अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्यो, दैनिक दुई सय बढी पर्यटकद्वारा पदयात्रा

अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्यो, दैनिक दुई सय बढी पर्यटकद्वारा पदयात्रा

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस र बाढीपहिरोको बितण्डाले ठप्प भएकाे लमजुङकाे पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएकाे छ। झण्डै दुई वर्षपछि यहाँ पदयात्रा गर्ने पर्यटक आएका हुन्। दैनिक दुई सयभन्दा बढी पर्यटकले अचेल यहाँ पदयात्रा गर्ने गरेका छन्। अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने वाह्य पर्यटक केही समययता बढ्दै गएका हुन् ।

पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायीमा उत्साह छाएकाे छ। मंसिर र पुसमा हिमपातका कारण सुस्ताएको भए पनि अहिले चहलपहल बढ्न थालेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए।

पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ। अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ। दुई वर्षसम्म कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको पर्यटन व्यवसायी पारु गुरुङ बताउँछिन्।

अन्नपूर्ण पदमार्गमा विशेषगरि इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढी आउने गरेका छन्। अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख गौतमले बताए। बेंसीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगत हुँदै मनाङको बगरछाप पुगेर चामे र थोराङपास हुँदै मुक्तिनाथ, जोमसोम, बेनी, घोडेपानीको बाटो भएर पोखरा पुगिन्छ।
 

Logo