नेकपा माओवादी केन्द्रले समानुपातिक बन्द सूची टुंग्याउन गठन गरेको कार्यदलले जिल्ला, प्रदेश हुँदै आएका करिब १६ सय नाम हटाएको छ ।
माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यालयले तयार पारेको प्रारम्भिक सूचीमाथि छलफल गरेको थियो । नाम धेरै आएको भन्दै पार्टीले तय गरेका मापदण्ड र संविधानले तोकेको क्लस्टर अनुसार मिलाउन देव गुरुङ नेतृत्वको तीन सदस्यीय कार्यदललाई जिम्मेवारी दिएको थियो ।
केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको कार्यदल बैठकले संघ र प्रदेशका लागि सिफारिस भएका १६ सय नाम हटाएको हो । संघ र प्रदेशका लागि २ हजार नाम आएकोमा त्यसलाई मिलाउँदै कार्यदलले ४ सय मा झारेको हो ।
निर्वाचन आयोगमा संघका लागि ११० र प्रदेशका लागि २२० जनाको नाम पठाउनुपर्छ । टुंग्याएको ४०० नाममा पनि मधेश प्रदेशका धेरै परेकाले सोमबार पदाधिकारीको बैठक बस्नुअघि मधेश प्रदेशका नेताहरुसँग बसेर मिलाइने बताइएको छ ।
छलफलबाट बढी भएको ७० नाम पनि हटाउन सकिने भएकाले सोमबारको पदाधिकारी बैठकले बन्द सूची सहजै टुंग्याउने बताइएको छ । निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज २ र ३ गतेको समय दिएको छ ।





























प्रतिक्रिया