बन्द भएको २० वर्षपछि बल्ल बन्दै मझगाउँ विमानस्थल (भिडियाे)

बन्द भएको २० वर्षपछि बल्ल बन्दै मझगाउँ विमानस्थल (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

२०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाँउ विमानस्थल झण्डै दुई दशकपछि निर्माण कार्य सुरु भएको छ । लामो समयदेखि बेवारिसे बनेको विमानस्थलको पुनर्निर्माण सुरु भएसँगै स्थानीय पनि खुसी भएका छन् । बेवारिसे विमानस्थल पछिल्लो समय गाईबस्तुको चरन क्षेत्र मात्रै बन्दै आएको थियो । ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा विमानस्थल निर्माणको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभिले लिएका हुन् । तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।  

अहिले विमानस्थलको धावन मार्गको रोलिङ र फिलिङको काम भइरहेको छ । विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थलको पहिलो चरणमा १५ सय २५ मिटर क्षेत्रमा धावन मार्ग निर्माण गरिनेछ । 

विमानस्थल निर्माणका लागि स्थानीयले पनि सहमति जनाएका छन् । विमानस्थल निर्माणपछि पर्यटकीय विकास तथा यहाँका जनताले रोजगारी पाउनेछन् । 

महेन्द्रनगर सदरमुकाम क्षेत्रबाट यहाँका स्थानीय नागरिकले राजधानी काठमाडौं जान कैलाली स्थित धनगढी विमानस्थल जानु पर्ने बाध्यता छ । विमानस्थल ५० प्रतिशत नागरिक उड्डयन प्राधिकरण, २५ प्रतिशत सूदूरपश्च्मि प्रदेश, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधारा चाँदनी नगरपालिकाको लगानीमा निर्माण सुरु भएको हो । निर्माण पछि मझगाउँ विमानस्थल काठमाडौंबाट हुने सबैभन्दा लामो हवाई दुरीमा पर्नेछ ।

 

Logo