नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारकै पालामा विकासको मामिलामा देश द्रुत गतिमा अगाडि बढेको दाबी गरेका छन् ।
शनिबार धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित पार्टीको बृहत जनसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जनकपुरधामबाट–महिनाथपुर सम्मको रेलको यात्राको क्रममा अध्यक्ष ओलीले एमाले सरकारको पालामा देशले विकासको क्षेत्रमा दु्रत गति लिएको बताएका हुन् ।
उनले भने, ‘आज हामी ट्रेनमा बसेर आरामदायी यात्रा गर्न सकिरहेका छौं । खुसी नलाग्ने कुरै भएन । यो अत्यन्तै खुसीको कुरा हो । यो हाम्रो रेल हो, त्यसैले धेरै खुसी छु ।’
‘हामीले हुलाकी राजमार्ग बनायौं, कोसी मरिन डाइभर्सन बनायौं,’ उनले भने, ‘अहिले १ लाख ८५ हजार मधेसको जमिन सिंचाई सदुपयोग भइरहेको छ । देशले यो सबै उपलब्धी एमालेकै सरकारको पालामा पाएको हो ।’
अध्यक्ष ओलीले सघन सहरी विकास कार्यक्रम, जनकपुर ढल विकास आयोजना लगायतका थुप्रै कार्यक्रमहरु ल्याएर आफूहरु अनेक हिसाबले सफलताका साथ अगाडि बढेको दाबी समेत गरे ।
रेलमा यात्रा गर्ने क्रममा अध्यक्ष ओली तथा एमालेका नेता कार्यकर्ताहरूले एसी बगीको ५६ र जेनरल बगीको ८६ वटा गरी कुल १४२ वटा टिकट काटेका थिए ।




















