नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवार टुंगो लगाएको छ ।
माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउनुपर्ने उम्मेदवारको बन्दसूची तयार भइसकेको जनाएको हो । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्न मात्रै बाँकी रहेको बताइएको छ ।
प्रचण्ड सोमबार नै सोलुखुम्बुमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका छन् । उनले त्यस क्रममा आफूले हस्ताक्षर नगरेसम्म बन्दसूचीले वैधानिकता नपाउने भन्दै फर्किन हतार भएको बताएका थिए। ‘आज अन्तिम दिन हो, यो समानुपातिक उम्मेदवारहरुको सूची बुझाउने,’ उनले भनेका थिए, ‘मैले हस्ताक्षर नगरिकन हाम्रो पार्टीको तर्फबाट वैधानिकता पाउँदैन ।’
समानुपातिक उम्मेदवारको सूची टुंग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक २ बजेसम्मलाई स्थगित गरेर प्रचण्ड सोलुखुम्बुको दुधकोसी गाउँपालिकाको भवन उद्घाटन गर्न गएका थिए । अब प्रचण्ड फर्केपछि अपरान्ह मात्रै पदाधिकारी बैठक बस्ने छ । समानुपातिक सूची मिलाउन माओवादीले महासचिव देव गुरुङको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले तल्ला कमिटीबाट आएका नाम आइतबार घटाएर ४ सयमा झारेको थियो ।
सोमबार बिहान बसेको कार्यदलको बैठकले ४ सयबाट पनि नाम घटाएर ३३० मा झारेको छ । दलहरुले प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० गरी ३३० जनाको बन्दसूची निर्वाचन आयोगमा सोमबार नै पठाउनु पर्नेछ ।पदाधिकारी बैठकले सूची टुंग्याएपछि माओवादी त्यसलाई बुझाउन आयोग जाने भएको छ ।





























प्रतिक्रिया