ऐतिहासिक महत्व रहेको दहचोक गढी अहिले अस्तित्व नै हराउने गरि भत्किएका कारण पतन भएको छ ।

यसको महत्व र संरक्षण तर्फ कसैले चासो नदेखाएका कारण गढी अहिले पतन भएको हो । "/>

काठमाडौँमा स्विजरल्याण्ड पार्क

काठमाडौँमा स्विजरल्याण्ड पार्क

केन्द्रबिन्दु
0
Shares

ऐतिहासिक महत्व रहेको दहचोक गढी अहिले अस्तित्व नै हराउने गरि भत्किएका कारण पतन भएको छ ।

यसको महत्व र संरक्षण तर्फ कसैले चासो नदेखाएका कारण गढी अहिले पतन भएको हो । वि.सं. १८२० साल तिर तत्कालिन नेपालका राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरणको शिलशिलामा काठमाडौं उपत्यका विजय गर्न आफ्ना सेनाहरु तैनाथ गर्ने उद्देश्यले निर्माण गराएको दहचोक गढी अहिले पुरै भग्नावशेषमा परिणत भएको छ । गढी भत्किएपछि अहिले यसका ऐतिहासिक दस्तावेजहरु पुरिएका मात्र छैनन्, त्यो ठाउँमा गढी थियो र भन्ने सम्मको अवस्था आएको छ ।

राजधानीको कलंकीबाट करिब दश किलोमिटरको पश्चिम यात्रापछि पुगिने यस ठाउँबाट काठमाडौं उपत्यकाको पुरै दृष्य अवलोकन गर्न सकिन्छ । पर्यटकिय दृष्टिकोणबाट पनि महत्वपुर्ण रहेकोे यो ठाउँको रेखदेख तथा संरक्षण गर्न स्थानीय वासिन्दा तथा अन्य सरोकारवाला निकाय कसैले पनि खासै ध्यान पु¥याएका छैनन् । यसको संरक्षण भन्दा पनि यही किल्ला रहेको ठाउँमा अहिले आधुनिक मोडेलको रेष्टुरेण्ट निर्माण गर्ने उद्देश्यले त्यहाँ उत्खनन् गर्न थालिएको छ । उत्खनन्बाट तत्कालिन केही अवशेषहरु भेटिए पनि ती के हुन र के का लागि प्रयोग गरिएका थिए भन्ने जानकारी पाउन नसकिएकोे स्थानियवासीहरुले बताएका छन् । गढी नजिकै तत्कालिन राजा पृथ्वीनारायण शाहका सेनापति कालुपाण्डे किर्तिपुरको युद्धमा मारिएपछि उनको टाउकोलाई किर्तिपुरेहरुले खाडल खनेर गाडेको भनिएको ठाउँ पनि रहेको छ ।

यति मात्र होइन नजिकै इन्द्रताल पनि रहेको छ । यस तालको पानी तत्कालिन गोर्खाली सेनाहरुले प्रयोग गर्थे भनिए पनि अहिले तालमा पानी सुकेको छ । यसको महत्व बुझ्न नसकिएका कारण इन्द्रताल र दहचोकगढी लोप हुने अवस्था आएकोमा स्थानियवासीहरु चिन्तित् छन् । रामकोटका वासिन्दा प्रमोद भण्डारी भन्छन्– “यसलाई अझैपनि संरक्षण गर्न सकिएको भए ऐतिहासिक विषयहरुको जर्गेना हुने मात्र थिएन, रामकोट, दहचोक, स्युचाटार, कलंकी र आसपासका वासिन्दा तथा अन्य स्वदेशि र विदेशि पर्यटकका लागि उपयुक्त गन्तव्य पनि हुने थियो ।” स्थानियवासीहरुले खासै चासोको रुपमा नलिएको र संरक्षण गर्ने अन्य निकाय नभएकै कारण दहचोक गढीको पतन भएको उनले जानकारी गराए ।

तर पनि यस गढी नजिकै अहिले आधुनिक ढाँचाको स्वीजरल्याण्ड पार्कको निर्माण गरिएको छ । राजधानीको कोलाहलयुक्त वातावरणबाट केहि समयका लागि आनन्द लिउँ र घुमफिर पनि गरौं भन्नेहरुको अहिले यस पार्कमा भिड लाग्ने गरेको छ । यहाँ पीकनिक जानेहरु पनि वढेका छन् । नजिकै निर्माण गरिएको विन्धवासिनी मन्दिरले भने यहाँको पर्यटकिय संभावनालाई बलियो बनाएको छ ।

स्थानीय प्रशासन र सम्बन्धित वडाहरुले दहचोक गढी संरक्षण गर्ने अभियान चलाएको भए डेढदशक अगाडिसम्म यो गढी भत्किएको थिएन । त्यतिखेर पनि यसलाई जोगाउन सकिन्थ्यो । तर जंगलको वीचमा भएको र त्यहाँ पुग्न गाउँबाट करिव ३ घण्टाको उकालो जानु पर्ने र एकदशक अगाडि सम्म देशमा माओवादी जनयुद्धले निरन्तरता पाएका कारण स्थानियवासिहरुलाई जंगल पस्न प्रतिबन्ध गरिएपछि यो गढी पतन भएको वडा कार्यालय दहचोकले जनाएको छ ।

दहचोकगढी आसपासको क्षेत्रमा रहेको हरियाली वनले जो सुकैलाई पनि आकर्षित गर्छ । अझ चैत बैशाखमा यहाँ फुल्ने लालीगुराँस र फल्ने काफलका लागि त यो ठाउँ उपत्यका नजिकैको मुख्य गन्तव्य नै हो । यहाँ विशेषगरि पर्यटकिय सम्भावना नै धेरै छ । यसका साथै जंगलहरुमा हुन सक्ने खानी र इतिहासका कुराहरुलाई कसैले पनि खासै महत्व दिएको पाईंदैन । यद्यपी यहाँको महत्वलाई दर्शाउन र इतिहासलाई जोगाउन पाए हुन्थ्यो भन्ने युवा जमातहरु भने अझै छन् ।

काठमाडौंका साविकका गाविसहरु दहचोक, रामकोट तथा स्युचाटारको मुख्य गन्तव्य रहेको दहचोक गढी जस्तै देशका अन्य ऐतिहासिक धरोहरहरु संरक्षणकै अभावमा पतन हुने अवस्थामा पुगि सकेका कारण यतातिर पनि सरकारको ध्यान जाने हो भने यस्ता विषयहरुलाई अवश्य पनि जोगाउन सकिने अर्का स्थानीय विनोद दवाडीको भनाई छ । अहिले यस गढी भएको भनिएको उक्त ठाउँ नजिकै प्रत्येक वर्ष उल्लेखित गाउँहरुबाट देवाली पूजा गरिने गरिएको पनि विनोदले बताए । घुमफिरका लागि उपयुक्त गन्तव्य रहेको दहचोकबाट धेरै फाइदा उठाउन सकिने सम्भावना भएपनि यसको महत्व नबुझ्नुमा स्थानीयहरुकै चासो नहुनु र बेवास्ता मुख्य कमजोरी रहेको विनोदले स्विकार गरे ।

 

Logo