काठमाडौं ।
गत मंसिरमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को ब्याडमिन्टन खेलका सामग्री खरिद तथा वितरणमा देखिएको अनियमितता तथा राखेप परिसरको रुख कटानका सम्बन्धमा छानबिन गर्न गठिन उपसमितिले काम थालेको छ । सागको सामान खरिद तथा रुख कटानका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको ५ सदस्यीय उपसमितिले शुक्रबारबाट काम सुरु गरेको हो ।
गोविन्दप्रसाद भट्टराईको संयोजकत्वमा गठित उपसमितिको शुक्रबार बसेको पहिलो बैठकले छानबिन कार्यलाई विभिन्न चरणमा बाँडेर अघि बढ्ने र सदस्यहरुको जिम्मेवारी बाँडफाट गर्ने निर्णय गरेको छ ।
उपसमितिको संयोजक भट्टराईले बिषयगत कामको बर्गिकरण गरेर सोही अनुसार सदस्यलाई जिम्मेबारी बाँडफाँट गरेको छ । उपसमितिका सदस्यले सामान खरिद तथा वितरणको आर्थिक पक्ष, कानुनी पक्ष, सामानको गुणस्तर र दाखिला सम्बन्धि प्रक्रियाको अनुसन्धान गर्नेछ ।
उपसमितिले सरोकारवालाले छानबिनका सम्बन्धमा कुनै गुनासो, सुझाव, निवेदन लगायतका प्रमाण कागजात पेश गर्न चाहेमा ७ दिनको समय उपलब्ध गराउने निर्णय गरेको छ । सरोकारवाला पक्षले भदौ १२ गतेभित्र आफ्नो गुनासो, सुझाव, निवेदन लगायतका प्रमाण कागजात उपसमिति समक्ष पेश गर्न सक्नेछन् ।
१३ औं सागको खेल सामान खरिद र सातदोबाटोस्थित राखेप परिसरको रुख कटानका सम्बन्धमा छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयले साउन ३० गते राखेपलाई निर्देशन दिएको थियो ।
मन्त्री जगतबहादुर विश्वकर्माले साग खेलकुदको दौरान खेल र खेलाडीका लागि खरिद गरिएको जुत्ता, म्याट लगायतका आधारभूत सामाग्रीको दाखिला तथा वितरणमा आर्थिक अनियमितता भएको भन्दै छानबिन गरि दोषी ठहर भए कारबाही गर्न राखेपलाई निर्देशन दिएका थिए ।
मन्त्रालयको निर्देशन अनुसार राखेपले भदौ ३ गते राखेप बोर्ड सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा ५ सदस्यीय छानबिन उप–समिति गठन गरेको थियो । समितिमा भट्टराईसहित, अर्जुन बिक, महेन्द्रकुमार राई, नारायण अर्याल, पासाङ शेर्पा सदस्य रहेका छन् । समितिलाई २१ दिनभित्र घटनाको छानबिन गरि प्रतिवेदन पेश गर्न समय दिईएको छ ।































प्रतिक्रिया