भूकम्पका कारण हिमाली क्षेत्रमा फसेका पर्यटकको उद्धार

भूकम्पका कारण हिमाली क्षेत्रमा फसेका पर्यटकको उद्धार

केन्द्रबिन्दु
112
Shares

हुलियान, ताइवान । विनाशकारी भूकम्पका कारण सडक तथा सुरुङ मार्ग अवरुद्ध भएपछि ताइवानको पहाडी तथा हिमाली क्षेत्रमा केही दिनदेखि अलपत्र परेका सयौं पर्यटक तथा सर्वसाधारणलाई हवाइ मार्गबाट उद्धार गर्न सुरू गरिएको छ ।

ताइवानी हेलिकप्टरले पर्यटकलाई सुरक्षित स्थानमा पु-याउन शनिबार उडान भरेका छन् । ताइवानमा बुधबार गएको ७.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार १०० भन्दा बढी घाइते भएका छन् ।

भूकम्पका कारण ठूलो पहिरो खसेको थियो जसका कारण ताइवानको पूर्वपश्चिम राजमार्गको सुरुङ र घुमाउरो सडकको लामो खण्ड अवरुद्ध भएको थियो भने पहाडी भिरालो जमिनमा कोरिएका उत्तरदक्षिण क्षेत्रका तटीय मार्ग पनि अवरुद्ध भएका थिए ।

राजधानी ताइपेइबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको हुलियानमा भूकम्पपछि शनिबार बिहान ५.२ म्याग्नीच्यूडसहितका ३०० भन्दा बढी पराकम्प गएका छन् ।

तर नेसनल एयरबोर्न सर्भिसका हेलिकप्टरहरूले तारोको राष्ट्रिय निकुञ्ज नजिकैको प्रभावित क्षेत्रमा उद्धारका लागि उडान भरिरहेका छन् । एएफपीका एक कर्मचारीले एउटा विमानमा १२ जना र अर्को उडानमा १६ जना सवार रहेको देखेका थिए ।

ताइवानीे समाचार संस्था ‘इटी टुडे’ का अनुसार वृद्धवृद्धा, कमजोर, महिला, बालबालिका र दीर्घरोग भएका व्यक्तिलाई उद्धारका क्रममा पहिलो प्राथमिकता दिइएको छ ।

पहाडी क्षेत्रमा रहेको सिल्क्स प्लेस होटलबाट करिब ४०० भन्दा बढी पर्यटक र कर्मचारीहरू फसेका स्थानबाट उद्धार भएकाहरू सबै जना थकित देखिए पनि सबैले उद्धारका लागि खुशी व्यक्त गरेका छन् । उनीहरूले आफन्त तथा साथीहरू अझै माथिल्लो भागमा फसेको बताउँदै उनीहरूको उद्धारमा तदारूकता देखाउन आग्रह गरे ।

झोउ नाम गरेका एक पास्टरले स्थानीय सञ्चारमाध्यमसँग बुधबारको भूकम्प पछि पनि धेरै पराकम्पनहरू आएका र यसले उद्धारको पखाईमा पहाडी क्षेत्रमा रहेका पर्यटक तथा सर्वसाधारणलाई निकै निराश बनाएको बताए । पराकम्प पनि निकै ठूला र भयानक महशुस गरिएको थियो ।

उनले भने, “म सुतिरहेको बेला भूकम्प आयो, म असाध्यै आत्तिएँ तर परमेश्वरको कृपाले गर्दा म आशावादी बने र आफ्नो डरलाई दूर गर्न सफल भएँ ।”

उद्धारकर्ताहरूले दुर्गम प्राथमिक विद्यालयका विद्यार्थी, शिक्षक र बासिन्दाहरूको समूहलाई खाना र आपूर्तिका बाकसहरू पनि हवाई मार्ग हुँदै ठाउँठाउँमा खसालेका थिए ।

अन्य क्षेत्रमा पनि इञ्जिनियरहरूले सडक र सुरुङको प्रवेशद्वारबाट ठूला ठूला ढुङ्गाहरू हटाउन चौबिसै घण्टा काम गरिरहेका स्थानीय सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

ताइवानका नवनिर्वाचित उपराष्ट्रपति सियाओ बि–खिमले शुक्रबार भने, “उद्धारकर्ताहरूले हार मानेका छैनन् । रातदिन काम गरिरहेका छन् ।”

ताइवानमा सन् १९९९ मा गएको ७.६ म्याग्नीच्यूडको भूकम्पपछि बुधबारको भूकम्प सबैभन्दा शक्तिशाली भूकम्प हो । त्यस समय मृत्यु हुनेको सङ्ख्या निकै बढी थियो । सम्भवता ताइवानको इतिहासकै सबैभन्दा घातक प्राकृतिक प्रकोप थियो । उक्त भूकम्प र यसबाट सिर्जित प्रकोपका कारण करिब दुई हजार ४०० जनाको मृत्यु भएको थियो ।

भवन कोडहरूमा बढ्दो भूकम्पीय आवश्यकतासहित व्यापक सार्वजनिक प्रकोप जागरूकताले यस पटक अधिक गम्भीर विपत्तिबाट निकै कममात्र मानवीय क्षति भएको देखिन्छ । भूकम्पजन्य प्रकोपबाट हुने क्षतिलाई कम गर्न बनेको राष्ट्रिय निकायले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा भूकम्पका कारण ८४ वटा भवनमा ठूलो क्षति पुगेको उल्लेख छ । -एएफपी

Logo