टिकटकका मालिकको मुनाफा ६० प्रतिशतले बढ्योः ब्लुमबर्ग

टिकटकका मालिकको मुनाफा ६० प्रतिशतले बढ्योः ब्लुमबर्ग

केन्द्रबिन्दु
154
Shares

बेइजिङ। टिकटकको मालिक बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको र यसले अनलाइन प्रतिद्वन्द्वीहरू टेनसेन्ट र अलिबाबालाई पछाडि पारेको स्रोतहरूलाई उद्धृत गर्दै ब्लुमबर्गले बुधबार बताएको छ।

बाह्र वर्षअघि बेइजिङ अपार्टमेन्टमा आफ्नो जन्मपछि बाइटडान्स विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनीमध्येको एकमा विकसित भएको छ । बाइटडान्सलाई अधिकांश मुलुकमा भिडियो एप टिकटकको निर्माताका रूपमा चिनिन्छ।

मार्केट इन्टेलिजेन्स फर्म सिपी इनसाइट्सका अनुसार हालैका वर्षहरूमा कम्पनी विश्वको सबैभन्दा मूल्यवान् प्राविधिक कम्पनीमध्ये एक बन्न सफल भएको छ । यसको मूल्य करिब दुई खर्ब २५ अर्ब डलर भएको छ।

‘यस विषयमा परिचित मानिसहरू’ लाई उद्धृत गर्दै ब्लुमबर्गको रिपोर्टमा ब्याज, कर, मूल्य ह्रास र ऋणमुक्तअघि कम्पनीको आम्दानी सन् २०२२ मा करिब २५ अर्ब डलरबाट बढेर ४० अर्ब डलरभन्दा धेरै पुगेको उल्लेख छ। रिपोर्टमा बिक्री पनि ८० अर्ब डलरबाट बढेर करिब एक खर्ब २० अर्ब डलर भएको बताइएको छ।

रिपोर्टको नतिजाअनुसार बाइटडान्सले राजस्व र आम्दानी दुवैमा प्रतिद्वन्द्वी टेनसेन्टलाई पहिलो पटक उछिनेको छ। ब्लुमबर्गले आन्तरिक आँकडाहरूको स्वतन्त्ररूपमा लेखापरीक्षण गरिएको थिएन भनेको छ। बाइटडान्ससँग सम्पर्क गर्दा उसले ‘बजारका अनुमानहरू’ माथि टिप्पणी नगर्ने बतायो।

कम्पनीले सन् २०१७ मा टिकटक लन्च गरेको थियो र एपको सन्सारमा यसले तहलका मच्चाएको छ। चार वर्षमा यसले एक अर्ब प्रयोगकर्ताको आँकडा पार गरेको छ। एप डुइयानको अन्तर्राष्ट्रिय संस्करण थियो। यसलाई सन् २०१६ मा चीनमा जारी गरिएको थियो र अहिले यसका करोडौँ प्रयोगकर्ता छन्।

ती एपहरूको विस्फोटक वृद्धिका कारण बाइटडान्सले इ–कमर्स र यात्रा बुकिङमा विस्तार गरेको छ र एउटा भिडियो सम्पादन एप पनि जारी गरेको छ। चिनियाँ यस कम्पनीले विश्वभरका करिब एक सय २० सहरमा उसका एक लाख ५० हजारभन्दा धेरै कर्मचारी भएको बताएको छ।

निजी स्वामित्वमा रहेको कम्पनी बाइटडान्सले राजस्व र आम्दानीको आँकडा जारी गर्दैन तर यसको आम्दानीको मिडिया अनुमानले यसलाई विश्वको केही सबैभन्दा ठूला कम्पनीहरूको बराबरीमा राखेको छ।

Logo