नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान घोषणा भएपछि डा.बाबुराम भट्टराई र आफूले गरेका प्रयोगहरु सफल हुन नसकेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले डा भट्टराई र आफूले गरेको प्रयोग सफल हुन नसकेको बताएका हुन् । उनले भने, ‘बाबुरामजीले उहाँको नेतृत्वमा अलिकति साहसिक पनि भन्न सकिन्छ, दुष्साहिक पनि भन्न सकिन्छ, उहाँले एउटा प्रयोग गर्नुभयो। त्यसैगरी मैले पनि नेकपा एमालेसँग एकता गरेँ। त्यसलाई साहसिक पनि भन्न सकिन्छ, दुष्साहसिक पनि भन्न सकिन्छ। मैले पनि नयाँ प्रयोग गरेँ। तर दुइटै प्रयोगका पछाडि हाम्रो उद्देश्य जतिसुकै राम्रो र ठूलो भए पनि व्यवहारतः सफलचाहिँ भएनन्।'
उनले घटनाक्रमले आफूहरु अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्यमान्यताहरु, त्यसले ल्याएका परिवर्तनहरु धरापमा पर्ने देखिएको साबित गरेको बताए।
प्रचण्डले डा. बाबुराम भट्टराईसँगको अबकाे सहकार्य धेरै लामो हुने बताएका छन् । उनले आफूहरुको सहकार्य चुनावसम्मका लागि मात्र नभएको बताएका हुन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।
प्रचण्डले भने, ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’
संविधान जारी भएपछि बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको र आफूले नेकपा एमालेसँग एकताको छुट्टाछुट्टै प्रयोग गरेको तर ती दुबै व्यवहारतः सफल नभएको भन्दै प्रचण्डले अब फेरि बाबुरामसँग मिल्ने बताए ।
प्रचण्ड र बाबुराम एक ठाउँमा हुँदा लाखौं करोडौं जनता एक ठाउँमा हुने उनले बताए । ‘प्रचण्ड, बाबुराम यो कुनै दुईटा नाममात्र भएर परिवर्तन भएको होइन । यो इतिहासले, नेपाली जनताले निकै ठूलो त्याग तपस्या र बलिदानबाट उनीहरुले पैदा गरेको नामहरु हुन् यी’, प्रचण्डले भने, ‘उनीहरु (प्रचण्ड र बाबुराम) एकै ठाउँमा हुँदा त्यो दुई जना एक ठाउँमा भएको हुँदैन, लाखौं करोडौं जनताहरु फेरि एकतावद्ध भएर नयाँ यग निर्माणतिर अगाडि जाने ऊर्जा प्राप्त हुने गर्दछ ।’





























प्रतिक्रिया