काभ्रेको मण्डनदेउपुरका वडाध्यक्षले जिते कोरोना, जिल्लामा निको हुनेको संख्या ६२ पुग्यो

काभ्रेको मण्डनदेउपुरका वडाध्यक्षले जिते कोरोना, जिल्लामा निको हुनेको संख्या ६२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

जिल्लाको मण्डनदेउपुर वडा नं. १२ का वडाध्यक्ष गोविन्द पराजुलीले कोरोना जितेका छन् । गत साउन २९ गते कोरोना पुष्टि भएसँगै धुलिखेल अस्पतालमा उपचाररत पराजुलीले आज कोरोना जितेका हुन् ।

आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको उनले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् । साथै आफ्नो स्वास्थ्यलाभको कामना गर्ने आफन्त, साथीभाई तथा उपचारमा संलग्न स्वास्थ्यकर्मी सबैलाई उनले धन्यवाद पनि दिएका छन् ।

उनले लेखेका छन् ,

भगवानको कृपा, साथी भाइ आफन्त तथा ईस्टमित्रहरुको आशिर्वादले मैले कोरोनालाई जितें ।

यस घडीमा मलाई उपचार गर्ने डाक्टर ,नर्स तथा फोन गरेर आत्मवल बढाउने साथीहरु आफन्त तथा शुभचिन्तकहरु र सामाजिक सञ्जालमार्फत उर्जा थप्नु हुने सबै सबैमा हार्दिक धन्यवाद दिन चाहान्छु। साथै सतर्क भएर कोरोनाबाट अरुलाई पनि बचाउन आफू आजैबाट अगाडि बढ्ने प्रतिबद्धता जनाउदै फेरि पनि सामाजिक दायित्व पूरा गर्न पाईला अगाडि बढाउने छु।

निज वडाध्यक्षलाई कोरोना पुष्टि भए पछि मण्डनदेउपुर नगरपालिका सिल गरिएको थियो । जुन यद्यपी कायमै छ । यस नगरपालिका प्रवेश गर्ने मुख्य नाका पाँचखालको जिरोकिलोदेखि  सिपाघाटसम्म हेलम्बु राजमार्ग र आसपासका क्षेत्रमा प्रवेश निषेध गरिएको र अहिले पनि सिल यथावत छ । साथै नगरपालिका भित्रका सबै वडामा अर्को सूचना जारी नभएसम्मका लागि पसल, व्यवसाय बन्द गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन प्रवेश निषेध गरिएको जनाएको हो । साथै सबै नगरवासीलाई सतर्क रहन र बाहिर हिड्डुल गर्दा सचेत रहन अनुरोध गरेको छ ।

जिल्लामा हालसम्म १४४ संक्रमित रहेकोमा ६२ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । ८० जनाको उपचार जारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

Skip This
Skip This
Logo