काठमाडौं । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ । चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा सोमबार बिहान ८ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म ३१९.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
३३५ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ४५ र स्वचालित २९०)मा मापन गरिएकोमा चितवनमा सबैभन्दा धेरै वर्षा भएको हो ।
सोही केन्द्र आसपासका तीनवटा केन्द्रहरूमा २०० मिलिमिटरभन्दा बढी बर्षा भएको छ । देशभर १०० मिलिमिटरभन्दा धेरै वर्षा २३ वटा केन्द्रमा भएको विभागले जनाएको छ ।
मध्यमदेखि अति भारी वर्षा हुँदा देशका कतिपय स्थानमा डुबान भएको छ । प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । बाढी र पहिरोले सडक अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या भएको छ ।






























