी विश्व र शान्तिनगरको कार्यान्वयन अब सरकार लागिपर्ने बताए । गुरुयोजना अनुसार काम सुरु भइसकेको र अब कार्य सम्पन्न गर्न प्रदेश र स्थानीय सरकारको सहकार्यमा सरकार अग्रसर रहेर काम गर्ने बताए ।

छलफल कार्यक्रममा ‘प्लानिङ द ग्रेटर लुम्बिनी एरिया’ नामक पु्स्तक समेत सार्वजनिक गरिएको छ । पर्यटन मन्त्रीसामु गुरुयोजनाअनुसार सम्पन्न हुन बाँकी कार्य लगायतका विषयमा लुम्बिनी विकास कोषले प्रतिवेदन प्रस्तुत गरेको थियो । योजनाअनु्सार सम्पन्न हुन बाँकी रहेका कामहरूमा वाटर टावर तथा वाटर सप्लाई सिस्टम, उ थान्त अडिटोरियम हल, दुई तल्ला डोम आकारका बन्ने लुम्बिनी सङ्ग्रहालयका थप ६ वटा भवन, गुरुयोजना अनुशार विद्युतीकरणको कार्य, टेलीकम्युनीकेसनको कार्य, विभिन्न सडकहरू, ढल निकास व्यवस्थापन र विभिन्न पोखरी निर्माण एवं सौन्दर्यीकरणका कार्यहरू सम्पन्न हुन बाँकी छन् ।

लुम्बिनीको विकासमा धेरै महत्वपूर्ण काम भए पनि गुरुयोजना शुरु भएको चार दशकको अवधिमा गुरुयोजनाअनुसारको विकासमा सन्तोषजनक फड्को मार्न नसकेको सहभागीहरूको गुनासो थियो । सन् १९६७ अप्रिल २३ तारेखमा राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्तले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न गुरुयोजना तयार गरी विकास गर्ने सोच बनाएका थिए । उनले विश्वविख्यात जापानी वास्तुविद् प्रो केन्जो टांँगेलाई गुरुयोजना बनाउने जिम्मा दिएका थिए ।

बृहत् गुरुयोजनाले लुम्बिनीमा राष्ट्रिय/अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्परालाई झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वलाई संरक्षण गरी अन्तर्राष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलको रूपमा संरक्षण र संवर्धन गर्ने लक्ष्य राखेको छ ।

विश्वकै बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र तथा सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजना पुरातात्विक क्षेत्र पवित्र उद्यान, अन्तर्राष्ट्रिय बौद्ध विहार क्षेत्र र नयाँ लुम्बिनी गाउँसमेत गरी मुख्यतः यो भूखण्डलाई तीन क्षेत्रमा विभाजन गरिएको छ । राष्ट्रिय गौरवको परियोजनाको रूपमा रहेको यो परियोजनाको गुरुयोजनाअनुरूप निर्माण गर्नुपर्ने कतिपय संरचना निर्माण भइसकेका छन् भने कतिपय महत्वपूर्ण संरचना निर्माणका क्रममा छन् ।

Logo