सोमबार अपराह्न काठमाडौं आइपुगेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु भेटघाटमा व्यस्त छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आएका लीले काठमाडौं उत्रिएपछि ६ वटा महत्वपूर्ण उच्चस्तरीय भेट गरेका छन् । विश्व राजनीतिमा प्रतिस्पर्धा तीव्र बनिरहँदा र चुनावको मूखैमा नेपालमा एकपछि अर्को गरी शक्ति राष्ट्रहरूबाट बाक्लो आवतजावत हुनुलाई विशेष चासोका साथ हेरिन थालिएको छ । आजको टे«ण्डिङ एक्सप्रेस यसै विषयमा केन्द्रित रहनेछ ।
पछिल्लो समयमा नेपालमा शक्ति राष्ट्रहरूको चासोका साथ बाक्लो आवतजावत भइरहेको छ । विशेष गरी अमेरिका र चीनबाट एकपछि अर्को भ्रमण नेपालमा भइरहेका छन् । यद्यपि, राजनीतिक, कूटनीतिक र सैन्य क्षेत्रसँग सम्बन्धित भ्रमणहरू बाक्लै हुने गरे पनि संसदीय प्रतिनिधित्व गरेर कमै आवतजावत हुन्थ्यो । तर अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका विषयमा यहाँको संसदको भूमिका समेत बढ्न थालेसँगै संसदीय प्रतिनिधित्व गर्ने खालका भ्रमणहरू समेत बढ्न थालेका छन् ।
विशेष गरी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयलाई लिएर सदनमा चर्को बहस र विवाद भएपछि भूराजनीतिक विषयमा सदन पनि प्रत्यक्ष जोडिन थालेको छ । यसले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा सदनको भूमिका बढेको र शक्ति राष्ट्रहरूले पनि यहाँको सदनमा चासो बढाइरहेको विश्लेषण भइरहेको छ ।
यसै क्रममा चीनको नीति निर्माण गर्ने महत्वपूर्ण थलो राष्ट्रिय जनकंग्रेसका अध्यक्ष चान्सु पनि सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका हुन् ।आगामी ४ मंसिरमा सम्पन्न गर्ने गरी प्रदेशसभा र संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा उनको भ्रमण भएको छ । विश्व राजनीतिमा प्रतिस्पर्धा तीव्र बनिरहँदा नेपालमा एकपछि अर्को गरी शक्ति राष्ट्रहरूबाट बाक्लो आवतजावत हुनुलाई विशेष चासोका साथ हेर्ने गरिएको छ ।
अन्य विभिन्न मुलुकबाट सदनकै प्रतिनिधित्व गरेर नेपाल भ्रमण हुने गरेको भए पनि चीनबाट यस प्रकारको भ्रमण हुन लागी भएको यो पहिलोपटक हो । अमेरिकाबाट यसप्रकारका भ्रमणहरू नियमित हुने गरेका छन् । पछिल्लो केही महिनायता मात्रै पनि अमेरिकाबाट सिनेटरहरूको टोली पटक–पटक नेपाल भ्रमणमा आइरहेका छन् । संसदीय प्रणालीमा नीति निर्माणदेखि सत्ता समीकरण र विभिन्न सन्धि सम्झौता गर्दा समेत संसदको भूमिका महत्वपूर्ण हुने भएकाले पनि पछिल्लो समय शक्ति राष्ट्रहरूले चासो दिएको देखिन्छ ।
चीनको तेस्रो वरीयतामा रहेका नेता ली जान्सुको भ्रमणलाई चीनले विश्व शक्ति राष्ट्र बन्ने होडका बीच रणनीतिक भू–अवस्थितिमा रहेको छिमेकी मुलुकका विषयमा धारणा बुझ्ने अवसरका रूपमा समेत प्रयोग गर्न खोजिएको देखिन्छ ।लीसँगको भेटमा नेपाली पक्षले चीनले बन्द गरेको व्यापारिक नाका खोल्न र विकास परियोजनामा लगानी बढाउन आग्रह गरेको छ। जवाफमा नेता लीले नेपाली नेताहरूसँग ’एक चीन नीति’ मा प्रतिवद्धता र नेपालमा बढ्दो पश्चिमा उपस्थितिबारे चासो राखेको भेटमा सहभागी नेताहरुले बताएका छन्।
सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका लीले भेटघाट कार्यक्रम पनि सभामुखबाटै शुरू गरे । दुई सभामुखको भेटमा ६ बुँदे समझदारीमा हस्ताक्षर भएको छ। उक्त समझदारीमा दुवै पक्षले आपसी विश्वास सुदृढ र विकास गर्न एक अर्कोको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगालिक अखण्डताको सम्मान गर्नुका साथै एक अर्काका मुख्य हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिने विषयमा सहमत भएको उल्लेख गरिएको छ।
