काचो केरामै विषादी

काचो केरामै विषादी

केन्द्रबिन्दु
21
Shares

झापा । बिर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत बिर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा आज बिहान इलामको दानाबारीका किसान कमल मगरले ल्याएको ७० घरी काँचो केराको तीन नमूना परीक्षण गरिएको थियो ।

ती नमुनामध्ये दुई नमुनामा कार्बामेट कीटनाशक विषादीको उच्च मात्रा फेला परेको प्रयोगशालाका प्रमुख अम्बिका बोहोराले बताए । उनका अनुसार काचो केराको दुई नमुनामा कार्बामेटको रोकावट प्रतिशत ५२.८५ र ५३.११ पुष्टि भएको छ । अर्को एक नमूनामा भने ४४.७६ प्रतिशत कार्बामेट भेटिएको छ ।

तरकारी तथा फलफूलमा कार्बामेटको रोकावट प्रतिशत ४५ भन्दा उच्च फेला परेमा उपभोग अयोग्य ठहरिने हुँदा त्यसलाई विसर्जन गरिनुपर्ने प्राविधिक बोहोराले बताए । विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भेटिएको तरकारी तथा फलफूललाई केही दिन क्वारेन्टाइनमा राखेर पर्खेर हेर्नुपर्ने उनले जानकारी दिए । काचो केराको विषादी अवशेष जाँच गर्दा अर्गानो फस्फेट कीटनाशक विषादीको मात्रासमेत उच्च पाइएको छ । अर्गानो फस्फेटको मात्रा २७ देखि ३५ प्रतिशतसम्म फेला परेको छ ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक नगेन्द्र सङ्ग्रौलाले उपभोग अयोग्य पुष्टि भएका तरकारी तथा फलफूललाई नष्ट गरिने र पर्खेर हेर्नुपर्ने भएमा कृषि थोक बजारकै क्वारेन्टाइनमा केही दिन राखेर पुनः विषादी अवशेष परीक्षण गरिने बताए । केहीदिन अघि कृषि थोक बजारमा बेच्न ल्याइएको लट्टे सागमा पनि खान अयोग्य हुनेगरी विषादीको अवशेष पुष्टि भएको उनले जानकारी दिए ।

Logo