आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता हुने भएका छन्।
निर्वाचन आयोगले आज एक विज्ञप्ती जारी गर्दै आगामी मंसिर ४ गतेको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम हुने जानकारी गराएको हो । आयोगले निर्वाचनका लागि १० हजार ८९१ मतदानस्थल तोकेको छ । २२ हजार २२६ वटा मतदानकेन्द्र कायम गरिएको आयोगले जनाएको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, निर्वाचन घोषणा भएको मिति २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी मिति २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमे पूरा हुने ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष तथा १८५ जना अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताहरूको अन्तिम मतदाता नामावली यही भदौ ३१ गते स्वीकृत गरेको छ ।
यसैगरी सबैभन्दा बढी मतदाता भएका जिल्लामा मोरङ, झापा र काठमाडौं रहेको आयोगले जनाएको छ । मोरङमा ७ लाख ३५ हजार ५२५, झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौँमा ६ लाख ५२ हजार १२६ जना मतदाता छन्।
सबैभन्दा कम मतदाता भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । मनाङमा ६ हजार सात सय ७९, मुस्ताङमा १० हजार ९ सय ५७ र डोल्पामा २२ हजार ७७४ जना मतदाता छन्।
प्रदेशगत रुपमा सबैभन्दा बढी बाग्मती प्रदेशमा ३४ लाख ७१ हजार ४९२ मतदाता छन् भने त्यसपछि प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ र तेस्रो मधेस प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन्।
यस्तै आयोगले गत वैशाख ३० गते भएको स्थानीय तहमा भन्दा प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा दुई लाख मतदाता थपिएको जनाएको छ । स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका थिए।































प्रतिक्रिया