त्यस्तै, दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदनप्रदान गर्ने विषय पनि समझदारीमा उल्लेख गरिएको छ। दुई सरकारकाबीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत समेत दुई राष्ट्रहरूबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारम्पारिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने विषय उक्त समझदारीमा भएको सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ।
सभामुख सापकोटाले समकक्षी लीलाई नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको र नेपालमा चीनविरोधी गतिविधि गर्न नदिने विश्वास दिलाएको पनि सचिवालयले बताएको छ। जवाफमा लीले नेपालले चीनप्रति देखाएको उदारतालाई खुलेर प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।सभामुख सापकोटासँग शिष्टाचार भेटवार्ता भएपछि लीको सम्मानमा राखिएको रात्रि भोजमा सरिक हुन लीको टोली होटल सोल्टी पुगेको थियो।
भ्रमणको दास्रो दिन अध्यक्ष ली भ्रमण टोली मंगलबार बिहानबाटै उच्चस्तरीय भेटघाट कार्यक्रममा व्यस्त रह्यो। लीको भ्रमण कार्यकार्यक्रमले काठमाडौंमा सवारी आवागमन दिनभर नै प्रभावित बनेको थियो। उनले मंगलबार बिहानै बानेश्वर पुगेर राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग शिष्टाचार भेट गरे। अध्यक्ष तिमिल्सिनाले चिनियाँ अध्यक्षसँग चीनको एक चीन नीतिमा प्रतिबद्धता जनाउँदै बन्द रहेका नेपाल–चीन नाका तत्काल खोल्न आग्रह गरेका छन्।
लीसँगको भेट पछि जारी विज्ञप्तिमा तिमिल्सिनाको सचिवालयले उक्त कुरा उल्लेख गरेको छ।राष्ट्र सभाका अध्यक्ष तिमिल्सिनासँगको भेटवार्तापछि लीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे । भेटमा लीले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको व्यक्तिगत सु–स्वास्थ्यको शुभकामना सन्देश सुनाएका थिए। नेता ओलीसँगको भेट पछि लीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका थिए।
उक्त भेटमा प्रचण्डले अरु नेताहरुले जस्तै बन्द रहेका चिनियाँ नाका खोल्न आग्रह गरेका थिए। भ्रमणमा रहेका अध्यक्ष लीले जवाफमा नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि आवश्यक पहल गर्ने बताएको सचिवालयले बताएको छ। त्यस्तै प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेको प्रचण्ड सचिवालयले बताएको छ।
छलफलमा प्रचण्डले बीआरआई लगायतका परियोजनामार्फत भइरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिएको उल्लेख गरिएको छ। जवाफमा अध्यक्ष लीले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकता सधैं सम्मान गर्ने बताउँदै एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकोमा धन्यवाद व्यक्त गरेको पनि प्रचण्ड सचिवालयले जनाएको छ।
सरकारी पक्षसँग भने लीले मंगलबार अपराह्नमात्र भेट गरे । प्रचण्डसँगको भेटपछि लीले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरे। उक्त भेटमा दुई नेताबीच आपसी हितका विषयमा छलफल भएको परराष्ट्र स्रोतले बताएको छ।एक महिनाअघि चीनको औपचारिक भ्रमण गरेका मन्त्री खड्काले नेपाल–चीन बीचका समस्याका विषयमा पुनः चीनको उच्च नेतृत्वलाई जानकारी गराएका छन्। लीले सीमा लगायतका विषयमा आफू गम्भीर रहेको परराष्ट्रले बताएको छ।
मंगलबारको भेटघाट शृखंलाको अन्तिम भेट भने लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेका छन्। सिंहदरबारमा भएको भेटमा देउवाले एक चीन नीतिमा प्रतिवद्धता जनाएको र जवाफमा लीले नेपालले लिएको नीतिको खुलेर प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।चार दिने भ्रमणमा काठमाडौं आएका लीले बुधबार बिहान केहि पर्यटकीयस्थलको भ्रमण गरेर अपराह्नमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । ली नेतृत्वको ६७ सदस्य टोली बिहीबार बिहान दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम छ।





























प्रतिक्रिया