श्रीलंकामा जब चिनियाँ राजदूत धोती लगाएर मन्दिर दर्शन गर्न पुगे…

श्रीलंकामा जब चिनियाँ राजदूत धोती लगाएर मन्दिर दर्शन गर्न पुगे…

केन्द्रबिन्दु
0
Shares

दक्षिण एसियामा चीनको उपस्थिति जबरजस्त बढिरहेको छ। आर्थिक, व्यापारिक र द्विपक्षीय सम्बन्धका साथै चीनले सांस्कृतिक रुपमा पनि सम्बन्धलाई प्राथमिकतामा राखेको छ। यसको उदाहरण हालै श्रीलंकामा देखिएको छ। श्रीलंकाका लागि चिनियाँ राजदूत क्वी झेनहोङले धोती लगाएर मन्दिर दर्शन गरेको तस्बिरले पुरै दक्षिण एसियामा चर्चा पाएको छ। यसबाट श्रीलंकामा चीनले सांस्कृतिक डिप्लोमेसी अपनाएको चर्चा भइरहेको छ।

बहुसंख्यक तमिलको बसोबास रहेको उत्तरी श्रीलंकाको भ्रमणमा रहेका चिनियाँ राजदूत झेनहोङले जाफनाको ऐतिहासिक नल्लुर कंडास्वामी कोविल मन्दिरको दर्शन गरेका हुन्। एक हिन्दु श्रद्धालुको भेषभुषामा धोती लगाएर प्रसादको टोकरी बोकेको अवस्थामा मन्दिरमा राजदूत झेनहोङ देखिएका छन्। अर्कोतिर मन्दिरबाहिर उपस्थित भक्तजनलाई फलफूल बाँडिरहेको अवस्था चिनियाँ राजदूत देखिएका छन्।

मन्दिरका अलावा चिनियाँ राजदूत उत्तरी श्रीलंकाका उच्च अधिकारीसँग भेटिरहेका छन्। तर चर्चा भने मन्दिरको दर्शन गरेकोमा भएको छ। यसबाट चीनले धेरै सन्देश दिएको विश्लेषकहरुले बताइरहेका छन्। मुख्य त उत्तरी श्रीलंकाको तमिल बहुल क्षेत्रमा चिनियाँ प्रभाव बढाउनु रहेको श्रीलंकाका विश्लेषक एस सतीसमोहनको बुझाई छ। हिन्दु मन्दिरमा हिन्दु भेषभुषामा जानु भारतका लागि चीन पनि उत्तरी श्रीलंकामा आएको सन्देश भएको उनी बताउँछन्। 

तमिलनाडुसँग विशेष सम्बन्ध भएको उत्तरी श्रीलंकामा भारतको राजनीतिक र सांस्कृतिक प्रभाव छ। पछिल्लो समय श्रीलंकामा चिनियाँ लगानी निरन्तर बढिरहेको छ। अब चीनले उत्तरी श्रीलंकामा आफूलाई केन्द्रीत गरेको र यसैअन्तर्गत सांस्कृतिक डिप्लोमेसी अपनाएको विश्लेषण हुन थालेको छ।

खासगरी चीनको यो कदमलाई भारतमा चिन्ताका रुपमा हेरिएको छ। भारतीय राजनीतिमा चिनियाँ राजदूतको धार्मिक गतिविधिले चर्चा पाएको छ।

तस्बिर : चिनियाँ राजदूतावास, कोलम्बो।

Logo