हिंसा बढेपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा

हिंसा बढेपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पदबाट राजीनामा दिएका छन्। क्यारेबियन राष्ट्र हाइटीमा पछिल्लो समय लगातार हिंसा र लुटपाटका घटनाहरु बढेपछि प्रधानमन्त्री हेनरीले पदबाट राजीनामा दिएका हुन्।

विद्रोही पक्षले अहिले राजधानीको ८० प्रतिशत भू-भागमा नियन्त्रण गरेको दाबी गरिरहेका बेला हेनरीले शान्ति सु-व्यवस्था कायम गराउनका लागि आफू पदबाट पछि हट्न तयार रहेको बताएको अल जजिराले जनाएको छ। पदबाट राजिनामा दिएपछि अब नयाँ सरकार नबन्दासम्म हेनरी कार्यबहाक प्रधानमन्त्रीको रुपमा रहने छन्।

उनले एक भिडियो सन्देश जारी गर्दै संक्रमणकालीन परिषद् स्थापना गर्ने र उक्त परिषद्ले प्रधानमन्त्री र नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने बताए। आफू हाइटीको हान्ति र स्थिरता चाहने व्यक्ति भएकाले पदबाट पछि हट्न तयार रहेको उल्लेख गरे।

हाइटीमा हिंसा लगातार बढेपछि केन्या पुगेका प्रधानमन्त्री हेनरी उतैबाट अमेरिका गएका थिए। विद्रोही समूहले राजधानी पोर्ट-ओ-प्रिन्सको अन्तर्राष्ट्रिय विमानस्थलसमेत कब्जामा लिएपछि फर्किन पाएका थिएनन्। उनले उतैबाट भिडियो सन्देश जारी गरेका हुन्।

हेनरी अहिले अमेरिकाको पोर्टो रिकोमा रहेको बताइएको छ। हाइटीमा हिंसाका कारण त्यहाँका ३ लाख ६२ हजार नागरिक विस्थापित भएका छन्।

Logo