पर्यटन क्षेत्रका छाता संगठनहरुद्वारा पर्यटकलाई अनिवार्य क्वारेन्टाइन व्यवस्था हटाउन माग

पर्यटन क्षेत्रका छाता संगठनहरुद्वारा पर्यटकलाई अनिवार्य क्वारेन्टाइन व्यवस्था हटाउन माग

केन्द्रबिन्दु
0
Shares

पर्यटन क्षेत्रका छाता संगठनहरुले संयुक्तरूपमा स्वास्थ्य राज्यमन्त्रीलाई विभिन्न माग राख्दै मंगलबार ज्ञापन पत्र बुझाएका छन्।

कोरोनाले गर्दा करिब २ वर्षदेखि ठप्प र शिथिल बनेको पर्यटन क्षेत्रको पुनर्स्थापन तथा व्यवसाय निरन्तरताको लागि खोप मात्रै एक विकल्प रहेको बताउँदै सङ्गठनहरुले छिटोभन्दा छिटो सबै जनतालाई खोप लगाउने वातावरण मिलाउन मन्त्री उमेश श्रेष्ठलाई आग्रह गरेका हुन्।

नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै व्यवसायीहरुले खोपको मात्रा पुरा लगाएका र नेपाल घुम्न चाहने पर्यटकलाई पिसिआर गराई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउन माग गरेका छन्।

कोरोना पोजेटिभ देखिएका पर्यटकलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेपनि नेगेटिभ रिपोर्ट आएका पर्यटकलाई सहजताका साथ नेपाल घुम्ने वातावरण मिलाई पर्यटन क्षेत्रलाई पुनः सुचारु गर्नुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन्।

त्यसैगरी स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन गर्न र प्रभावकारी बनाउन देशव्यापीरूपमा तालिम तथा अनुगमनको व्यवस्था गरिनुपर्ने उनीहरुले माग गरेका छन्।

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको समस्यासँग आफू जानकार रहेको र फ्रन्टलाइनरलाई खोप लगाउन कसरत गरिरहेको बताएका छन्।  क्वारेन्टाइनको व्यवस्था हटाउन आफूले पनि कुरा राखिरहेको र केही दिनभित्रमा नै निर्णय गरेर सूचना निकालिने राज्यमन्त्री बताए। 

पर्यटन व्यवसायीको माग जायज भएको र आर्थिक हिसाबले यस क्षेत्रले भोग्नुपरेको समस्यालाई छिट्टै नै सम्बोधन गरिनेसमेत मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाएका छन्। विशेष पर्यटकिय गन्तव्यस्थलका सर्वसाधारणहरुलाई केन्द्रित गरेर खोप लगाउने र पर्यटकिय गन्तव्यहरुलाई खुलाउन आफू दृढ भएको र योजना बनाएर काम गरिरहेकोसमेत उनले जानकारी गराएका छन्। 

पर्यटन क्षेत्रसँग आबद्ध यी संस्थाहरुले बारम्बार क्वारेन्टाइन हटाउनुपर्ने र खोपको माग गर्दै ज्ञापनपत्र बुझाउँदै आएका छन् तर कुनै पनि मन्त्री तथा मन्त्रालय र सरकारले सकारात्मक निर्णय गरेको देखिँदैन।

सेप्टेम्बर र अक्टोबरमा पनि पर्यटकीय क्षेत्र र संस्थाहरु खुलेनन् भने पर्यटन व्यवसायीहरु पलायन हुने अवस्थामा पुगिसकेको र व्यवसायी पलायन हुँदा यहाँबाट रोजगारी पाएका जनशक्तिसँगै सबैको लगानी नै खतरामा पर्ने टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताए।

नाटाका अध्यक्ष अच्युत गुरागाईंले व्यवसायीहरु सूचनाबाट टाढिनु परेको र गलत सूचनाको शिकार हुनुपरेको कुरा जानकारी गराउँदै सीसी एमसीको टीममा एक जना भएपनि पर्यटन व्यवसायीलाई समेटन आग्रह गरे।

Skip This
Logo