उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रय शक्ति बढाउन आवश्यक रहेको बताएकी छन् ।
सोमवार काठमाडौंमा युएनडिपीले गरेको मानव विकास प्रतिवेदन सन् २०२१/२०२२ को रिपोर्ट सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रय शक्ति बढाउन देशको अर्थतन्त्र सबल हुनुपर्ने बताइन् ।
मन्त्री भुसालले कृषि, पर्यटन र उर्जाबाट नै देशको सबल अर्थतन्त्र निर्माण गर्न सकिने भन्दै देश विकासका लागि जलश्रोत लगायतका प्राकृतिक श्रोतको उचित प्रयोग गर्नु आवश्यक रहेको बताइन् । उनले औद्योगीकरण, यातायात सञ्चालन, सिंचाई, कृषि विकास, खानेपानीको विकासमा विद्युतीय सामग्रीको प्रयोग गरेर उज्यालो भविष्य निर्माण गर्न सक्नुपर्ने बताइन् ।
मन्त्री भुसालले उर्जाको आन्तरिक खपत बढाउनका साथै खपत नहुने उर्जा निर्यात गरेर भएपनि आर्थिक विकास गर्न जरुरी रहेको पनि बताइन् । उनले जलश्रोत र उर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक रहेको पनि स्पष्ट पारिन् ।
उनले देशमा उत्पादन हुने विद्युत पूर्ण रुपमा नविकरणीय, स्वच्छ उर्जा भएकोले हाल देशको करिव ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको दाबी गरिन् । उनले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाइ कार्यान्वयन भइरहेको पनि बताइन् । सरकारले मासिक २० युनिटसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र निःशुल्क मिटर जडान गर्ने व्यवस्था मिलाएको उल्लेख गर्दै विद्युत आधारभुत आवश्यक्ताका साथै उत्पादनको साधन भएको उनको भनाई छ ।
‘सरकारले मासिक २० युनिटसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र निःशुल्क मिटर जडान गर्ने व्यवस्था मिलाएको छ । विद्युत आधारभुत आवश्यक्ताका साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथै महशुल पुनरावलोकन गरी सिंचाईमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशत सहुलियत दिइएको छ ।’ उनले भनिन् ।
मन्त्री भुसालले यो आर्थिक वर्षको अन्त्यसम्म करिव १६ अर्बको विद्युत व्यापार हुने प्रक्षेपण गरेको बताइन् । यस वर्ष आन्तरिक विद्युतको खपत करिव २० प्रतिशतले बढेको र हाल प्रतिव्यक्ति वार्षिक विद्युत खपत ३५१ युनिट रहेकोमा आगामी दिनमा उल्लेख्य वृद्धि हुने अपेक्षा राखेको उनले बताइन् । नेपाल युएनडिपीको प्रतिवेदनअनुसार १९३ वटा देशमध्ये मानव विकास वर्गीकरणको १४३ औं स्थानमा छ । नेपाल मध्यम मानव विकासको अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ ।































प्रतिक्रिया