निषेधाज्ञाको तेस्रो दिन पनि काठमाडौं सुनसान (भिडियो)

निषेधाज्ञाको तेस्रो दिन पनि काठमाडौं सुनसान (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको आज तेस्रो दिन पनि उपत्यका सुनसान देखिएको छ ।

एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका कारण उपत्यकाका सडकहरु सुनसान देखिएका छन् । अत्यावश्यक बाहेकका सवारीहरु बन्द छन् । खाद्यान्न, तरकारी, फलफूल, खानेपानी, विद्युत सञ्चार लगायतका सवारी सञ्चालनमा रहेका छन् ।

आज पनि प्रहरीले चेकजाँचमा कडाई गरेको छ । आज तेस्रो दिनपछि औषधि र खाद्यान्न बाहेकका अन्य पसल खुलेका छैनन् । सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई प्रहरीले सोधखोज गरिरहेको छ ।

अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई केही समय होल्डिङ सेन्टरमा राखेर छोड्ने गरिएको छ । प्रशासनले अनावश्यक काममा बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।

पछिल्लो समय उपत्यकामा दैनिक सरकार एक सय भन्दा बढीको संख्यामा संक्रमित थपिरहेका छन् भने देशभर सरदर ५०० को हाराहारीमा संक्रमित थपिरहेका छन् ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमणबाट ३० हजार ४८३ जना संक्रमित भएका छन् । कोभिड १९ को संक्रमणबाट १३७ जनाको मृत्यु भएको छ भने १८ हजार २१४ जना निको भएका छन् ।

देशको राजधानी काठमाडौंमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । काठमाडौंमा मात्रै २ हजार २९३ जना, ललितपुरमा ३९३ जना र भक्तपुरमा १९४ जना संक्रमित फेला परेका छन् । यसरी काठमाडौं उपत्यकामा मात्रै २ हजार ८८० जना संक्रमित भेटिएका छन् । देशको राजधानी काठमाडौं उपत्यका हटजोन बन्ने खतरा रहेको महानगरका प्रमुख विद्यासुन्दर शाक्य बताउँछन् ।

Logo