कोशीमा फ्लोर क्रस भएपछि देउवासँग बिच्किए प्रचण्ड, अध्यागमन कार्यालय प्रमुखमाथि नै कुटपिट [भिडियाे]

कोशीमा फ्लोर क्रस भएपछि देउवासँग बिच्किए प्रचण्ड, अध्यागमन कार्यालय प्रमुखमाथि नै कुटपिट [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

कोशीमा फ्लोर क्रस भएपछि देउवासँग बिच्किए प्रचण्ड

कोशीमा भएको फ्लोर क्रसको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असन्तुष्टि जनाएका छन्। गठबन्धनबाट फ्लोर क्रस भएपछि गठबन्धनतर्फ माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले राप्रपा गठबन्धनको तर्फबाट एमालेकी रुक्मिणी कोइरालाले जित निकालेपछि प्रचण्डले असन्तुष्टि जनाएका हुन्।

देउवाले गरेको फोनमा प्रचण्डले आफूहरू इमान्दार हुँदा पनि कांग्रेसबाट पटकपटक भएको घातलाई गम्भीर रूपले लिएको भन्दै असन्तुष्टि जनाएको स्रोतले बतायो। प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘राष्ट्रियसभाको निर्वाचनमा मात्रै होइन, पटक पटकको निर्वाचनमा कांग्रेसबाट घात हुँदै आइरहेको छ । हामी इमान्दार हुने, तर कांग्रेसबाट घात भयो। ’प्रचण्डले असन्तुष्टि जनाएपछि देउवाले जवाफमा भने– शेखरले हो शेखरले ।देउवाको जवाफपछि प्रचण्डले शेखर होस् वा गगन जसले भएपनि कारबाही गर्न भनेका छन्।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले गर्याे हातपात

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ ।शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भयो ।अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए ।त्यो विवादका क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको अध्यागमन अधिकृत मोक्तानले बताए ।

मालपोत अधिकृत लेखा पनेरु महत घुस प्रकरणमा दोषी ठहर

मालपोत अधिकृत लेखा पनेरु महत घुस प्रकरणमा दोषी ठहर भएकी छन् ।ताप्लेजुङ मालपोतकी तत्कालीन अधिकृत लेखालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो ।विशेष अदालतले शुक्रबार लेखालाई ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको छ ।पक्राउ पर्नुअघि निजामतीतर्फ उत्कृष्ट काम गरेको भन्दै उनले राष्ट्रपतिबाट तक्मा लिएकी थिइन्

एकीकृत समाजवादीले माघ १४ देखि १५ सम्म बस्ने केन्द्रीय परिषद् बैठकमा खाली रहेको केन्द्रीय परिषद सदस्य मनोनयन गर्ने

नेकपा एकीकृत समाजवादीले माघ १४ देखि १५ सम्म बस्ने केन्द्रीय परिषद् बैठकमा खाली रहेको केन्द्रीय परिषद सदस्य मनोनयन गर्ने निर्णय गरेको छ।आज बसेको सचिवालय बैठकले खाली रहेको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने निर्णय गरेको हो।लम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोम पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकिएको छ। गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सहइन्चार्जको जिम्मेवारी तोकिएको छ।यस्तै, गण्डकी प्रदेश कमिटीका कार्यबाहक अध्यक्ष रहेका श्रीनाथ बरालाई अध्यक्ष मनोनयन गर्ने, लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुको राजीनामा स्वीकृत गर्दै रिक्त स्थानमा अशोक कोइरालालाई चयन गर्ने निर्णय गरेको छ

पार्टी नेताहरुलाई १६ माघमा अनिवार्य आ–आफ्नो वडामा पुग्न गगन थापाकाे निर्देशन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेताहरुलाई १६ माघमा अनिवार्य आ–आफ्नो वडामा पुग्न निर्देशन दिएका छन् ।सहिद दिवसको अवसर पारेर १६ माघमा कांग्रेस ६ हजार ७४३ वडामा कार्यक्रम गर्र्र्दैछ । उक्त दिन क्रियाशील सदस्यता भएको आफ्नो वडामा अनिवार्य पुग्न थापाले निर्देशन दिएका हुन । ७८औं पार्टी स्थापना दिवसका अवसरमा प्रमुख अतिथि सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा उनले देउवालाई पनि वडामा जान आग्रह गरे। ‘

चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल पुगिन्

चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छन् । उपप्रमुख सुन माल्दिभ्स र बङ्गलादेशको भ्रमण गरेर तीन दिने भ्रमणका लागि नेपाल आइपुगेकी हुन् ।उनलाई माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र सचिव गणेश साहले स्वागत गरेका थिए । भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट २ जनालाई गर्याे पक्राउ

हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको नयाँबस्ती बस्ने विश्वास राई छन्। नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रकाउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवान १६ वर्षपछि पक्राउ

लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवान १६ वर्षपछि पक्राउ परेका छन् । शुक्रबार मिनभवनमा पत्रकार सम्मेलन गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरवल राय यादवलाई पक्राउ गरेको जानकारी दिइएको हो ।

सेवामा रहेकै बेला उनले २०६४ सालमा लागूऔषध मुद्दामा हिरासतमा रहेका एक भारतीय नागरिकलाई भगाएका थिए । रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो । वीरबलले १६ वर्षको समयमा ९ वटा ट्याक्सी किनिसकेका छन्। एउटा अझै पनि उनैले चलाउँछन्, अन्य चलाउन अरूलाई लगाएका छन्।

काठमाडौंको बानेश्वरमा ह्युम (ढल) पाइपबीच अन्तर (ग्याप) हुँदा सडक भासिएको पाइयाे

काठमाडौंको बानेश्वरमा ह्युम (ढल) पाइपबीच अन्तर (ग्याप) हुँदा सडक भासिएको पाइएको छ ।शुक्रबार रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला एक्कासि भासिएको थियो । सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको थियो ।यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।

१५ पात्रोलाई स्वीकृति, माघ १५ देखि बजारमा आउने
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो लाई स्वीकृति दिएको छ । समितिले आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रोलाई स्वीकृति दिने निर्णय गरेको हो । समितिले विसं २०७९ देखि प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ लाई पनि निरन्तरता दिइने जनाइएको छ । यी पात्रोहरु माघ १५ देखि बजारमा आउनेछन्।


व्यापार व्यवसायी संघर्ष समितिले ७ बुँदे माग राख्दै काठमाडौं महानगरपालिकाविरूद्ध चरणबद्ध आन्दोलनकाे गर्याे घोषणा

संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले ७ बुँदे माग राख्दै काठमाडौं महानगरपालिकाविरूद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।अभियन्ता ईः सँग भएको सम्झौता विपरीत महानगरले फुटपाथ व्यवसायीमाथि गरेको धरपकडविरुद्ध संघर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

युक्रेनमा रुसी क्षेप्यास्त्र प्रहार हुँदा १८ जनाको मृत्यु

युक्रेनको राजधानी कीएभ र उत्तरपूर्वी खार्किभसहित विभिन्न स्थानमा सोमबार बिहान रुसी क्षेप्यास्त्र प्रहार हुँदा १०० भन्दा बढी घाइते हुनुका साथै कम्तीमा १८ जनाको मृत्यु भएको छ ।खार्किभ अभियोजकको कार्यालयले शुक्रबार ६१ वर्षीया एक महिलाको मृत्यु भएको र उक्त सहरमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जनाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा प्रतिकार गर्ने प्रतिबद्धता जनाएका छन् ।

आकाश चन्द बने यू–१९ विश्वकपमा टेस्ट टोलीविरुद्ध पाँच विकेट लिने पहिलो नेपाली खेलाडी

नेपालका तीव्र गतिका बलर आकाश चन्दले आईसीसी यू–१९ विश्वकप २०२४ मा अफगानिस्तानविरुद्ध कीर्तिमानी बलिङ गरेका छन् । उनी यू–१९ विश्वकपमा टेस्ट टोलीविरुद्ध पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।

त्यस्तै उनी नेपालबाट य–ू१९ विश्वकपमा पाँच विकेट लिने पहिलो तीव्र गतिका बलर पनि बनेका छन् । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानलाई १४५ रनमा अल आउट आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिएका हुन् । टेस्ट टोलीविरुद्ध यो नेपाली बलरको उत्कृष्ट प्रदर्शन हो ।

Logo