सरकारले २०७७/७/२७ गतेको मन्त्रीपरिषद्को निर्णय खारेज गरेको छ ।
भदौ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय आज (आईतवार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वि.सं. २०७७/७/२७ गतेको मन्त्रीपरिषद्को विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डययन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने निर्णय गरेको बताएका हुन् ।
उनले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्ने र संस्थान सुझाव सम्बन्धी समिति गठन गर्ने, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव श्री कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको पनि बताए ।
उनका अनुसार सरकारले संयुक्त अधिराज्यका महारानी एलिजावेथ द्वितीयको १९ सेप्टेम्बर २०२२ मा हुने राजकीय अन्त्यष्टिमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत प्रदान गर्ने, राष्ट्रिय भूमि आयोगका सदस्यहरुमा सुदर्शन खरवारलाई नवलपरासी पश्चिमको र सोमबहादुर नेपालीलाई कास्की जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको छ ।
त्यस्तै सरकारले कोहलपुर–सुर्खेत–दैलेख, १३२ केबी प्रशारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ । प्रवक्ता कार्कीले सरकारले वि.सं.२०७९ कार्तिक ८ र ९ मा जेनेभामा आयोजना हुने कमिशन अन साइन्स टेक्नोलोजी फर डेभलपमेण्ट इन्टरसेशनल प्लान मिटिङमा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिवलाई भाग लिन स्वीकृत दिने निर्णय गरेको बताए ।
प्रवक्ता कार्कीले सरकारले वि.सं.२०७९ साल भदौ २१ गतेको निर्णयमा छुट भएको शहीद दशरथ चन्द स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको पनि बताए ।





























प्रतिक्रिया