न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’

न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’

केन्द्रबिन्दु
266
Shares

वेलिङ्टन । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र यसले प्रशान्त महासागरको पिँधमा एक माइलभन्दा तल शिकार खोज्दछ ।

वेलिङ्टनस्थित नेसनल इन्स्टिच्युट अफ वाटर एन्ड एटमोस्फेरिक रिसर्च (एनआइवाइए) का वैज्ञानिकहरूका अनुसार अस्ट्रेलेसियन न्यारो–नोज्ड–स्पुकफिस अस्ट्रेलिया र न्युजिल्यान्डको गहिरो पानीमा बस्ने पाइएको छ ।

यी नमूनाहरू चाथम राइज क्षेत्रमा गरिएको अनुसन्धानका क्रममा पत्ता लगाइएको थियो । चाथम राइज प्रशान्त महासागरको एक भाग हो र यो न्युजिल्यान्डको दक्षिणी टापू नजिक पूर्वतर्फ करिब एक हजार किलोमिटर फैलिएको छ ।

घोस्ट सार्क वा किमेरा सार्क र किरणहरूसँग सम्बन्धित छन् तर यी माछाको त्यस्तो समूहका अङ्ग हुन् जसको कङ्काल पूर्ण रूपमा नरम हाडले बनेको हुन्छ । स्पुकपिस नामले पनि चिनिने घोस्ट सार्कका काला आँखा र चिल्लो, हल्का खैरो र कत्लारहित छाला हुन्छ ।

तिनीहरूले आफ्नो विशिष्ट चुच्चो जस्तो मुख प्रयोग गरेर दुई हजार छ सय मिटरसम्मको गहिराइमा क्रस्टेसियनहरू खान्छन् ।

अनुसन्धान वैज्ञानिक ब्रिट फिनुक्सीले भने, “यस्ता प्रकारको घोस्ट सार्क धेरै हदसम्म समुद्रको पिँधमा सीमित हुन्छन् ।” उनले यस नयाँ प्रजातिलाई आफ्नी हजुरआमाको सम्झनामा ‘हेरियोटा एभिया’ वैज्ञानिक नाम दिए ।

“तिनीहरूको वासस्थानका कारण तिनीहरूलाई अध्ययन र अनुगमन गर्न कठिन हुन्छ, यसको अर्थ हामी तिनीहरूको जीवविज्ञान वा खतराको स्थितिबारे धेरै जान्दैनौँ तर यसले यस्ता खोजहरूलाई अझ रोमाञ्चक बनाउँछ”, उनले भने ।

वैज्ञानिकहरूले स्पुकफिस आनुवांशिक रूपमा र आकारका आधारमा फरक छ भन्ने पत्ता लगाउनुअघि यसलाई विश्वव्यापी रूपमा वितरित एकल प्रजातिको हिस्सा मानिन्थ्यो । -एएफपी

Logo